किन बढ्दैछ दुर्घटना ?

0
11

काठमाण्डौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको प्राविधिकहरुसहितको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर मै दुर्घटनाग्रस्त भयो । दुर्घटनामा चालक बाहेक अठाह्र जनाको ज्यान गयो । त्यसको दुई हप्ता नबित्दै चार जना चिनीया यात्री लिएर गएको एयर डाइनेस्टीको हेलिकोप्टर नुवाकोट जिल्लाको शिवपुरीमा दुर्घटनाग्रस्त भयो । जसमा अनुभवी क्याप्टेन अरुण मल्ल, एक महिलासहित पाँच जनाको मृत्यु भयो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को तथ्यांक अनुसार पछिल्लो हेलिकोप्टरसहित हालसम्म नेपाली भूमिमा ६२ वटा हवाई दुर्घटना भएका छन् ।

यातायातका माध्यममध्ये सबैभन्दा विश्वासिलो भनिने हवाई सेवा नेपालमा भने असुरक्षित हुन थालेको छ । दुई हप्ताकै बीचमा भएको हेलिकोप्टर दुर्घटनाले कतै हाम्रो व्यवस्थापन तथा सञ्चालन र प्रविधिमै त्रुटि छ कि आशंका उब्जिएको छ । अहिलेसम्मका दुर्घटनामा परी नौ सय २० जनाले ज्यान गुमाइसकेको अवस्थामा त्यसक्षेत्रका विज्ञहरुले भने जस्तै उड्डयन संरचनाकै समीक्षा गर्न आवश्यक छ कि ! त्यतातर्फ सम्बन्धित मन्त्रालय र सरकारको ध्यान जानु पर्दछ । दुर्घटनापछि दुःख प्रकट गरेर, श्रद्धाञ्जली दिएर र छानविन आयोग बनाइदिएर मात्रै सरकार र सम्बन्धित पक्षको जिम्मेवारी पूरा हुँदैन । नेपालको भूगोल र आकाश यसै पनि भिन्न प्रकारको छ भनिन्छ, प्रत्येक क्षण बादल उठ्ने र हराउने यहाँको नियमितता हो । यस्तो भौगोलिक अवस्था भएको ठाउँमा उडान गर्ने पाइलट र उडान कम्पनीलाई स्थानीय मौसम र सम्भावित अवरोधबारे जानकारी हुनैपर्छ ।

हेलिकोप्टर सेवा भनेकै दुर्गम, विकट र यातायात सेवाको पहुँच नभएको क्षेत्रमा सञ्चालन गरिन्छ । त्यसैले उडानमा संलग्न हुने व्यक्तिले उडान गर्ने क्षेत्रको पहाड, हिमाल र हावापानीको अवस्था जान्नैपर्छ । त्यस सम्बन्धी थप जानकारी दिने काम उडान व्यवस्थापनको हो । यति हुँदाहुँदै पनि प्रत्येक दुर्घटनाका लागि मानवीय त्रुटि भनेर उम्किन पाइँदैन । चालक, हवाई कम्पनी र विमानलाई दोषी देखाएर उन्मुक्ति खोज्ने उड्डयन कम्पनीले मौसम सम्बन्धी जानकारी लिन छुट्टै संयन्त्र नबनाएसम्म यस्ता दुर्घटना भइरहन्छन् । त्यसैले हवाइ सेवालाई सुरक्षित राख्न सम्बन्धित मन्त्री, सचिव तथा सम्बद्ध व्यक्तिमा हवाई सुरक्षाको ज्ञान हुनैपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here