हाम्रो सम्बन्ध

0
2

सम्बन्ध शब्द सम्झेर ल्याउँदा सबैथोक त्यसैमा अडिएको छ, अनि त्यही सम्बन्धलाई समय र साथरुपी मलजल गर्न छोडेपछि त्यही सम्बन्ध बिरानो हुन कति पनि नलाग्ने रहेछ ।

पहिले–पहिले मेरो बोली सुनेर नथाक्ने मान्छे ऊ आज अर्कै भएको अनुभव लाग्छ, तिमी बोलेको सुनिरहु झंै लाग्छ भन्ने ऊ आज घर–व्यवहारको व्यस्तता देखाएर पन्छिन् खोज्छ । विवाह अगाडिको तिमी र आजको तिमीमा कति लामो मेटाउन नसक्ने गरीको धर्को तानिएछ हेरन, मेटाउन खोज्दाखोज्दै म नै बिचैमा के मा भुलिए मलाइ नै थाहा छैन ।

विवाह भयो ! ओहो हामीले त संसार जित्यौं अरु के नै र को नै चाहिन्छ र ? हामीलाई भन्ने तिमी आज खै कसरी म बाहेकको बाँकी संसारमा मात्र रमाउँदैछौ ? तिमीले भन्ने गरेको घर–व्यवहाररुपी रथको एउटा पाङ्ग्रो त मैले पनि सँगसँगै डो¥याएको ठान्थ्ये म, तर खै कहाँबाट हो मेरो पाङ्ग्रोमा लागेको किल्ला त खुकुलो भएर तिमीलाई पो उल्टै अफ्ट्यारोमा पारिरहेको रहेछ थाहा नै भएन ।

हेर न बच्चा त हामी दुबैको साझा हो नि है, तर बाबाको अनुहार, बाबाको थर, पहिचान सबै बाबाको अनि राम्रा गुणहरु जति छन् सबै बाबाका र मेरो भागमा त केबल अवगुण पो लागेछन् । जीवनको यति लामो यात्रासँगै हाँस्दै, रुँदै रमाउँदै बित्दैछ भन्ने लाग्थ्यो मलाइ, तर अहिले पो बुज्दैछु, म मात्रै पो हाँसेकी रहेछु । तिमीलाई कहिलेबाट रुवाएको रहेछु थाहा नै पाइनँ ।

हेर न सँगै हुँदा त संसार नै जितिन्छ भन्ने तिमी यसरी म सँगै हारेर बसेका रहेछौ, म चाहिँ तिम्रो बा–आमालाई आफ्नो बनाउने तिम्रो घरलाई आफ्नो बनाउने तड्कारोमा तिमीलाई पो पराइ बनाइ सकेछु । केही दिनअघिबाट म विचार गर्दैछु, तिमी पहिला जस्तो खुलेर हाँस्दैनौ, सबैसँग खुलेर बोल्दैनौ र म सँग पनि सम्बन्धमा परिवर्तन दिन खोजिरहेछौ । तिम्रो हाउभाउ अनि स्वभावले तिम्रो स्वस्थ्यमा असर गरेको म प्रष्ट देखिरहेकी छु अनि महशुस गरिरहेकी छु । तिमी खुलेर मलाई केही भन्न सक्दैनौ, तर म तिम्रो आँखा हेरेर तिमीलाई खुल्ला किताब सरह पढ्न सक्छु ।

अझै पनि केही बिग्रेको छैन है । हेर तिम्रो भट्केको मन सम्हाल, लर्बराएका पाइँलामा लगाम लगाउ, हेर एकातिर तिम्रो परिवार तिम्रो बा, आमा, तिम्रो श्रीमती, तिम्रो छोराछोरी सबै र अर्कोतिर तिमीले रोज्न खोजेको अँध्यारो बिरानो एक्लो बाटो छ । तिमीले अहिले देखेको अन्धकार तिमीले हेर्न चाहेको अँध्यारो हो । त्यसबाट निस्किन प्रयास मात्र गर, तिमीलाई निकाल्ने जिम्मा मेरो हो, हेर केही बिग्रेको छैन, तिम्रो दृष्टिकोण फरक भएको मात्र हो ।

