गणेश खनाल सर र गोमेन्द्र महाविद्यालय: अनि म पत्रकार बनेँ

0
2

कक्षा १० सम्म पढ्दै गर्दा वार्षिक परीक्षाहरु कसरी उत्तीर्ण हुने भन्नेतिर ध्यान जान्थ्यो । त्यतिबेला फलामे गेटले कहलिएको एसएलसी कसरी उत्तीर्ण गर्ने भन्ने सबैमा चिन्ता हुने । एसएलसी उत्तीर्णपछि अब के पढ्ने, जीवनमा के बन्ने, जागिर के मा खाने आदि इत्यादि कुराले सताउने । बुवाआमा साक्षर मात्र भएकाले एसएलसीपछि यसै गर भनेर भन्न सक्ने अवस्थामा नहुँदा निर्णय लिन जो कोहीलाई पनि हम्मे–हम्मे पर्छ नै । बुवाआमा किसान, सामान्य परिवार हाम्रो । बुवाआमालाई काममा सहयोग गर्दै भृकुटी मावि दुर्गापुरबाट विद्यालय तहको अध्ययन पूरा गर्दै थियौं हामी ।

मैले २०५४ सालको अन्त्यतिर एसएलसी परीक्षा दिइसकेपछि अब के पढ्ने, के हुने भन्ने मनभित्र खुल्दुली भयो । जान्ने बुझ्नेहरुको कुरा सुन्ने, सल्लाह लिने काम पनि भयो । कलेजमा जे पढिन्छ त्यही शिक्षालाई व्यवहारमा लागू गरी पेशा व्यवसाय बनाउनुपर्छ भन्ने कुरामा म स्पष्ट थिएँ । त्यही क्रममा बिर्तामोडको गोमेन्द्र बहुमुखी महाविद्यालयतर्फ मेरो ध्यान गयो । शिक्षासेवी गणेशप्रसाद खनालले स्थापना गर्नुभएको र अघिल्लो वर्ष अध्ययन अध्यापन शुरु भएको उक्त कलेजमा पहिलो व्याचको विद्यार्थी भई दिदी तुलसाले कक्षा ११ मा अध्ययन शुरु गर्नुभएको थियो ।

सामान्य कृषक परिवार, सरकारी विद्यालय अध्ययन गरेका हामी । त्यतिबेला आर्थिकरुपले निजी कलेज पढ्न आँट गर्नु, पाउनु ठूलै कुरा हुन्थ्यो । तर, दिदीले गोमेन्द्र पढ्न थाल्नुभयो । गाउँले सम्बन्ध, बुवासँगको चिनजान, गणेश सरले आँट दिएपछि बुवाले दिदीलाई गोमेन्द्र पढाउनुभयो । खनाल परिवारको मूल घर तत्कालिन अर्जुनधारा गाविस–५ दहिझोडा, हाम्रो बसोबास तत्कालिन सुरुङ्गा–१ हाल कनकाई–१ प्रजापति । करिब एक किलोमिटरभित्र हामी दुबै परिवारको घर । खनाल परिवारसँग बुवाको राम्रो चिनजान । हामी घाँसदाउरा लिन दहिझोडा वन जाँदा उहाँहरुको घरतिरकै बाटो जानुपर्ने हुन्थ्यो । उहाँहरु बजार जाँदा हाम्रै घरतिरको बाटो हुँदै जानुपर्ने । गणेश सर र उहाँको परिवार बिर्तामोड बसोबास गरे पनि मूल घर जाने बाटो हामै्रतिरबाट परेकाले बुवाआमासँग देखाभेट भइरहने । गणेश सरका बुवाआमा, भाइबहिनीहरु सबै दहिझोडामै बस्ने भएकाले उहाँहरुसँग बुवाको बाक्लै भेट भइरहने । पारिवारिक सम्बन्धले गोमेन्द्रसँग जोडिएर पढाइलाई अगाडि बढाउने मौका थियो ।

गोमेन्द्र बहुमुखी महाविद्यालयतर्फ मेरो ध्यान जानुको पनि कारण थियो । पूर्व मै पहिलोपटक बिर्तामोडस्थित गोमेन्द्र बहुमुखी महाविद्यालयले कक्षा ११ र १२ मा पत्रकारिता र सामाजिक अध्ययन विषयको पठन–पाठन मानविकी संकायतर्फ शुरु गर्ने निधो गर्यो । यो शुरुवातले मेरो ध्यानमात्र तानेन नयाँ विषयप्रतिको रुचीमा उत्साह थपियो र अठोट गरेँ कि पत्रकारिता पढेर पत्रकार बन्ने । ती दुबै विषय पत्रकारिता र सामाजिक अध्ययन लिई मैले अध्ययन शुरु गरेँ । गोमेन्द्रमा भर्ना भएर पत्रकारिता अध्ययन शुरु गरेसँगै मेरो पत्रकारिताको औपचारिक यात्रा शुरु भएको हो ।

