बिर्तासिटीमा स्तनपान सप्ताह मनाइयो

0
416

बिर्तामोड ।

आमाहरुलाई स्तनपानको महत्व बुझाँउदैं झापाको बिर्तामोडमा रहेको पूर्ण–टुङ्ग बिर्ता सिटी हस्पिटलले ‘विश्व स्तनपान सप्ताह’ मनाएको छ ।

प्रत्येक वर्ष १ अगस्तदेखि ७ अगस्तसम्म मनाइने ‘विश्व स्तनपान सप्ताह’ नेपालमा पनि विभिन्न सरकारी, गैरसरकारी निकायहरुले मनाएका छन् । विश्वका एक सय २० भन्दा बढी देशहरुमा स्तनपान सप्ताहलाई उत्सवका रुपमा मनाउने गरिन्छ । नेपालमा पनि यो वर्ष साउन १७ देखि साउन २२ (१ अगस्त देखि ७ अगस्त २०२४) सम्म विश्व स्तनपान सप्ताह मनाइएको छ ।

स्तनपानमा समानताःसबैको सहयोग र सहभागि भन्ने नाराका साथ ३२ औं विश्व स्तनपान सप्ताह बिर्ता सिटी हस्पिटलमा पनि मनाइएको हस्पिटलकी असिस्टेन मेडिकल डाइरेक्टर डा. रोमी बुढाथोकीले जानकारी दिइन् । उनले बिर्ता सिटी हस्पिटलमा बच्चाहरुलाई स्तनपान गराउनका लागि छुट्टै स्तनपान कक्ष समेत रहेको भन्दै अस्पतालमा आएका आमाहरुलाई दूधको महत्वका बारेमा जानकारी गराइएको बताइन् ।

बच्चा जन्मेदेखि छ महिनासम्म आमाको दूध मात्र खुवाउनु पूर्ण स्तनपानको सूचकका रुपमा लिन सकिने बिर्ता सिटी हस्पिटलकी बालरोग विशेषज्ञ डा. ज्योति अग्रवालको भनाई छ । छ महिनासम्मका शिशुलाई आवश्यक पर्ने सबै पौष्टिक तत्व आमाको दूधमा पर्याप्त मात्रामा पाइने भएकाले जन्मेको आधा घण्टाभित्र स्तनपान शुरु गरिसक्नुपर्ने र २४ घण्टामा आठदेखि १० पटकसम्म आमाको दूध खुवाउनुपर्ने उनको भनाई छ । शिशुलाई दुई वर्षसम्म निरन्तर आमाको दूध खुवाए उनीहरुको बौद्धिक र शारीरिक विकास चाँडो हुने र स्वस्थ रहने उनले बताइन् ।

उनले आमाको दूधको महत्वका बारेमा सबैले बुझन आवश्यक रहेको उल्लेख गरिन् । पछिल्लो समय शारीरिक सौन्दर्य बिग्रने डरले र बच्चाको चाँडो विकास हुने भ्रमले कतिपय महिलाहरुले शिशुलाई स्तनपान नगराई वैकल्पिक पदार्थ खुवाउँदा बालमृत्युको जोखिम बढ्न गएको चिकित्सकहरुको भनाइ छ । यस्ता गलत विचारहरुको अन्त्यका लागि पनि दिवस, सप्ताहहरुको सान्दर्भिकता रहने उनको भनाई छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here