ताराखोले आलु उत्पादनमा ह्रास

0
2

बलेवा (बागलुङ),

बागलुङको वर्षे आलु उत्पादन अघिल्लो वर्षको तुलनामा पाँच प्रतिशतले घटेको छ ।

गत वर्षको कात्तिकदेखि वैशाखसम्मको खडेरीले वर्षे आलु उत्पादन पाँच प्रतिशत घटेको कृषि ज्ञान केन्द्र बागलुङका बागवानी विकास अधिकृत कुमार पुनले बताउनुभयो । विशेषगरी ताराखोला र ढोरपाटनमा लगाइएको आलुमा कमी आएको हो । बागलुङको ताराखोला र ढोरपाटनमा हिउँदमा लगाएर बर्खामा आलु खन्ने गरिन्छ । कात्तिकमा लगाएर फागुन–चैतमा खन्ने आलुमा भने खासै असर परेको छैन ।

ताराखोले आलुको स्वाद र तत्कालै नबिग्रने हुँदा धेरैको रोजाइमा पर्ने गरेको अधिकृत पुन बताउनुहुन्छ । गाउँपालिकाका कृषि शाखा प्रमुख सञ्जीव थापाका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ताराखोलाभित्र तीन हजार दुई सय ९७ मेट्रिक टन आलु फलेको छ । कुल एक सय ८४ हेक्टरमा किसानले आलु लगाएको शाखाको तथ्याङ्क छ । रासायनिक मल प्रयोग नगरेकाले उपभोक्ताले पनि ताराखोलाको आलु भनेपछि खोजीखोजी खाने गरेका हुन् । खडेरीकै कारण उत्पादन भने कमी भएको थापाले बताउनुभयो ।

ताराखोला–२ अर्गलका किसान अमृत घर्तीले आलुलाई उपयुक्त वातावरण भएकाले मिठो भए पनि यस वर्ष उत्पादनमा समस्या आएको बताउनुभयो । विकासे आलु प्रयोग नगर्ने, रासायनिक मल नहाल्ने र जैविक मल प्रयोग गर्दा आलुको स्वाद मिठो भएको घर्तीको अनुभव छ । यसका कारण किसानले आलुको बजार खोज्नै नपरेको हो । तर खडेरीलगायत समस्यामा राज्यले साथ दिनुपर्ने उहाँले बताउनुभयो ।

घर्तीका छिमेकीले पनि आलु फलाएर जिप र ट्रयाक्टरमा बजार पठाउने गरेका छन् । बागलुङ बजारका ठूला र होलसेल व्यापारीले ताराखोलाको आलु भनेपछि गाडी पठाएर ल्याउने गर्छन् । कृषि ज्ञान केन्द्रले पनि ताराखोला, काठेखोला र ढोरपाटन क्षेत्र आलुका लागि विशेष क्षेत्र मानेर उत्पादनमा सहयोग गर्दै आएको छ । तर खडेरी, अतिवृष्टि र असिनाको क्षतिमा न्यूनीकरण गर्न नसकेको हो । केन्द्रको तथ्याङ्कमा पनि हरेक वर्ष बागलुङमा ४० हजार मेट्रिक टनसम्म आलु उत्पादन हुने गरेको छ ।

बागलुङमा हिउँदमा २३ हजार नौ सय मेट्रिक टन र बर्खामा ११ हजार छ सय ९४ मेट्रिक टन गरी ३५ हजार मेट्रिक टन आलु बजारमा आउने गरेको हो । त्यसबाहेक घरघरमा खाने र गाउँमै बिक्री हुने आलुको तथ्याङ्क छैन । यो वर्ष खडेरी धेरै परेको र वैशाखमा असिना पर्दा आलुमा समस्या आउँदा उत्पादन घटेकाले आयात बढ्ने निश्चित छ ।

जिल्लामा उत्पादित आलुले वर्षको नौ महिनासम्म थेग्ने गरे पनि तीन महिनाका लागि आयात गर्नुपर्छ । त्यसका लागि भण्डारण क्षमता बढाउनुपर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख नारायण पौडेलले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here