त्यसबेला पत्रकारिता सम्बन्धी पुस्तक अत्यन्त कम थिए, भएका पनि हाम्रो पहुँचमा थिएनन् । आदरणीय गुरु मदन ढकाल (हाल स्वर्गीय)र रुपक खनालले विभिन्न सन्दर्भ सामग्रीबाट खेजेर हामीलाई अध्यापन गराउनुहुन्थ्यो । म गोमेन्द्रमा पत्रकारिता विषयको पहिलो व्याचको विद्यार्थी थिएँ, जम्मा १८/२० जना थियौं । परीक्षामा नियमित उत्तीर्ण चाहिँ दुई–तीन जना मात्र भयौं । १२ कक्षापछि पत्रकारिता अध्ययनको प्रबन्ध मोफसलमा थिएन । काठमाडौं जाने सोच, आइडिया र पहुँच भएन । त्यसपछि पत्रकारितालाई निरन्तरता दिँदै झापामै रहेर पढाइलाई निरन्तरता दिने निधो गरी कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाबाट शिक्षा संकायमा स्नातक र स्नातकोत्तर गरेँ ।

कक्षा ११ मा छदै मैले पत्रकारको परिचय बनाइसकेको थिएँ । कक्षा १२ सम्म गोमेन्द्रमा पत्रकारिता पढेको आधार र नियमित अभ्यासबाट म पत्रकार बनेँ । कलेज जाँदा म गाउँ तथा वरपरका समाचार बनाएर लैजान्थेँ, गुरु मदन सरले त्यसलाई पुनर्लेखन गरी अझ राम्रो बनाइदिनुहुन्थ्यो । यस काममा हामीसँगै अध्ययन गर्ने विष्णु ढकालजीले पनि सहयोग गर्नुहुन्थ्यो । मैले यो पृष्ठभूमि यहाँ किन उल्लेख गरेको भनेँ गणेश सरले गोमेन्द्रको स्थापना नगर्नु भएको भए, त्यहाँ पत्रकारिता विषयको पढाइ नहुँदो हो त आज म पत्रकार बन्ने थिइनँ, म पत्रकार हुने थिइँन । म अरु नै पेशा, व्यवसाय, कृषक या वैदेशिक रोजगारतिर हुन्थेँ कि । आज मेरो परिचय, प्रतिष्ठा र पेशाको आधार गोमेन्द्र हो र गोमेन्द्र गणेश सरको कारणले । गोमेन्द्रमा पढ्दै गर्दा प्रशिक्षार्थी पत्रकारको रुपमा पूर्वाञ्चल दैनिकमा मेरा समचार छापिन्थे ।

केही महिनापछि नै पूर्वाञ्चलले विभिन्न क्षेत्रमा समाचारदाता आह्वान गरेको बेला खुल्ला प्रतिस्पर्धाबाट म छानिएँ । समाचारदाताबाट पूर्वाञ्चलमा शुरु भएको मेरो पत्रकारिता यात्रामा सहसम्पादक, कार्यकारी सम्पादक, सम्पादक हुँदै अहिले म पूर्वाञ्चल कै प्रधान सम्पादक छु । मलाई मेरो काम र पेशाप्रति गर्व छ । मलाई पत्रकार बनाउन गोमेन्द्र कलेज, गणेश सरहरुको योगदान भुल्न सक्दिनँ, म उत्तिकै सम्झिरहन्छु गुरु मदन सरलाई । रुपक सर जसले मदन सरको अनुपस्थितिमा हामीलाई पथप्रदर्शन गराउनुहुन्थ्यो । गोमेन्द्रमा पत्रकारिता पढेर पत्रकार बनेका मेरा साथीहरु राजु पाठक, विष्णु योङ्हाङ, मनोज तपश्वी लगायतलाई पनि स्मरण गर्दछु । त्यसबेला हामीले नेपाली भाषामा कलेजमा भित्तेपत्रिका पनि नियमित प्रकाशित गथ्र्यौँ । गोमेन्द्र पढ्दा मैले कक्षा ११ मा ऐच्छिक नेपाली विषयमा कलेजकै उत्कृष्ट अंक ल्याएर शिक्षाविद् दाताराम शर्मा र गणेश सरको बाहुलीबाट पुरस्कृत हुने अवसर पनि पाएको थिएँ ।

