कानूनको उल्लङ्घन गर्दै वडाअध्यक्षले पत्रचार गरेको महासंघको ठहर

0
204

झापा । हल्दिवारी गाउँपालिका वडा नम्वर ३ का वडाध्यक्ष विष्णुप्रसाद ओलीले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर सूचनाको हकका लागि राष्ट्रिय महासंघ कोशी प्रदेशकी उपाध्यक्ष इश्वरा तिवारीका नाममा पत्रचार गरेको निष्कर्ष सहित आपत्ति जनाएको छ । सामाजिक अभियन्ता समेत रहेकी इश्वरा र उनका श्रीमान् खड्गवहादुर तिवारीको नाम नै तोकेर वडा कार्यालयले छलफलका लागि पत्रचार गर्नु कानूनको ठाडो उल्लङ्घन भएको महासंघका महासचिव सुरेन्द्र भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
हल्दिवारी गाउँपालिका – ३ निवासी तिवारीले स्थानीय एक महिलाको चरित्रहत्या हुनेगरी सामाजिक सञ्चालमा फोटो राखेको र छलफलका लागि भन्दै वडा कार्यालयमा २८ गते उपस्थित हुन भनेको थियो । वडाध्यक्ष ओलीद्वारा जारी सूचनामा सावित्रा खत्रीको माग निवेदन अनुसार खेतबाट पानी कटाउने क्रममा बाटो खन्दा फोटो खिची सामाजिक सञ्जालमा प्रयोग गरी चरित्रहत्या गरेको भन्दै तिवारीलाई छलफलका लागि बोलाएको थियो । वडाध्यक्षले कानूनको उल्लङ्घन गर्दै पत्रचार गरेको विषयलाई लिएर महासंघले ध्यानाकर्षण सहितको विज्ञप्ति जारी गरेको हो ।
जारी विज्ञप्तिमा भनिएको छ – हरेक नागरिकको अधिकारको संरक्षण र सम्बर्र्धन गर्नु राज्यको मुख्य दायित्व हो । राज्यले संविधान तथा अन्य विभिन्न कानूनका माध्यमबाट नागरिकहरुका लागि विभिन्न हक तथा अधिकारको प्रत्याभूति गर्दछ । लोकतान्त्रिक शासन प्रणालीमा नागरिकमा नै सार्वभौमसत्ता र राजकीयसत्ताको साँचो हुन्छ । सार्वभौम जनताले राज्यबाट भए गरेका काम कारवाहीका बारेमा जानकारी पाउने अधिकार प्राप्त गरेका हुन्छन् भने राज्य सञ्चालनमा सम्लग्न संस्था र पदाधिकारीहरुले गरेका गतिविधिका बारेमा निगरानी राख्ने दायित्वसमेत उनीहरुमा रहन्छ । तर, सार्वजनिक बाटो खनेको विषयमा खिचिएको श्रब्यदृष्य सामग्री सामाजिक सञ्जालमा राखेको र ति महिलाको चरित्रहत्या भएको भन्दै छलफलका लागि पत्रचार नै गरेर बोलाउनु आफैंमा निन्दनीय छ ।
नागरिकको मौलिक हक अधिकारलाई सुनिश्चित गर्नुपर्ने र लोकतन्त्रमा सुशासन र सुव्यवस्था कायम गरी राज्यका संयन्त्रहरुले, सार्वजनिक निकायहरुले गर्ने कामकाज, सेवा, सुविधा आदिको बारेमा सरल र पारदर्शी रुपमा आम नागरिकहरुको घरदैलोसम्म पुगेर सुसूचित गर्नुपर्ने, स्वतःस्फूर्त रुपमा सेवा सुविधा पु¥याउनुका साथै सो बारे स्पष्ट सूचना उपलब्ध गराउनुपर्नेमा सार्बजनिक बाटो खनेको विषयलाई उपाध्यक्ष तिवारीले उठान गर्दा कुनै एक महिलाको चरित्र हत्या भएको जस्तो गम्भीर लान्छना लगाएर वडाध्यक्षले हुकुमीशैलीमा नागरिकको अधिकार कुण्ठित गर्न खोजेको प्रष्ट देखिन्छ – विज्ञप्तिमा भनिएको छ ।
महिलाको चरित्रहत्या भएको भए न्यायका लागि जाने अन्य निकाय रहेको र वडा कार्यालयमा छलफल गराउने भन्दै बोलाइएको घटना प्रति महासंघले आपत्ति जनाउदै सम्वन्धित सवैको ध्यानाकर्षण गराएको हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here