जनैपूर्णिमाका लागि सिङ्गारिँँदै गोसाइँस्थान

0
2

धुलिखेल (काभ्रेपलाञ्चोक),

जिल्लाको बनेपा नगरपालिका–६ स्थित धार्मिक पर्यटकीयस्थल गोसाइँस्थानमा साउन शुक्लपूर्णिमा अर्थात् जनैपूर्णिमा तथा रक्षाबन्धनका अवसरमा लाग्ने मेलाका लागि सो स्थल सिङ्गारिएको छ । बनेपाको बुडोलबाट सडक दायाँबायाँ व्यापारिक चहलपहल बढ्ने भएकाले मेला व्यवस्थापनका साथै वडाको सहयोगमा रङरोगन गरिँदैछ ।

रसुवाको धार्मिकस्थल गोसाइँकुण्डसँग कथा र महत्व जोडिएकाले त्यहाँ पुग्न नसकेका भक्तजन यहाँ रहेको गोसाइँस्थानमा मेला भर्ने गर्दछन् । गोसाइँस्थान धार्मिक तथा प्राकृतिक दृष्टिकोणले महत्वपूर्णस्थलका रुपमा रहेको भक्तजन बताउँछन् ।

बनेपा–६ स्थित गोसाइँस्थानमा जनैधारण गर्ने तथा शिव मन्दिरमा दर्शन तथा पूजाअर्चना गर्न दर्शनार्थीको घुइँचो लाग्ने गरेको गोसाइँस्थान संरक्षण समितिका अध्यक्ष विष्णुनारायण श्रेष्ठले बताउनुभयो । गत वर्षभन्दा यस वर्ष यहाँ भक्तजनको आगमन वृद्धि हुने अपेक्षा लिइएको उहाँले उल्लेख गर्नुभयो ।

“मेलामा बनेपाको बुडोलबाट सडक दायाँबायाँ व्यापारिक चहलपहल बढ्छ । तसर्थ रङरोगन गर्नुका साथै खानेपानी, बत्ती जडान र सुरक्षाका लागि भीड तथा सुरक्षा व्यवस्थापनका लागि प्रहरी तथा स्वयंसेवक परिचालन गर्नेछौँ । स्वास्थ्य सहायताका लागि सहायता कक्षा राख्नेछौँ”, श्रेष्ठले भन्नुभयो । यहाँ हिन्दू, बुद्धका साथै बोनधर्म परम्पराअनुसार पूजा र दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने उहाँले जानकारी दिनुभयो ।

हिन्दू धर्मसंस्कारअनुसार यहाँ रहेको शिव मन्दिरमा पूजागरी ब्राह्मणबाट रक्षाबन्धन र टीका लगाइन्छ । यस्तै तामाङ समुदायका ‘झाँक्री’ ढ्याङ्ग्रो बजाउँदै विभिन्न किसिमकले पूजागरी दर्शन गर्ने गर्दछन् । नेवार समुदायले अन्नपात चढाउने, ब्राह्मण समुदायले जनै लगाउने र हातमा रक्षाबन्धन (डोरो) बाँध्ने प्रचलन छ ।

रसुवाको गोसाइँकुण्ड पुग्न नसक्नेले बनेपाको गोसाइँस्थानमा गएर दर्शन गर्ने प्रचलन रहँदै आएको स्थानीय बताउँछन् । रसुवाको गोसाइँकुण्ड पुग्न नसक्नेले यहाँको गोसाइँस्थानमा आएर दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको स्थानीय समाजसेवी भैरव केसीले बताउनुभयो ।

“परापूर्वकालमा भाद्र पूर्णिमाका दिन देवगण र राक्षसहरु मिलेर समुन्द्र मन्थन गर्दा समुन्द्रको गर्भमा लुकेको विष बाहिर निस्कियो । त्यो विषलाई महादेवले सेवन गरेपछि विष सेवनको छटपटीलाई सहन नसकेर महादेव हिमालय पर्वततर्फ लाग्नुभयो । त्यही क्रममा महादेवको पहिलो बास बनेपा–६, गोसाइँस्थानमा भयो । बिहान भाले बासेपछि रसुवाको गोसाइँकुण्डमा पुगेर त्यहाँ त्रिशूलले घोपेर पानी निकाली पीडा शान्त पार्नुभएको कथन छ”, उहाँले भन्नुभयो ।