घरबाट दुई किलोमिटरभन्दा बढीको दुरी कहिले पैदल, कहिले साइकल हुँदै मुख्य राजमार्ग दुर्गापुरमा पुगिन्थ्यो । त्यँहाबाट सार्वजनिक बसमा बिर्तामोडको यात्रा । विद्यार्थी भनेपछि जुनसुकै बसले चढाउन नमान्ने त्यो बेला । बिर्तामोड चौकबाट एक किलोमिटर पैदल हिँडेपछि पुगिन्थ्यो गोमेन्द्र (गणेश सरको निवाससँगैको पुरानो भवन) । त्यति टाढा धाएर पढ्न सक्दैनस् भन्नुहुन्थ्यो घरमा, तर मन परेको विषय र इच्छाशक्तिकै कारण पार लगाइयो । गोमेन्द्रको गेटबाट भित्र छिर्ने बित्तिकै भवनको बाहिर सबैले देख्ने गरी ठूला अक्षरमा लेखिएको थियो एउटा संस्कृत श्लोक–

‘न चौर्य हार्यम् न राज हार्यम्ः न भ्रातृ भाज्यम् न च भारकारी ।
व्यये कृते वर्धते एवम् नित्यम्ः विद्या धनम् सर्व धनम् प्रधानम् ।।’

(अर्थात्, न चोरले चोर्न सक्छ न राजाले खोस्न सक्छ, न दाज्यूभाइलाई भागबण्डा गर्नुपर्छ न बोक्नलाई गरुंगो हुन्छ । जति खर्च गर्याे उति बढ्दै जान्छ, विद्यारूपी धन नै सबै धन भन्दा उत्तम हो ।)

यो श्लोकको अर्थ गणेश सर सबै विद्यार्थीलाई प्रायः सम्झाउँदै भन्नुहुन्थ्यो कि पढाइमा ध्यान देऊ । उक्त श्लोक र गणेश सरको भनाइले हामीलाई सधैँ प्रेरित गथ्र्यो । उहाँ भन्नुहुन्थ्यो, राम्रोसँग पढेउ भने सबै अवसरहरुले तिमीहरुलाई खोज्नेछ न कि तिमीहरुले अवसर खोज्नु परोस् । एक कुशल अभिभावकको भूमिकामा पनि उहाँ सधैँ अब्बल देखिइरहनु भयो । गोमेन्द्रबाट आज हजारौं विद्यार्थीले उच्च शिक्षा हासिल गरेका छन् । मुलुकका विभिन्न निकायमा रोजगारी, व्यवसाय सँगै विश्वका विभिन्न मुलुकमा पुगेका छन् गोमेन्द्रका विद्यार्थी ।

गणेश सर संस्थापक र प्रिन्सिपल मात्र होइन शिक्षक पनि हो । सामाजिक अध्ययन लगायतका विषय उहाँले नै अध्यापन गराउनुहुन्थ्यो । हामीलाई नियमित नोट लेखाउने, रोचक ढंगले उहाँले पढाउनुहुन्थ्यो । दुई वर्ष म उहाँको विद्यार्थी रहेँ गोमेन्द्रमा । उहाँका अनुभव, देश विदेश भ्रमणका रोचक कुरा, उदाहरण सुन्दासुन्दै घण्टी लागेको पत्तै नहुने । सामाजिक अध्ययन विषय आफैंमा पनि रोचक छ । हाम्रो भाषा, धर्म, संस्कृति, समाज, रहनसहन, दैनिकी सबै कुरा सहज र सरल ढंगले बुझाउँदै पढाउने क्षमता उहाँमा थियो । अरु विषयको कक्षामा नबसे पनि उहाँको कक्षामा प्रायः सबै विद्यार्थी उपस्थित हुन्थे । यो देख्दा उहाँ पनि उत्साहित बन्नुहुन्थ्यो । उहाँको स्वर अलिक कडा, शुरुमा निक्कै डर लाग्थ्यो बोल्न पनि । तर, उहाँ सबैलाई साथीको व्यवहार गर्दै शैक्षिक वातावरण निर्माणमा सधैँ सचेत देखिनुहुन्थ्यो । नयाँ विषयको अध्यापन गराउन आवश्यक पूर्व तयारी गरी त्यस उमेरमा पनि उहाँको जोश, जाँगर, उत्साह हरेक विद्यार्थीका लागि प्रेरणा थियो । विद्यालय नियमित नआउने, समयमा नपुग्ने, समय अगावै हिँड्ने, भाग्ने, हो–हल्ला गर्ने जस्ता विद्यार्थीको बानीले उहाँलाई दिक्क बनाउँथ्यो । अनि कहिलेकाँही व्यक्त गर्नुहुन्थ्यो ।

