कांग्रेस झापाका सदस्य बुढाथोकीको निधन

0
3

खुदुनाबारी।

नेपाली कांग्रेस झापाका सदस्य बाबुराम बुढाथोकीको ६४ बर्षको उमेरमा निधन भएको छ । केही समयदेखि अस्वस्थ रहनुभएका उहाँको विहीबार साँझ अर्जुनधारा–३ खुदुनाबारीस्थित निजी निवासमा निधन भएको हो ।

२०१७ साल माघ १० गते पाँचथरको याङनाममा बुवा मनप्रसाद बुढाथोकी र आमा नैनकला बुढाथोकीका कोखबाट जन्मनुभएका बुढाथोकीको परिवार २०२४ सालमा बसाई सरी झापाको खुदुनाबारीमा आएर बसोबास गर्न थालेको थियो ।

विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसले जारी राखेको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रुपमा सहभागी हुनुभएका उहाँ २०४९ सालमा नेपाली कांग्रेसको तर्फबाट खुदुनाबारी गाविसको ३ नम्बर वडाको वडाध्यक्ष निर्वाचित हुनुभएको थियो ।

राजनीतिक र सामाजिक गतिविधिमा सक्रिय उहाँ २०५६ सालमा सुखानी सामुदायिक बन उपभोक्ता समितिको अध्यक्षमा निर्वाचित हुनुभएका उहाँले आफ्नो जिम्मेवारी कुशलतापूर्वक संहाल्नुभएको थियो ।

पार्टीका विभिन्न पदीय जिम्मेवारीमा रहनुभएका उहाँ नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट साविक खुदुनाबारी गाउँ समितिको पार्टी सभापतिमा निर्वाचित हुनुभएको थियो भने १४ औं महाधिवेशनमा जिल्ला समिति सदस्यमा निर्वाचित हुनुभएको थियो ।

बुढाथोकीको पार्थिव शरीरमा नेपाली कांग्रेस झापाका कार्यबाहक सभापति केशवराज पाण्डे, सचिव कृृष्ण हुमागाई, कोशी प्रदेश सदस्य रञ्जिता कार्की, २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली, अर्जुनधारा नगर सभापति हेमराज खरेल लगायत नेताकार्यकर्ताले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली ब्यक्त गर्नुभयो । खुुदुनाबारीस्थित कैदले घाटमा उहाँको पार्थिव शरीरको आज अन्त्येष्ठी गरिएको हो ।

जिल्ला सदस्य बुढाथोकीको निधनप्रति शोकसमवेदना ब्यक्त गर्दै तीनदिनसम्म पार्टीको झण्डा आधा झुकाउने र जिल्ला पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय भएको सचिव कृष्ण हुमागाईले जानकारी दिनुभयो । उहाँका अनुसार तीनदिनसम्म कुनैपनि नयाँ कार्यक्रमहरु तय गरिने छैन । बुढाथोकीका दुई श्रीमती, ३ छोरा र ५ जना छोरी रहेको पारिवारि श्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here