सम्झ त मबाट कहिले हामी हुनु, कहिले हाम्रो परिवार हुनु, भनेर भनेको हिजो जस्तो लाग्छ । जस्तै परिस्थिती आए पनि ‘हामी’ भएपछि पार लगाउँछौं भन्ने तिमी आज किन यति कमजोर भएको ? तिमी जुन कुरालाई सम्हाल्न सक्दिनँ होला भन्ने सोचिराख्या छौ नि त्यो केबल तिम्रो भ्रम हो ।

हेर अहिले हरेक घरमा एउटा यस्तै परिस्थितीसँग जुद्धै गरेको मानिस भेटिन्छन् । अहिले यो बिमार त सुगर प्रेसर जस्तै हो । मान्छेको बुझाइमा फरक परेको मात्र हो, जसले यो बिमारलाई फरक किसिमले लिन्छ त्यो मान्छे वा उसको परिवार यो समस्याबाट बचेको रहेछ भन्ने बुझ्दा फरक नपर्ला । किनभने जसले भोगेको हुन्छ उसले यस्तो अबुझ जस्तो गरेर अर्थको अनर्थ लगाउँदैनन् ।

कति मान्छेहरु यस्तो परिस्थितीबाट निस्किने प्रयास गर्दा पनि सकिरहेका छैनन् । कारण उसको साथी जो छ उसले, मैले तिमीलाई दिएको आड भरोसा साथ छ नि त्यो दिन नसक्ने भएर हो । यतिका वर्षसम्म म तिमीले भनेका र देखाएका बाटोमा निसन्देह आँखामा पट्टि लगाए सरह हिँडे, अब आज आएर मैले तिमीलाई तिमीले मलाइ देखाएको बाटोमा हिँड्न लागाउँदा किन तिम्रा पाइँलाहरु डग्मगाउँदैछन् ?

एकपल्ट विश्वास त गर, तिमीलाई उज्यालो प्रकाशले अङ्गालो हाल्नलाई आतुर भएर हात फिजाएर बसेको छ । तिम्रा दिनहरु पहिला कै दिन जस्तै हुँदै जानेछन्, तिम्रा पाहाड जस्ता समस्याहरु तिलका दाना जस्ता हुँदै जानेछन् । तिम्रो कुरा काट्नेहरु सबैको मुख बन्द हुनेछन्, तिमी फेरि पहिलाको जस्तै निस्फिक्री भएर हाँस्न सक्नेछौ, तिमीलाई पराइ लागेका सबै आफ्ना हुँदै जानेछन् । तिमीलाई डिप्रेसन भएको हो र यो रोग पनि डाइबिटिज र प्रेसर जस्तै शारीरिक अस्वस्थता मानिन्छ ।

आज प्रत्येक दश मध्ये आठ घरमा एक यस्ता बिरामी छन्, जसलाई घरपरिवारले बुझेर समयमा उपचार गर्दा सामान्य रुप हुँदै टर्छ । तर, परिवारको साथ भएन र उपचार बेलामा नहुँदा विकराल रुप लिँदै जान्छ । हिँड हामी अब औषधोपचारमा जाउ । म तिमीलाई चाडै स्वस्थ बनाउनेछु ।

अन्ततः डिप्रेसन भन्ने शब्द हुदा हुँदै मेन्टल, साइको, बहुला आदि शब्द प्रयोग गरेर बिरामी को र बिरामीको परिवारको मनोबल घटाउने काम गर्न छोड्डौं । तपाईले बोलेको एक शब्दलाई मिठो बनाउने कि तितो त्यो तपाईको हातमा छ । तर, एकपटक तिर बनाएर हानेको ठाउँमा बनेको घाउ त मल्हम लगाएर महिना दिन लागेर भए पनि निको होला तर त्येस घाउले आफू निको भएनी छोडेर गएको खाटो त जिन्दगी भरीलाई रहन्छ ।

(यो काल्पनिक लेख हो । अहिलेको घर–घरमा प्रायः हुने समस्या हो । परिवारका हरेक सदस्यको मनोबल बुझ्न उक्त घर सदस्यले जरुरी रहन्छ । समयमा उपचार गरी आफ्नो मानसिक एवम् शारीरिक स्वास्थ्यको अवस्था सुधार गरे डिप्रेसनबाट बेलैमा बचिन्थ्यो कि ?)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here