महिला उद्यमी उद्योग सञ्चालन गर्न उत्साहित

0
13

वीरगञ्ज (पर्सा),

पर्सामा महिला उद्यमीको नाममा घरेलु तथा साना उद्योग दर्ता गर्ने क्रम बढेको छ । घरेलु तथा तथा साना उद्योग कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा तीन सय ९९ महिलाका नाममा घरेलु तथा साना उद्योग दर्ता भएका छन् । सोही आवमा पुरुषका नाममा पाँच सय ४४ उद्योग दर्ता भएका छन् । गत आवमा आठ सय ९७ वटा साना तथा घरेलु उद्योग दर्ता भएका छन् ।

सरकारले महिला उद्यमीको स्वामित्वमा नयाँ घरेलु तथा साना उद्योग दर्ता गरे ३५ प्रतिशत छुट दिने प्रावधानले महिला उद्यमीका नाममा उद्योग दर्ता गर्ने क्रम बढेको हो । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख धञ्जयकुमार सिंहका अनुसार छुट पाउने प्रावधानकै कारण महिलाका नाममा उद्योग दर्ता गर्ने क्रम बढेको बताउनुहुन्छ ।

“विगतमा महिला उद्यमी सञ्चालक भएर उद्योग दर्ता गर्ने चलन थिएन । अहिले सरकारले दर्ता शुल्कमा छुट दिने व्यवस्था गरेसँगै महिला उद्यमी सञ्चालक भएर उद्योग दर्ता गर्ने क्रम बढेको छ”, उहाँले भन्नुभयो । अझै पनि पुरुषकै स्वामित्वका उद्योगको सङ्ख्या धेरै छ ।

कार्यालयका अनुसार आव २०७९/८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएका थिए । सो आवमा नयाँ दर्ता भएका उद्योगमा महिला उद्यमीको स्वामित्व भएको सङ्ख्या चार सय ५० र पुरुष उद्यमीको स्वामित्व भएका भने ६ सय ५४ रहेका छन् ।

गत आवमा दर्ता भएका नयाँ उद्योगले चार हजार सात सय ३३ जनालाई रोजगारी सिर्जना गर्ने अनुमान गरिएको छ । त्यसमध्ये तीन हजार चार सय ५५ पुरुष र एक हजार दुई सय ७८ महिलालाई रोजगारी दिने क्षमता रहेको छ । कार्यालयले गत आवमा नयाँ साना तथा घरेलु उद्योग दर्ता भएर रु ८० लाख १२ हजार एक सय ५० राजस्व आम्दानी गरेको छ ।

कार्यालयले आव २०७९/८० मा दर्ता भएका नयाँ घरेलु तथा साना उद्योगले पाँच हजार चार सय ६० जनालाई रोजगारी सिर्जना गर्ने बताइएको छ । त्यसमध्ये तीन हजार दुई सय ४७ पुरुष र एक हजार दुई सय १३ महिलालाई रोजगारी दिनसक्ने क्षमता छ । कार्यालयले अघिल्लो आवमा नयाँ दर्ता भएका साना तथा घरेलु उद्योगबाट रु एक करोड ६ लाख ३९ हजार राजस्व सङ्कलन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here