सडक सुरक्षामा ध्यान देऊ

0
12

झण्डै एक महिनादेखि चितवनको सिमलतालमा पहिरो खस्दा दुईवटा बस हराइरहेको विषयमा गठित कार्यदलले ‘भेलबाढी’लाई मुख्य कारण भनेको छ । गत असार २८ गते सो सडकखण्डमा गुडिरहेका दुईवटा बस त्रिसूली नदीमा खसेका थिए । घटनामा बसमा सवार ४० जनाको अवस्था अझै अज्ञात छ भने पच्चीस जनाको शव भेटिएको थियो । उक्त घटनाको अध्ययन गर्न सहसचिव छवि रिजाल नेतृत्वको कार्यदलले गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाउँदै दुर्घटनाको कारण राजमार्ग माथि वातावरणीय पक्षमा ध्यान नदिई ग्रामीण सडक बनाइनु रहेको उल्लेख गरेको छ । दुर्घटना स्थलभन्दा माथिको भिरालो पहाडी क्षेत्रमा ‘उचित इञ्जिनियरिङ तथा डिजाइन बिना’ सडक खनिएकाले दुर्घटना र क्षति भएको प्रतिवेदनमा जनाइएको छ ।

सडक दुर्घटनामा परी हामीकहाँ बर्सेनि पच्चीस सय जनाभन्दा बढीले ज्यान गुमाउनु परिरहेको छ । दिनहुँजसो भइरहने दुर्घटनाका कारण हुने भौतिक, आर्थिक तथा मानवीय क्षतिको भरपाइ कतैबाट पनि हुन सक्दैन । भएका दुर्घटनापछि अध्ययन समिति बनाइन्छ र तिनले प्रतिवेदन पनि बुझाउँछन्, तर त्यसले दिएको सुझावको कार्यान्वयन कति हुन्छ, व्यवहारमा देखिएको छैन । समष्टिमा सिमलताल बस दुर्घटनामा परेका दुईवटा बस नै भेटिएका छैनन् । नेपाली सुरक्षा बलका खोजकर्ता बाहेक भारतबाट समेत आएका प्राविधिकहरुले हराइरहेका बसको पत्तो लगाउन सकेनन् । यद्यपि नेपाली खोजकर्ताहरु अझै हराएका बसको खोजीमा छन् ।

दुर्घटना भनेकै अकस्मात हुने घटना हो, जसलाई रोक्न त सकिँदैन, तर सजग भएको अवस्थामा कम गर्न भने सकिन्छ । तर, हामीकहाँ अध्ययन प्रतिवेदनहरुले बारम्बार दिने सुझावमा भौतिक विकासका क्रममा भौगर्भिक, वैज्ञानिक तथा वातावरणीय पक्षको अध्ययन नै नगरी ‘डोजर’ चलाउने प्रवृत्तिलाई दोषी देखाइन्छ । तर, त्यसको कार्यान्वयनमा जिम्मेवार निकाय सडक विभाग र सरकार सधैँ उदासीन देखिने गरेको छ । प्रमुख राजमार्गको सूरक्षा राज्यको दायित्व हो, त्यसैले त्यसको आसपासका पूर्वाधार विकासलाई समेत ध्यान दिनु पर्दछ । सिमलताल दुर्घटनामा पनि त्यही कमजोरी देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

सडक सुरक्षाका लागि नयाँ निर्माण गरिने सडकहरुका कारण त्यहाँको भूगोलमा पर्न सक्ने प्रभावको मूल्याङ्कन गरिनु पर्दछ । सडकहरुको मर्मतसम्भार नियमित गर्ने व्यवस्था मिलाउनु पर्दछ । ग्रामीण सडक समेत वैज्ञानिक तथा भौगर्भिक अध्ययन तथा वातावरणीय प्रभावका आधारमा निर्माण गरिनु पर्दछ । त्यसैगरी वर्षाका समयमा बाढी–पहिरोबाट हुन सक्ने अवरोध र क्षतिको मूल्यांकन गर्दै सवारी व्यवसायी तथा चालकहरुलाई सुसूचित गर्ने व्यवस्था मिलाइनु पर्दछ । अधिकांश दुर्घटनामा चालकको लापरवाही, अत्यधिक भार, तीव्रगति, मापदण्ड विपरीतका सवारीसाधन तथा कमजोर पूर्वाधार नै जिम्मेवार देखिएका छन् । त्यसैले यस्ता कारणहरुको पहिचान गरी निदानका निम्ति प्रभावकारी अग्रसरता देखाउनु पर्दछ । अन्यथा दुर्घटनाको भयावहतालाई कम गर्न सकिन्नँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here