रोटरी क्लब डिल्लीबजार र बिर्तामोडद्वारा दुर्गा माबिका बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण

0
119

धर्मेन्द्र मामा,
बिर्तामोड।

रोटरी क्लब अफ डिल्ली बजार काठमाडौँ र रोटरी क्लब बिर्तामोडको संयुक्त आयोजनामा झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ९ गरामनी स्थित दुर्गा माध्यमिक विद्यालयका १६४ जना विद्यार्थीहरूलाई स्कुल ब्यागका साथै शिक्षण सामग्रीहरू प्रदान गरिएको छ।

विद्यालयमा शुक्रबार आयोजित एक भव्य समारोहका बीच उक्त सामग्रीहरू प्रदान गरिएको हो। रोट्री क्लब डिल्लीबजारका प्रेसिडेन्ट सागर निधि तिवारीको अध्यक्षतामा भएको उक्त सामग्री वितरण समारोहमा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला प्रमुख अतिथि रहनुभएको थियो। रोटरी क्लब अफ डिल्लीबजारका भाइस प्रेसिडेन्ट युवराज रोकाको पहलमा उक्त सामग्री व्यवस्थापन गरिएको थियो।

स्थानीय रोटरी क्लब बिर्तामोड रोटरी क्लब ले संयोजन गरेको सो कार्यक्रममा १६४ जना कक्षा ६ देखि कक्षा ८ सम्म अध्ययनरत बालबालिकाहरूको लागि प्रदान गरिएको हो।

शैक्षिक सामग्री वितरण समारोहमा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रोलाले रोटरी क्लबले स्थानीय स्तरमा सञ्चालित सामुदायिक विद्यालयका विपन्न वर्गका विद्यार्थीहरूलाई स्कुल ब्याग सहितको शैक्षिक सामग्री प्रदान गरेर विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्‍याएप्रति आभार व्यक्त गर्नुभयो। साथै रोटरी क्लबले स्थानीय तहसँगको साझेदारीमा विलचेयर लगायतका सामग्रीहरू प्रदान गरेर सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको बताउनुभयो।

रोटरी क्लब अफ डिल्लीबजारका प्रेसिडेन्ट सागरनिधि तिवारीले रोट्री क्लबले देशका विभिन्न स्थानहरूमा सामाजिक सेवाहरू गर्दै आएको र नेपालको पूर्वी क्षेत्रमा रहेको दुर्गा माध्यमिक विद्यालयलाई सानो सहयोग गर्न सकेकोमा खुसी व्यक्त गर्दै विद्यालयको आवश्यकता अनुसार खानेपानी शौचालय र साइकल पार्किङ साथै ग्राउन्ड पेबर्स गर्ने कार्यका लागि प्राथमिकता साथ काम गरिरहेको बताउनुभयो।

सोही कार्यक्रममा बिर्तामोड रोट्री क्लबका सदस्य रोटरियन एवं कञ्चनजङ्गा माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपल गुरुभक्त न्यौपाने र परिवारले विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूका लागि एक थान वासिङ मेसिन र पाँचवटा सेतो छडी हस्तान्तरण गर्नुभएको थियो। न्यौपानेले गरामनी क्षेत्रमा रहेका अन्य सामुदायिक विद्यालयहरू देवकोटा आधारभूत विद्यालय जनता आधारभूत विद्यालय र लक्ष्मी आधारभूत विद्यालयलाई दुई दुई थान कम्प्युटर समेत प्रदान गर्नुभएको थियो।

कार्यक्रममा रोटरी क्लब अफ डिल्लीबजारका तर्फबाट निवर्तमान अध्यक्ष सम्झना पोखरेल उपाध्यक्ष युवराज रोका कोषाध्यक्ष सन्ध्या राज भण्डारी आगामी अध्यक्ष प्रेम ओली सदस्य कृष्णराज दुलाल लगायतको उपस्थिति रहेको थियो भने रोटरी क्लब अफ बिर्तामोडको तर्फबाट एसिस्टेन्ट गभर्नर सुजन प्रधान विनोद बस्नेत उपाध्यक्ष पार्वता खरेल बिमली पूर्व अध्यक्ष सुरेशवंशल निवर्तमान अध्यक्ष बबिता गिरी सदस्यहरू शैलेन्द्र गुरुङबाङ सुमित्रा भट्टराई नवीन घटानी गुरुभक्त न्यौपाने यसैगरी रोडट्र्याक क्लबका निवर्तमान अध्यक्ष बाप्पा शाह सचिव कुशल अधिकारी सदस्य रविन राजवंशी को समेत सहभागिता रहेको थियो।

विद्यालयका प्रधानाध्यापक लक्ष्मण शिवाकोटीले स्वागत गर्नुभएको सो समारोहमा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला गुरुभक्त न्यौपाने सागरनिधि तिवारी सुरेश कुमार अग्रवाल लगायतले मन्तव्य राख्नुभएको थियो।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पाण्डेले धन्यवाद ज्ञापन गर्नुभएको सो कार्यक्रम मा दृष्टिविहीन विद्यार्थीहरूले स्वागत गीत तथा सांस्कृतिक नृत्यहरू समेत प्रस्तुत गरिएको थियो। कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक धर्मेन्द्र भट्टराईले गर्नुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here