व्यावसायिक लोठसल्ला खेतीमा भोजपुरका किसान आकर्षित

0
2

भोजपुर,

भोजपुरका किसान व्यावसायिक लोठसल्ला खेतीमा जुटेका छन् । मनग्य आम्दानी हुने भएपछि किसान औषधीजन्य बहुउपयोगी जडीबुटी लोठसल्लाको खेतीमा जुटेका हुन् । जिल्लाको लेकाली भेगमा यसको व्यावसायिक खेती हुँदै आएको छ ।

यहाँको आमचोक गाउँपालिका २ मा सात कृषक मिलेर व्यावसायिक रुपमा लोठसल्लाको खेती थालेका छन् । बसाइसराइका कारण बाँझिदै गएको जमिनको सदुपयोग गर्ने लक्ष्यले करिव तीन सय रोपनी जमिनमा लोठसल्लाको व्यावसायिक खेती विस्तार गरेको कृषक सन्तोष चौलागाँइले बताउनुभयो । हालसम्म १८ हजार विरुवा रोप्ने काम सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । भावी दिनमा यसलाई थप विस्तार गर्ने उद्धेश्य रहेको उहाँको भनाइ छ ।

“सात जना कृषक मिलेर व्यावसायिक रुपमा तीन सय रोपनी जमिनमा लोठसल्ला खेती गरिरहेका छौँ”उहाँले भन्नुभयो,“हालसम्म १८ हजार विरुवा विस्तार गरिसकेका छौँ । शुरुमा आफ्नै लगानीमा थालेको काममा राज्यको तर्फबाट पनि केहि सहयोग पाउँदा खुसी लागेको छ ।” किसानलाई जडीबुटी पकेट क्षेत्र निर्धारण गरेर आवश्यक सहयोग गर्दै आएको डिभिजन वन कार्यालयका प्रमुख वीरेन्द्र शाहले बताउनुभयो । भोजपुरमा लोठसल्ला, सतुवा, चिराईतोलगायत जडीबुटीको राम्रो सम्भावना रहेकोले यसको विस्तारमा जोड दिएको उहाँको भनाइ छ ।“भोजपुरमा जडीबुटीको निकै राम्रो सम्भावाना छ” उहाँले भन्नुभयो,“यहाँको सम्भावनाको पहिचान गरेर लोडसल्ला, सतुवा,चिराईतोको व्यावसायिक खेतीमा प्रोत्साहन गर्दै आएका छौँ ।”

आमचोक क्षेत्रमा किसानहरुले उहाहरणीय रुपमा लोठसल्लाको खेती गरिरहेको कार्यालयको भनाइ छ । किसानले स्वतस्फूर्त थालेको काममा केहि प्रोत्साहन गर्ने लक्ष्यले गत आर्थिक वर्षमा विरुवा खरिदको लागि रु.चार लाख पाँच हजार सहयोग गरेको वन कार्यालयका अधिकृत कपिलदेव अधिकारीले जानकारी दिनुभयो । यहाँका किसानले थालेको लोठसल्ला खेती नमूनायोग्य रहेको उहाँको भनाइ छ । विशेष गरेर जिल्लामा भूगोल अनुसारको जडीबुटी खेतीमा जोड दिइएको कार्यालयको भनाइ छ ।

जैविक विविधतासँगै क्यान्सरजस्तो घातक रोगको औषधिको कच्चा पदार्थका रूपमा यसको पात तथा डाँठको प्रयोग हुने विज्ञहरुको भनाइ छ । यसको पातलाई चियाको रुपमासमेत प्रयोग गर्न सकिने वन कार्यालयको जनाएको छ । लोठसल्ला खेतीको लागि भोजपुरको आमचोक गाउँपालिका, टेम्केमैयुङ १ तिम्मा, वडा नं ५ खावा, वडा नं ९ लेखर्क तथा जिल्लाको माथिल्लो क्षेत्रमा बढी सम्भावना रहेको डिभिजन वन कार्यालयका सहायक बन अधिकृत खुद्रुस मियाले बताउनुभयो । लोठसल्ला खेतीको लागि समुन्द्रि सतहबाट दुई हजारदेखी तीन हजार पाँच सय मिटरसम्मको उचाइ उपयुक्त हुने उहाँको भनाइ छ ।

लोठसल्ला बहुउपयोगी औषधीजन्य गुण भएको वनस्पति रहेकोले यसको खेती विस्तारमा जोड दिन आवश्यक रहेको जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङले बताउनुभयो । किसानले जिल्लामा लोठसल्ला खेतीको लागि गरिरहेको काम नमूनायोग्य रहेको उहाँको भनाइ छ । यस्ता खालका कार्यक्रमले बाँझो तथा खाली जमिनको सदुपयोगसँगै किसानलाई आयआर्जनमा जोड्न टेवा पुग्ने प्रमुख थुलुङले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here