ओमसाई हस्पिटलमा ‘डीएनए’ परीक्षण शुरु

0
15

झापा ।

भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलले डीआक्सीराइबोन्यूक्लिक एसिड (डीएनए) परीक्षण शुरु गरेको छ ।

मानिसमा कस्ता प्रकारका रोग लाग्दैछ, कस्ता जटिल शारीरिक समस्या छन्, त्यसको पहिचान गर्ने स्वास्थ्य परीक्षण प्रविधि डीएनए ओमसाई हस्पिटलले सञ्चालनमा ल्याएको हस्पिटलका अध्यक्ष दीपककुमार पोखरेलले जानकारी दिए ।

यो डीएनए परीक्षण गर्ने प्रविधि ६ वर्ष अगाडि अमेरिकाबाट शुरुवात भई दुई वर्षअघि मात्र भारतमा भित्रिएको हो । अत्याधुनिक रोग पहिचान गर्ने डीएनए परीक्षण मानव जीवनमा एकपटक मात्र गर्न मिल्ने हो । नेपालमै पहिलोपटक यो प्रविधि डेल्टस्फर्म इन्डिया प्रालि भारत मुम्बईको प्राविधिक सहयोगमा भित्र्याइएको हस्पिटलका अध्यक्ष पोखरेलको भनाइ छ ।

‘नौ प्रकारको डीएनए परीक्षण गर्न सकिन्छ, भारत लगायतका अन्य देशमा यो परीक्षण गर्दा मंहगो शुल्क तिर्नुपर्छ’– अध्यक्ष पोखरेलले भने– ‘ओमसाईमा अहिले २५ हजार रुपैयाँमै यो परीक्षण गर्न पाइन्छ, बिस्तारै परीक्षणको शुल्क बढाइन्छ ।’ डीएनए परीक्षण भनेको आफ्नो सन्तान हो वा होइन भन्ने पत्ता लगाउने आम मानिसको बुझाइ छ तर त्यसो होइन । यो परीक्षणले मानिसमा लाग्न सक्ने जटिल रोग वा अन्य स्वास्थ्य समस्या बारेमा बेलैमा बुझ्न सकिन्छ । ‘त्यसैले यो परीक्षण मानिसका लागि अति आवश्यक छ’– उनले भने । ओमसाईमा आइतबारबाटै डीएनए परीक्षणको शुरुवात गरिसकेको हस्पिटलका व्यवस्थापक दीप पौडेलले जानकारी दिए ।

डीएनए परीक्षण किटबाट गरिन्छ । कोरोना महामारीको बेलामा लिइएको पीसीआरको स्वाव संकलन जस्तै हो । डीएनएको स्वाब संकलन गरी ओमसाईले डेल्टस्फर्म इण्डिया प्रालिको हैदरावादको ल्याबमा पठाउँछ, व्यवस्थापक पौडेलले भने– ‘ल्याबबाट यहाँसम्म रिपोर्ट आउन २८ दिन लाग्छ ।’

अहिले हस्पिटलकै जनशक्तिबाट स्वाब संकलन गरिने बताउँदै उनले भने– ‘हस्पिटलमा संकलन गरिएको स्वाब ढिलोमा सात दिनभित्र भारत पठाइहाल्छ ।’ हस्पिटलले अहिले झापा जिल्लाभरि होम सर्भिसको व्यवस्था पनि गरेको उनको भनाइ छ ।

दुई वर्षमाथि देखि ८० वर्षसम्मका मानिसको डीएनए परीक्षणले शरीरमा भइरहेका तथा हुन सक्ने रोग तथा शारीरिक बनोटको बारेमा जानकारी दिने भरपर्दो उपचार सेवा रहेको डेल्टस्फर्म इण्डियाका डा. आसिन मौर्यले जानकारी दिए । भारतमा दुई वर्षअघि शुरू भएको डीएनए परीक्षण जीवनमा एकपटक मात्र गरिने परीक्षण रहेको डा. मौर्यले बताए ।

बच्चामा १० वटा प्यानलमा ५१ प्रकारको र अरू उमेर समूहमा १८ वटा प्यानलमा १३१ प्रकारका परीक्षण हुने भएकोले मानव शरीरका लागि आवश्यक तत्व, वंशाणु–परम्परागत रोग, भविष्यमा आउन सक्ने रोगका बारेमा ९९.९९ प्रतिशत विश्वसनीय रिपोर्ट आउने उनको दाबी छ । १६५ प्रकारका औषधि उपचारका क्रममा शरीरले स्वीकार्छ वा स्वीकार्दैन भन्ने तथ्य समेत डीएनए परीक्षणबाट पत्ता लाग्ने बताउँदै उनले भने– ‘हरेक व्यक्तिले आफ्नो स्वास्थ्य र आयुको सही जानकारी लिनका लागि एकपटक परीक्षण गर्नुपर्छ ।’

शुरुवातमा यो मानिसलाई बुझाउनै मुस्किल हुन्छ । बुझेपछि आफै परीक्षण गर्न आउँछ । अहिले भारतमा ६ लाख बढीले यो उपचार सेवा लिइसकेको उनको भनाइ छ । हस्पिटलले तीन महिनाअघि बिर्तामोडमा मेरो डीएनए कार्यक्रममार्फत सो प्रविधि भित्र्याउन लागेको जानकारी गराएकोमा भद्रपुरमा एक कार्यक्रमका बीच यो परीक्षणको शुरुवात गर्न लागेको बारेमा जानकारी गराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here