पर्यटकीय गाउँ भुकताङ्ले जोड्ने पातीचौर–लप्सीबोट सडक अवरुद्ध

0
2

पर्वत,

प्रसिद्ध पर्यटकीय गाउँ भुकताङ्ले जोड्ने सडक विगत एक महिनाअघिदेखि अवरुद्ध बनेको छ ।

जिल्लाको मोदी गाउँपालिकाका देउपुर, देउराली र भुकताङ्ले गरी तीन वडालाई मध्यपहाडी लोकमार्गसँगसंग जोड्ने पातीचौर– लप्सीबोट सडक अझै खुल्न नसकेको हो । गत असार २६ गतेको भिषण वर्षाका कारण सडक खण्डअन्तर्गत मोदीको वडा नं २ कोरूङ्गामा गएको ठूलो पहिरो पन्छ्याउन नसक्दा उक्त क्षेत्रका बासिन्दा सास्ती खेप्न बाध्य भएका छन् ।

झण्डै दुई किलोमिटर पक्की सडक पहिरोले पुरिनुका साथै संरचनासमेत भत्किएको स्थानीय भूमिराज शर्माले जानकारी दिनुभयो । यो सडक खण्डअन्तर्गत जरुवा, पानी खोल्सा, कोरूङ्गा लगायतका स्थान पहिरोले पुरिएको छन् भने कतै बाढीले सडक नै बगाएको उहाँले बताउनुभयो ।

एक महिनाभन्दा बढी समय भइसक्दा पनि सो सडक खुलाउने कुनै प्रयास हुन सकेको छैन । सडक सञ्चालनका लागि गाउँपालिकाले समेत बेवास्ता गरेको स्थानीयको गुनासो छ । लामो समय सडक अवरुद्ध हुँदा यात्रुलाई निकै सास्ती हुनुका साथै अत्यावश्यक सामान ढुवानीमा समस्या भएको वडा नं १ भुकताङ्लेका वडाध्यक्ष टेकबहादुर गुरुङले बताउनुभयो ।

सडककै कारण भुकताङ्ले र लप्सीवोटमा सञ्चालित दुई दर्जन बढी घरबास (होमस्टे)समेत सुनसान बनेका छन् । यहाँबाट हम्पाल, मोहोरेडाँडा, नागी, लगायतका पर्यटकीय क्षेत्रमा जाने पर्यटकलाई समेत समस्या भएको उहाँको भनाइ छ ।

उक्त क्षेत्रमा सञ्चालन हुने दर्जनौं सवारी साधन महिनादिनदेखि कोरुङ्गामा थन्किएका छन् । त्यहाँबाट झण्डै दुई किलोमिटर पैदल हिँड्नुपर्ने बाध्यता स्थानीयको छ । सडक अवरुद्ध हुँदा सवारी साधनको अभावमा बिरामीलाई समयमै स्वास्थ्य संस्थामा पु¥याउनसमेत नसकिएको स्थानीय सन्तोष तिमिल्सिनाले बताउनुभयो । उहाँका अनुसार गाउँमा एम्बुलेन्स जाने अवस्था छैन । सिकिस्त बिरामी, गर्भवती र सुत्केरीलाई डोकोमा बोकेर अस्पताल लैजानुपरेको तिमिल्सिनाले बताउनुभयो ।

दैनिक कार्यालय तथा विद्यालय जाने कर्मचारी र शिक्षकले पनि उस्तै सास्ती व्यहोरेका छन् । आफ्ना सवारी साधन पातिचौरमा थन्क्याएर उकालो हिँड्नुपरेको उहाँहरुको गुनासो छ । पहिरोले क्षतिग्रस्त भएको सडक तत्काल सञ्चालन गर्न कठिन भएको वडा नं २ का वडाध्यक्ष बेलबहादुर कार्कीले बताउनुभयो ।

अध्यक्ष कार्कीका अनुसार वैकल्पिक मार्गको रूपमा बेतेनी–गौडा–राहाले सडक स्तरोन्नति गरी सञ्चालनमा ल्याउने प्रयास थालिएको छ । उक्त वैकल्पिक सडक निकै चिप्लो र हिलो भएका कारण सवारी साधन सञ्चालनमा समस्या आउने सवारी चालकहरुले बताएका छन् ।

“वैकल्पिक सडकबाट सवारी साधन लिएर आउँछन्, तर सडक पार गर्न निकै कठिन हुने गरेको छ, कति त फर्किएर जान्छन्”, स्थानीय मिठु चापागाईँले भन्नुभयो । स्थानीय राजेश गिरीले करिब डेढ किलोमिटरको सडक दुई चार ठाउँमा सामान्य मर्मत गरी नियमित गाडी चल्नसक्ने अवस्था हुँदाहुँदै पनि बेवास्ता गरिएको गुनासो गर्नुभयो ।

वैकल्पिक मार्गलाई पक्की सडकका रूपमा स्तरोन्नती गर्नसके बर्खाको समयमा यात्रुले सास्ती झेल्न नपर्ने उहाँले बताउनुभयो । थोरै लगानीमा धेरै काम दिने छोटो दुरीको सडक निर्माणमा स्थानीय, प्रदेश र केन्द्र सरकारले लगानी गर्नुपर्ने उहाँहरुको माग छ ।

कमजोर भूधरातलका कारण उक्त सडकमा वर्षेनी समस्या आउने गरेको गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले बताउनुभयो । अवरुद्ध सडक खुलाउनका लागि तत्काल प्रयास गरिने उहाँको भनाइ छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत विगत पाँच वर्षअघि कालोपत्र गरिएको उक्त सडक खण्ड वर्षेनी आउने पहिरोका कारण जीर्ण बनेको छ । उक्त कार्यालयसँगको परामर्शमा सडक मर्मत थालिने अध्यक्ष शर्माले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here