वनको सुरक्षामा उदाहरणीय कार्य

0
2

झापा जिल्लाको अर्जुनधारास्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रको सुरक्षाका लागि नमूनायोग्य अभियान सञ्चालन गरेको छ । ग्रामीण क्षेत्रमा अझै पनि काठ–दाउरा नै ऊर्जाको मुख्य स्रोत रहेको र त्यसका लागि वनमै निर्भर हुनुपर्दा हुन जाने वनको क्षति रोक्न समूहले ग्यास सिलिण्डर अभियान सञ्चालन गरेको हो । दाउरा संकलनको निहुँमा वन क्षेत्रमा हुनसक्ने चोरी तस्करी रोकेर वनको संरक्षण गर्ने उपभोक्ता सदस्यहरुलाई ग्याससहितको सिलिण्डर निःशुल्क वितरण गर्दै आएको छ । पैंतीस जना अति विपन्न उपभोक्ताहरुलाई वितरण गरेर शुरु भएको कार्यक्रम अहिले सात सय तेह्र जना सदस्यलाई दिने गरेको वन समूहले जनाएको छ ।

आगामी दिनमा आफ्ना बाँकी सदस्यलाई समेत ग्यास सिलिण्डर निःशुल्क नै वितरण गर्ने कार्यक्रम रहेको वन उपभोक्ता समूहका अध्यक्ष खगेन्द्र कोइरालाले जानकारी दिएका छन् । यसै आर्थिक वर्षभित्र आफ्ना सम्पूर्ण उभपोक्ता सदस्यहरुलाई धुँवामुक्त भान्सा बनाउन सहयोग गर्ने वन उपभोक्ता समूहको यस्तो कार्यक्रम नमूना मात्र होइन उत्प्रेरक पनि हो । यसले अति विपन्नदेखि उपभोक्ता समूहका सबै सदस्यहरुलाई राहत पुग्नुका साथै दाउरा संकलनका नाममा हुनसक्ने वन पैदानवरको चोरी तस्करी रोक्न पनि सहयोग पुग्नेछ ।

वन उपभोक्ता समूहले वार्षिक नीति र कार्यक्रम नै बनाएर पाँच वर्ष अघिदेखि प्रारम्भ गरेको यो अभियान वातावरणमैत्री रहेको हुँदा पर्यावरणको संरक्षणमा समेत फलदायी भएको छ । वन जंगल नेपालको पहिलो धन भनिँदै आएको थियो । तर, पाँच दशकअघिबाट वन क्षेत्रको अतिक्रमण व्यापक हुन थालेको थियो । बढ्दो जनसंख्या र आम्दानी गर्ने नाममा वनजंगल फडानी गर्ने काठ तस्करी गर्ने क्रम बढेर गएको थियो । वातावरणको प्रमुख स्रोतका रुपमा रहेको वन क्षेत्रको विनाशका कारण अहिले विश्वमै जलवायु परिवर्तनको असर देखिन थालेको छ । पृथ्वीको तापक्रम निरन्तर वृद्धि भइरहेको छ भने यसले अनेक महामारीसहितको प्रतिकूलता निम्त्याइरहेको छ । यस्तोमा शान्ति सामुदायिक वन उपभोक्ता समूहको कार्यक्रम मानव स्वास्थ्य, वातावरण रक्षा र वन जंगलप्रति अपनत्व जगाउन र बढाउन फलदायी हुन सक्छ । विनाशको संघारमा रहेका वन क्षेत्र समुदायलाई हस्तान्तरण गरेपछि सुरक्षित हुन थालेको सन्दर्भ पनि यो अभियान सबैका लागि अनुकरणीय बन्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here