लाखे: नेवार संस्कृति तथा परम्परा

0
2

नेवार समुदायको संस्कृति र पहिचान ‘लाखे’ हरेक वर्ष आयोजना गरिन्छ । हर्षोल्लास र उत्सुकताका साथ मुलुकका विभिन्न भाग तथा शहरमा छरिएर रहेका नेवार समुदायले आफ्नो संस्कृतिलाई बचाई राख्न बर्षौंदेखि यसलाई निरन्तरता दिइरहेका छन् । नेवार समुदायले आफू बसोबास गरेको स्थान तथा टोल–टोलमा लाखे नाच प्रदर्शन गर्दा सबै जातजाति, समुदाय, वर्ग र उमेर समूहका मानिस उत्सुकतापूर्वक हेर्ने गर्दछन् । नेवारहरूको मुल थलो काठमाडौं उपत्यका भए पनि बिस्तारै उपत्यका बाहिर बसोबास गएका नेवारहरूले आफूहरु जता–जता बसोबास गए उतै आफूसँगै आफ्ना धर्म, संस्कार र रीतिरिवाजहरू लिएर गए ।

उनीहरूले जहाँ आफ्नो बसोबास शुरु गरे त्यहीबाट निरन्तरता दिन थाले । आफ्नो भाषा, संस्कार, संस्कृति संरक्षण र सम्बद्र्धनमा पछिल्लो समय नेवार समुदाय अगुवादेखि युवा पुस्ताले ठूलो मिहिनेत गरिरहेका छन् । आफू बसोबास गरेको क्षेत्र, ठाउँबाट, चाड पर्वहरू, रीतिरिवाजहरू, खाना, लाखे नाच, गाईजात्रा लगायतका विविध कार्यक्रमहरु आयोजना गरेर नयाँ पुस्तालाई संस्कार सिकाइरहेका छन् । मौलिक, परम्परा, धार्मिक तथा सांस्कृतिक महŒव बोकेको यो नाचको चलनचल्तीमा कहिलेदेखि र कसरी शुरुवात भयो ?

पहिलो किंवदन्ती अनुसार

सिमरौनगढबाट तलेजु (कुमारी) काठमाडौं भित्रिँदा कुमारीको अंगरक्षक लाखे पनि आएका थिए । वि.सं. ११५४ तिर राजा नान्यदेवले सिमरौनगढ निर्माण गरेको प्रसंग भाषा वंशावलीहरूमा छ । रावणको राज्य लंकाबाट सिमरौनगढ पुगेकी एक राक्षसनी त्यहाँका कुनै एक भारदारसँग प्रेममा परी नान्यदेवको दरबारमा परिचारिका भई काम गर्दै थिइन् । एकदिन ती दुई प्रेमीको कुराकानी भयो– ‘मलाई लंकादेखि यहाँको दरबारसम्म तान्नु तिम्रो मायाले गर्दा हो । म राक्षसनी हुँ, तर खराबी गर्ने चाहिँ होइन ।’ भारदार प्रेमीले भन्छन्– ‘उसो भए हाम्रो महाराजको यस वनलाई एउटा सुन्दर नगर बनाउने योजना छ । त्यसमा हामीले सहयोग गर्न सक्छौँ । कुरा त ठीक हो, तर मान्छेहरूले हामी लाखेहरूलाई विश्वास गर्दैनन् नि । हामीलाई यो नगर बनाउने जिम्मा दिए एकै रातमा तयार गर्न सक्छौँ ।’

‘त्यसका लागि के गर्नुपर्ला त ?’ –भारदारले राक्षसनीलाई जिज्ञासा राखे । राक्षसनीले भनिन्– ‘रातको समयमा मात्र काम गर्छौं, त्यस समयमा हामीलाई कसैले हेर्नु हँुदैन ।’ भारदारले यो कुरा राजामा बिन्ती चढाए । राजाले उत्सुकता साथ नगर बनाउन अनुमति दिए । सोही अनुसार, भारदारका प्रेमिका राक्षसनीले लंकाबाट लाखे बोलाई एकै रातमा ‘सिमरौनगढ’ नगर बनाइदिइन् । सिमरौनगढबाट तलेजु भवानी पनि रहेकाले लाखेहरू नगर सुरक्षाका लागि त्यहीँ बसे । समय र परिस्थितिवश तलेजुलाई नेपाल (हाल काठमाडौं) भित्र्याएपछि त्यसको सुरक्षासँगै लाखे पनि नेपाल आएका थिए । कुमारी तलेजुकी प्रतीक हुन् । इन्द्रजात्रामा कुमारीको जात्रा हुने भएकाले उसका सुरक्षाका लागि लाखे पनि सँगै नचाइने गरिएको किंवदन्ती रहेको छ । वनलाई एउटा सुन्दर नगर बनाउने महाराजको संकल्प भई लाखे पनि उपत्यकामा भित्रिएको इतिहासमा उल्लेख भएको पाइन्छ ।

