विपन्न महिलालाई उन्नत जातका बाख्रा वितरण

0
1

गोदावरी (कैलाली),

जिल्लामा महिला कृषि सहकारी समूहमा आबद्ध छ सय ७७ महिलालाई उन्नत जातका बाख्रा वितरण गरिएको छ ।

कृषि सहकारी संस्थामा आबद्ध महिलालाई शतप्रतिशत अनुदानमा उन्नत जातका बाख्रा वितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । जिल्लामा सञ्चालित २५ कृषि सहकारी संस्थामा आबद्ध छ सय ७७ विपन्न महिलालाई एक/एकका दरले बाख्रा वितरण गरिएको हो ।

विपन्न लक्षित वर्ग कार्यक्रमअन्तर्गत दलित, एकल महिला, मुक्तकम्लरी, मुक्तकमैया, हलियाको जीविकोपार्जनमा सुधार गर्न आर्थिक वर्ष २०८०/८१ मा छ सय ४८ उन्नत जातका बाख्रा वितरण गरिएको विज्ञ केन्द्रका सूचना अधिकारी कविराज कठायतले बताउनुभयो ।

कृषि सहकारीमा आबद्ध विपन्न महिलालाई छनोट गरी शतप्रतिशत अनुदानमा उन्नत जातका बाख्रा वितरण गरिएको उहाँले जानकारी दिनुभयो । उन्नत जातका बाख्रा वितरणले विपन्न वर्गको जीविकोपार्जनमा सुधार आउनुका साथै व्यावसायिक उत्पादनमा सहयोग पुग्ने सूचना अधिकारी कठायतले बताउनुभयो ।

विपन्न महिलालाई व्यावसायिक बाख्रापालनतर्फ आकर्षित गर्न बाख्रासँगै औषधि, तालिम तथा प्राविधिक सहयोग उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय जिल्लामा व्यावसायिक रुपमा फर्म दर्ता गरी बाख्रापालनतर्फ किसानको आकर्षण बढ्दै जान थालेको जनाइएको छ ।

सरकारले पछिल्ला केही वर्षयता व्यावसायिक रुपमा बाख्रापालन गर्ने किसानलाई अनुदान दिने कार्यक्रम ल्याएपछि जिल्लामा किसानको आकर्षण बढ्दै जाँदा बर्सेनि मासु उत्पादनमा समेत वृद्धि हुँदै आएको केन्द्रका सूचना अधिकारी कठायतले जानकारी दिनुभयो ।

आव २०८०/८१ मा रु ४० लाख बजेट विनियोजन गरिएको जनाउँदै केन्द्रले जिल्ला दररेट अनुसार प्रति किलो खरी जातका बाख्रा तीन सय ८५, बयर जातको प्रति किलो पाँच सय ५१ र बयर जातका बोका प्रति किलो आठ सय ८२ का दरले खरिद गरी वितरण गरिएको जनाएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढीको तथ्याङ्कअनुसार कैलालीमा आव २०७७÷७८ दुई सय पाँच, २०७८÷७९ मा सात सय ५५ र २०७९÷८० मा एक हजार तीन सय दुई बाख्राका फर्म दर्ता भई व्यावसायिक रुपमा बाख्रापालन गरिँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here