यहाँ लाग्ने जात्रामा महिला र पुरुषबीच दोहोरी गीत गाउने प्रचलन रहेको गोसाइँस्थान संरक्षण समितिका उपसचिव राजु मानन्धरले बताउनुभयो । मेलामा काभ्रेपलाञ्चोकलगायत काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायत देशका विभिन्न भेगबाट भक्तजन आउने गरेको उहाँले जानकारी दिनुभयो ।

वातावरणीय दृष्टिकोणले आकर्षक

काभ्रेपलाञ्चोकको पुरानो मानिने बजार बनेपाबाट उत्तर–पूर्वीतर्फ हरियाली भएर उभिएको गोसाइँस्थान डाँडा धार्मिक र पर्यापर्यटनको दृष्टिकोणले प्रसिद्ध ठाउँ हो । बनेपा र धुलिखेल बजारकोबीचमा रहेको धार्मिकस्थल गोसाइँस्थान र त्यसमाथिको अग्लो डाँडामा रहेको दृश्यावलोकन स्तम्भका कारण यो डाँडा प्रसिद्ध छ ।

बढ्दो सहरीकरण, वातावरण र ध्वनि प्रदूषणबाट शान्ति खोज्न यहाँका हरियाली वनजङ्गलको बीचमा अग्लो मनमोहक स्थान आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका बनेपा–६ का वडाध्यक्ष सचितानन्द केसीले जानकारी दिनुभयो । शान्त, रमणीय र मनोरञ्जन लिन आकर्षक स्थान हुनाका साथै धार्मिक दृष्टिकोणले महादेव मन्दिरको दर्शन गर्न पाइने भएकाले यहाँ पर्यटकको आगमन बढ्दै गएको उहाँले बताउनुभयो ।

पर्यटकीय पूर्वाधार वनभोजस्थल (पिकनिक स्पट), सडक, पानी, बिजुलीको सुविधाका साथै थप भौतिक संरचना निर्माणले पनि आन्तरिक एवं बाह्य पर्यटकले गोसाइँस्थान पुग्न रुचाएका वडाध्यक्ष केसीले बताउनुभयो । यहाँ हरेक दिन दृश्यावलोकन स्तम्भ (टावर) चढ्ने र प्राकृतिक मनमोहकस्थल घुम्न आन्तरिक पर्यटक आउने गरेका उहाँको भनाइ छ ।

काठमाडौँ उपत्यकाबाट मात्र २५ किलोमिटरको दूरी रहेको यो ठाउँ अरनिको राजमार्गबाट पाँच सय मिटर भित्र पर्दछ । “गोसाइँस्थान र दृश्यावलोकन स्तम्भ क्षेत्र जाने पक्की सडक, चण्डेश्वरीबाट दुई हजार दुई सय सिँढी निर्माण र अन्य थप भौतिक संरचना निर्माणले घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ”, वडाध्यक्ष केसीले भन्नुभयो, “बिहान ‘मर्निङ वाक’ जानेहरुलाई लक्षित गर्दै व्यायाम गर्ने स्थान पनि निर्माण गरिएको छ ।”

पछिल्लो समयमा यहाँ नयाँ मुक्तिनाथ मन्दिर, हनुमान मन्दिर निर्माणसँगै घण्टा पनि राखिएकाले धार्मिक पर्यटकीय गन्तव्यका रुपमा पनि विकास हुँदै गएको वडाध्यक्ष केसीले बताउनुभयो । उहाँका अनुसार रामायण भजन गर्ने भवन, पक्की शौचालय, खानेपानीको सुविधालगायत पूर्वाधार निर्माण भइसकेका छन् भने उद्यान निर्माणको तयारी भइरहेको छ ।

गोसाइँस्थान मन्दिर परिसर क्षेत्रमा हाल नैमिषारण्य संस्कृत गुरुकूल स्थापना भएको छ । धुलिखेलस्थित अरनिको राजमार्गबाट धुलिखेल–रविओपी–काशीभञ्ज्याङसम्मको पक्की सडक निर्माण भइसकेको छ । यहाँबाट हाइकिङ गर्दै नगरकोटसम्म पुग्न सकिन्छ ।

तेमाल, नमोबुद्ध, धुलिखेल, गोसाइँस्थान, काशीभञ्ज्याङ हुँदै नगरकोट जोड्ने ट्रेकिङ मार्ग निर्माणका लागि बजेट विनियोजन भइ काम सुरु भइसकेको नगर कार्यालयले जनाएको छ । साथै पवित्र तीर्थस्थल तथा पर्यटकीयस्थल बनाउन नगरपालिका र वडाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी बहुवर्षीय योजनामा समावेश भई बजेट विनियोजनसमेत भएको वडाध्यक्ष केसीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here