दोस्रो किंवदन्ती अनुसार

राजा गुणकामदेवले इन्द्रजात्रा शुरु गरे । त्यसै बेलादेखि विभिन्न जात्रा, नाच लगायत लाखेनाच पनि चलाए । उनैका पालामा नेपाल उपत्यकामा पानी नपरी हाहाकार भयो । राजाले देशका तान्त्रिकहरूसँग पानी नपर्नाको कारण सोधे । तान्त्रिकहरूले राजालाई तलेजु देवीलाई नेपालमा ल्याई कुनै प्राणीको भोग दिएमा पानी पर्ने सल्लाह दिए । तर, राजाले सुनेका थिए– ‘तलेजुलाई लाखेलसीं (राक्षसीहरू)ले सुरक्षा गरी राखेका छन् । ल्याउन सजिलो छैन । मानिस त जानै सकिँदैन । जाने जति त्यहीँ मारिन्छ ।’ त्यसैले राजाले कुनै जुक्ति लगाएर तलेजुलाई नेपाल ल्याउन तान्त्रिकहरूलाई अह्राए । नेपाली तान्त्रिकहरू तलेजु देवीलाई नेपाल ल्याउन लाखेहरूको डरलाग्दो बस्तीमा पुगे । लाखेलसींहरू मस्त निदाएको मौका पारी आ–आफ्ना जिउमा तोरण राखी तन्त्र शक्ति धारण गरी तलेजु भवानी भएतिर पुगे ।

तान्त्रिकहरूले नेपालमा प्राकृतिक प्रकोप परेको र तलेजुको उपस्थिति भएमा यो समस्या तुरुन्तै हट्ने भनी बिन्ती गरी विधिवत् पूजा गरे । त्यहाँबाट तलेजुको कलश बोकेर नेपाल फर्के । यो कुरा थाहा पाई लाखेहरू पनि पछि–पछि नेपालको सिमानासम्म आइपुगे । तान्त्रिकहरूले उनीहरूलाई अलमलाउन विभिन्न जनावरहरू बाटोमा देखा पारिदिए । लाखेहरू खानाको बन्दोबस्त भएकाले नेपालको सिमानामा नै बस्न थाले । तलेजु नेपालमा पुग्नासाथ पानीको समस्या सहजै हट्यो । राजा–प्रजा धेरै खुशी भए र तलेजुलाई खुब मान्न थाले ।

एकदिन तलेजुले सपनामा राजालाई भने– ‘मेरो काम सकियो । अब म फर्कन्छु । तर, मेरा सहयोगी लाखेहरू नेपालको सिमानामा अलपत्र भएर बसेका छन् । उनीहरूलाई नेपालमै राखे नेपालको सहयोग गर्नेछन् ।’ सपनामा भने अनुसार नै तलेजुले लाखेलाई पनि नेपालमा जनमानिसबीचमा घुलमिल गराउन दिए । लाखेहरू पनि नेपालीबीच मिलेर आवश्यक अनुसार सहयोग गर्न थाले । आफ्नो नाचगान पनि देखाई नेपालीहरूको मन जित्न सफल भए । यसै किंवदन्तीको आधारमा नेपालमा लाखेनाच नचाइँदै आइरहेको विश्वास गरिन्छ ।

तेस्रो किंवदन्ती अनुसार

काठमाडौंमा एक ज्यापु युवती थिइन् । उनी आमाबुवाका साथ खेती जाने गर्थिन् । बाटोमा एक लाखे उक्त ज्यापु युवतीको सौन्दर्यबाट मोहित भए । उनीलाई हेर्न शहरभित्रै लुकिछुपी आउन थाले । लाखे ज्यापुको रूपमा खेतमा आई सहयोग गर्ने र उक्त ज्यापु युवतीसित नजिकिन थाले । उनीहरू बीच माया बढ्न थाल्यो । त्यसपछि त लाखे लुकिछिपी ज्यापु युवतीको घरमा सुत्न आउन थाल्यो । छिमेकीले चाल पाई चियो गर्दा मानिसभन्दा फरकको रूप देखे । छिमेकीहरूले राजा कहाँ सुटुक्क खबर गरे ।

राजाले सैनिक लगाएर लाखेलाई समाते । राजा कहाँ पुगेका लाखेले आफू एक ज्यापु युवतीसितको अघात प्रेममा रहेकाले उसलाई उसैको नजिक राखिदिए, मानवहरूको सहयोगी बनि बस्ने बिन्ती चढाए । राजाले पनि उनको कुरामा विश्वास गरी उनको इच्छा अनुरुप काम गर्न छुट दिए । लाखे खुशीले नाच्न थाले । उसको नाचको आकर्षणले उपत्यकाका नेवारहरू मोहित भए । लाखे नाच्न थालेदेखि उपत्यकामा भूतप्रेतको डर हट्न थाल्यो । त्यसैले उनी लाखे भए पनि दैविक शक्ति भएको मानेर पूजा गर्न थाले र शान्तभैरव मान्न थाले । प्रत्येक वर्षको इन्द्रजात्रामा काठमाडौंको टोल–टोलमा लाखे नचाउन थालियो ।

