पहिरोले भोजपुरको पाँचधारे–चखेवा सडक अवरुद्ध

0
2

भोजपुर,

वर्षातले पहिरो जाँदा भोजपुरको पाँचधारे–चखेवा सडक अवरुद्ध भएको छ । यो सडक खण्डको रुमाथुम्की क्षेत्रको घुर्विसेमा पहिरो जाँदा आवतजावतमा समस्या भएको हो ।

टेम्केमैयुङ ९ मा पर्ने यो स्थानमा ठूलो पहिरो झरेपछि स्थानीयको जनजीवन कष्टकर बनेको हो । यो सडकले छिमेकी जिल्ला खोटाङलाई जोडेको छ । सडक माथीबाट ठूलो पहिरो झरेपछि पैदल यात्रा गर्नसमेत जोखिम रहेको स्थानीयवासी एकराज विष्टले बताउनुभयो ।

“पहिरोले सडक बगाउँदा आवतजावतमा समस्या छ”उहाँले भन्नभयो,“निरन्तर पहिरो झरिरहेकोले पैदल हिड्नसमेत समस्या छ । सडक अवरोध हुँदा जनजीवन कष्टकर बनेको छ । अवरोध सडकलाई सञ्चालनमा ल्याउन राज्यले ध्यान दिन आवश्यक छ ।”

सडक अवरोध हुँदा भोजपुरको पश्चिमी क्षेत्रका नागरिकसँगै छिमेकी जिल्ल्ला खोटाङका स्थानीयलाईसमेत समस्या रहेको टेम्केमैयुङ ९ पाँचधारेका स्थानीयबासी मानबहादुर सुनारले बताउनुभयो । “माथिल्लो भेगमा पहिरो झरेर बाढी आउँदा मुनीतिर रहेका अन्य सडक पनि अवरोध बन्ने गरेका छन्” उहाँले भन्नुभयो,“ पहिरोले सडक अवरोध बन्दा जनजीवन निकै कष्टकर बनेका अवस्था छ । अवरोध सडक सञ्चालनमा राज्यले चाडो पहल गरी दिए सहज हुन्थ्यो ।”

राउते खोलाको शिर घुर्विसे क्षेत्रमा पहिरो जादा तल्लो क्षेत्रका बस्तीसमेत जोखिम रहेको वडाध्यक्ष नभराज माङ्पाहाङले बताउनुभयो । राउते, लेर्खक काभ्रेलगायत गाउँका करिव २० घर परिवार जोखिममा रहेको वडाध्यक्ष माङ्पाहाङ्को भनाइ छ । माथिबाट आएको पहिरोले वर्षेनी तल्लो क्षेत्रमा रहेका सडक तथा अन्य संरचनामा क्षति पुग्ने गरेको उहाँको भनाइ छ ।

“पहिरोको कारण पाँचधारे–चखेवा सडक अवरोध बनेको छ”वडाध्यक्ष माङ्पाहाङले भन्नुभयो,“यो क्षेत्रमा वर्षेनी पहिरो जाँदा तल्लो क्षेत्रका बस्ती जोखिम गर्ने गरेका छन् । राउते खोलामा आउने बाढीको कारण तल्लो भेगमा ठूलो क्षति पुग्ने गरेको छ ।”

वर्षातका कारण राउते खोलाले बगाएको अर्को पाँचधारे–कोट– भोजपुर सदरमुकाम सडक भने श्रमदान गरेर तत्काललाई सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ । यो सडक मर्मत गरेपनि वर्षात हुन साथ खोलाले बगाउँदा समस्या हुने गरेको छ । यो स्थानमा वर्षेनी सडक बगाउने गरेकोले यसको वैकल्पिक सडक आवश्यकता रहेको वडाध्यक्ष माङ्पाहाङ् बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here