उहाँ हामीलाई जापानको समेत बार–बार उदाहरण दिनुहुन्थ्यो । अन्य देशको पनि । अमेरिकाको एटम बमका कारण ध्वस्त भएको जापानले शिक्षालाई प्राथमिकता दिई कुल बजेटको ६० प्रतिशतसम्म शिक्षामा लगाउँदा अहिलेको अवस्थामा आएको हो जापान । दक्षिण कोरिया पनि शिक्षाको लगानीकै कारण अहिलेको अवस्थामा आएको हो ।
सन् १९५७ मा टोनी ब्लेयर बेलायतको प्रधानमन्त्री हुनुअघि आफ्नो भावी सरकारको प्राथमिकताबारे भनेका थिए– ‘सुन्नुहोस्, मेरो सरकारका मुख्य तीन प्राथमिकता– पहिलो शिक्षा, दोस्रो शिक्षा र तेस्रो पनि शिक्षा नै हो ।’ प्रधानमन्त्री बनेपछि उनले शिक्षालाई उच्च प्राथमिकता दिएरै बेलायतलाई समृद्ध बनाएका थिए । भारतमा दिल्लीको केजरीवाल सरकारले पनि शिक्षालाई पहिलो प्राथमिकता दिई शिक्षामा लगानी वृद्धि गरी दिल्लीलाई विश्वकै उत्कृष्ट शहर बनाउँदैछ । तर, हाम्रो मुलुकमा शिक्षा अझै प्राथमिकतामा पर्न सकेको छैन । ‘यदि एक वर्षका निम्ति सोच्छौ भने धान रोप, दश वर्षका निम्ति सोच्छौ भने रुख रोप, सय वर्षका लागि सोच्छौ भने शिक्षामा लगानी गर’ –भन्ने कन्फ्युसियसको यही भनाइ चरितार्थ हुन्छ गणेश सरको काम, व्यवहार जीवनमा ।

जीवनको उर्जाशील समय सरकारी सेवा अन्तर्गत निजामति सेवामा ३२ वर्ष खर्चिएर पनि महाविद्यालयको स्थापनाको सोच राख्नु, आफ्नो ठूलो पूँजी लगानी गर्नु, त्यसैमा लागिरहनु, सफल हुनु, सपना साकार पार्नु सामान्य कुरा होइन । मुलुकको शिक्षामा सुधार नभई, मानिसको जीवनमा परिवर्तन नआइ समाज र मुलुक बन्न सक्दैन भन्ने पवित्र र दीर्घकालिन लक्ष्यका साथ गणेश सरले लिएको अठोटले गोमेन्द्र जन्मियो । शिक्षाप्रतिको उहाँको लगाव र दूरदृष्टिलाई उहाँका तीनै छोरा बुहारीले समयमै बुझ्नु मात्र भएन आज देश विदेशमा खनाल परिवारका अलग–अलग शिक्षालय स्थापना भई सञ्चालनमा छन् । गणेश सरले देखाएको बाटो पछ्याउदै तीनै छोरा अलग–अलग शिक्षालयको नेतृत्व गरिरहनु भएको छ ।

गोमेन्द्र कलेजलाई माइला छोरा रुपक र बुहारी सरुले नेतृत्व गर्नुभएको छ । उहाँहरु गोमेन्द्र स्थापनादेखि नै विभिन्न विषयमा अध्यापन पनि गराउनुहुन्थ्यो । जेठा छोरा दीपक अष्ट्रेलियामा कलेज चलाउनुहुन्छ । कान्छा छोरा–बुहारी उत्तम र गीता बिर्तामोडमै गोमेन्द्र बिर्तामोडल विद्यालय चलाउनुहुन्छ । जहाँ १२ कक्षासम्मको पठनपाठन हुन्छ । जीवनको उत्तराद्र्धमा हुनुहुन्छ गणेश सर । उहाँ एउटा इतिहास हो– जीवित इतिहास । उहाँबाट धेरै विषयको ज्ञान लिन सकिन्छ । पछिल्लो पुस्ताले उहाँबाट धेरै सिक्न सक्छ, सिक्नुपर्छ । बोली, इमानदारीता र सहनशीलता यी तीन गुणले मानिसलाई असल र सफल बनाउँछ । काममा निरन्तर लगाव नै सफलता हो– हरेक विद्यार्थीलाई यही भन्नुहुन्थ्यो उहाँ ।