रक्षक र देवताका रूपमा पूजा गर्ने चलन

लाखेलाई रोगमुक्त गराइदिन ठाउँ–ठाउँको रक्षकका रूपमा पनि लिने गरेको पाइन्छ । एकातिर विघ्न गर्ने र अर्कोतिर सम्पन्नताको रक्षकको रूपमा लिँदै आएको छ । लाखेका राम्रा–नराम्रा दुईवटै गुणलाई जनताले नराम्रोलाई छोडी राम्रो पक्षलाई अनुशरण गर्ने र लाखेलाई देवताका रूपमा पनि पूजा गरी नचाउने परम्परा छ ।
मुख्यतयाः दुई प्रकारका लाखे हुन्छन् :

१) मजिपात लाखे

मजिपात लाखे काठमाडौं उपत्यकामा विशेष पर्वमा नचाउने गरिन्छ । विषेशगरी इन्द्रजात्राको बेला नचाउने लाखेलाई मजिपात भन्ने चलन छ । आश्विन चतुर्दशीदेखि आठ दिनसम्म मनाइने इन्द्रजात्रामा कुमारीको रथजात्रा र आकाश भैरव (सव भक्कु), पुलुकिसी, देवी नाच (दीप्याखँ), मजिपा लाखे र महाकाली नाचको विशेष प्रदर्शनी हुन्छ । काठमाडौंमा यी नाच तान्त्रिक विधि–विधानमा आधारित सांस्कृतिक अनुष्ठान अनुसार निश्चित विधि अनुसार गरिन्छ ।

२) गुणिला लाखे

काठमाडौं उपत्यका बाहिरी जिल्लाहरूमा नेवार समुदायको बाहुल्यता तथा बसोबास रहेको शहरहरूमा नचाइने लाखेलाई गुणिला भनिन्छ । यो जुनसुकै समयमा नचाउन सकिन्छ । यसलाई नचाउन कुनै निश्चित तान्त्रिक विधिविधान आवश्यकता पर्दैन । र, जुनसुकै सम्प्रदायको मानिसहरू सहभागी बन्न सक्दछन् । यद्यपि उपत्यकाका बाहिरी जिल्लाहरूमा गठेमंगल या त नागपञ्चमीका दिनदेखि भिमसेन मन्दिरमा पूजाआजा गरी शुभारम्भ गरिएको लाखे कृष्ण जन्माष्टमीको दिन मध्य रात विधिवत् विर्सजन गरिन्छ भने कतै–कतै ठाउँ अनुसार फरक पनि हुन सक्छ ।

मनोरञ्जन तथा बन्धुत्वको भावनामा अभिवृद्धि

‘लाखे’को धार्मिक र सांस्कृतिक आफ्नै मूल्य–मान्यता र महŒव छ । यसको शुरुवात इतिहास र किंवदन्तीले जे–जस्तो बताए पनि समग्र समाजमा यसले मानिसलाई मनोरञ्जन प्रदान गर्दछ । नेवार समुदायको अग्रजहरू धान रोपी सकेर फुर्सदको समयमा लाखे नाच देखाएर मानिसलाई मनोरञ्जन प्रदान गर्नु यसको मुख्य उद्देश्य रहेको बताउँछन् । टोल–टोलमा प्रदर्शन भएको लाखे हेरेर सबै उमेर समूहका बालक, युवा, वृद्धा मानिसहरू रमाइलो मान्छन् ।

त्यस्तै विभिन्न जातजातिका बसोबास रहेको साझा फुलबारी हाम्रो मुलुक यहाँ सबै जातजातिका आ–आफ्नै मूल्य–मान्यता, भाषा, भेषभूषा, धार्मिक, सांस्कृतिक संस्कारहरू र खानपान छन् । सबैलाई आफ्नो संस्कार, संस्कृतिप्रति प्रेम र सम्मान छ । एकले अर्कोको धर्म र संस्कारको सम्मान गर्दै सहयोगी बनेर सद्भाव र सम्मानसँगै बन्धुत्वको भावना कायम राखेर अघि बढनुछ । हरेक वर्ष नेवार समुदायले आयोजना गर्ने यो सांस्कृतिक पर्व आयोजना तथा सम्पन्न गर्न हाम्रा वरपरका अन्य समुदायबाट महŒवपूर्ण र सहयोगी भूमिका रहन्छ ।

नेवार मात्र होइन पछिल्लो समय अन्य समुदायका मानिसहरु लाखे नाचमा सहभागी बन्न रूची राख्छन् । यस पर्वले मनोरञ्जनसँगै समाजमा सामाजिक सद्भाव, बन्धुत्वको भावना र भाइचारा अभिवृद्धि गर्न सहयोगी भूमिका खेलेको छ । त्यस्तै चाडपर्वले साथीभाइबीचमा भेटघाट गराउँछ, विचार आदान–प्रदान हुन्छ, भेटघाटले सामिप्यता र आत्मियता बढाउँछ । सांस्कृतिक, ऐतिहासिक लाखे नाचले अन्ततः आपसी मेलमिलाप र पारस्परिक सरसहयोग भावना अभिवृद्धि गर्न सघाउ पु¥याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here