मानिसको संस्कार घरबाटै शुरु हुन्छ । धनी होस् या गरीब, संस्कार राम्रो छ भने धेरै कुरा घरबाटै सिक्न सकिन्छ, सिकेको हुन्छ भन्ने मान्यता राख्ने गणेश सर पैसाको पछि होइन कामको पछि मान्छे दौडन सक्नुपर्छ अनि पैसा त्यसै पछि लागेर आइहाल्छ भन्ने कुरामा विश्वास राख्नुहुन्छ । मुलुक बनाउन हरेकले इमान्दार भएर आफ्नो कर्म गर्ने हो भने असम्भव केही छैन भन्नुहुन्छ उहाँ ।

भेट हुँदा मेरो पत्रकारिताप्रति एकदमै चासो र चिन्ता राख्नुहुन्छ उहाँ । म कार्यरत संस्था, घर–परिवारको हाल खबरदेखि भविश्यको योजना समेत सोध्नुहुन्छ । हरेक समयमा हौसला दिइरहनुहुन्छ । मलाई पत्रकारितामा अझ हौसला दिन, अझ सक्रिय हुन प्रेरित गर्न र योगदानको कदर गर्न आफ्ना पिताको स्मृतिमा स्थापित जयनारायण खनाल स्मृति पत्रकारिता पुरस्कारद्वारा केही वर्षअघि प्रदान गरियो । यसबाट पत्रकारिताप्रति अझ जिम्वेवार ढंगले अघि बढ्न ऊर्जा थपिएको महशुस गरेको छु । यो पुरस्कार गोमेन्द्र बिर्तामोडल स्कूलबाट वितरण हुँदै आएको छ । उक्त पुरस्कारलाई जयनारायण–हरिप्रिया खनाल स्मृति पत्रकारिता पुरस्कार बनाउने तयारी भएको नाति तथा गोमेन्द्र बिर्तामोडलका निर्देशक उत्तम खनालले जनाउनु भएको छ ।

म पत्रकार महासंघ झापाको अध्यक्षमा निर्वाचित भएपछि खुशी हुँदै बधाई ज्ञापन गर्नुभयो । पत्रकारको सामाजिक सुरक्षाका लागि दीर्घकालिन सोचका साथ पत्रकार महासंघ झापामा हामीले स्थापना गरेको पत्रकार सहारा उपचार कोषको अभियान मन पराएर आफ्नो ८२औं जन्मोत्सवमा गणेश सरले एक लाख ११ हजार एक सय एक रुपैयाँ समेत प्रदान गर्नुभयो । उहाँकी पत्नी बुध खनालसहित परिवारका अधिकांश सदस्यको उपस्थितिमा उक्त रकम पत्रकार महासंघलाई हस्तान्तरण गरेर अभियान सफल बनाउन थप हौसला दिनुभयो ।

यस पवित्र अभियानमा गर्नुभएको महत्वपूर्ण सहयोगका निम्ति झापाली सञ्चार क्षेत्र कै तर्फबाट धन्यवाद ज्ञापन गर्दछु । यी शब्द लेख्दै गर्दा महासंघको कोषलाई हामीले एक करोड ११ लाख ११ हजार एक सय ११ रुपैयाँ पुर्याउन सफल भएका छौं । उक्त घोषणा सँगै दाताहरुलाई सम्मान र संस्थापक समेत घोषणा गरिएको छ । आफ्ना विद्यार्थी जहाँ भए पनि उनीहरुले गरिरहेको काममा हौसला दिने, सहयोग गर्ने गणेश सर एक आदर्श गुरु हुनुहुन्छ ।

गोमेन्द्र पढ्न पाएको, गणेश सरको विद्यार्थी हुन पाएकोमा म सधै गर्व गर्छु । महाविद्यालयका संस्थापक, प्रिन्सिपल, शिक्षक, अभिभावक, प्रथप्रदर्शक एक आदर्श गुरुका रुपमा आदरणीय गणेश सर सधै सम्मानित हुनुहुन्छ । उहाँको व्यक्तित्व प्रेरक र अनुकरणीय छन् । उहाँको सु–स्वास्थ्य, दीर्घ र सक्रिय जीवनका लागि हार्दिक शुभकामनासहित नमन । (गणेशप्रसाद खनाल आत्मवृत्तान्तबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here