तीज संस्कृति कि विकृति ?

0
3

नेपालमा मनाइने ठूला पर्व मध्ये हरितालिका तीज पनि एउटा हो । यो चाड भाद्रशुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान, मनोरञ्जन र महिलामैत्री वातावरणमा मनाइने गरिन्छ । यो पर्वमा महिलाहरू आफूले भने जस्तै श्रीमान प्राप्ति तथा आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायुको कामना गर्दै व्रत बस्ने गरिन्छ ।

यद्यपि समयसँगै संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ । बढ्दो आधुनिकता सँगै बढी रहेको अश्लिलताले तीजको परिभाषा नै परिवर्तित गरेको छ । परम्परागत र शालिनतापूर्वक पारस्पारिक सद्भाव फैलिने गरी मनाइनुपर्ने यस्ता पर्वहरु देखासिकी र छाडा चरित्रले मनाउन थालिएको छ । सुन्दा असामान्य लागे पनि सत्य यही नै हो । पहिलेका तीजमा पुराना तथा मौलिकता एवम् पीडादायी मर्मस्पर्शी गीतका भाषा सुनिन्थे । चेलीमाथि हुने अन्याय, अत्याचार, विकृति, विसङ्गती, हेला, विभेदपूर्ण व्यवहारलाई गीत मार्फत माइतीसामु पीडा पोख्ने गर्थे तर आजकाल विरहका गीत कम अश्लिल गीत धेरै सुन्न पाइन्छ ।

अझ कुनै–कुनै गीत त परिवारका बीचमा बसेर सुन्न पनि नसकिने हुन्छन् । महिला मात्र सामेल भएर मनाइने तीजका गीत पुरुष सामेल नभई पूरा हुनै छाडेका छन् । माइतीघरमा मनाइने तीज आजकाल विभिन्न पार्टीप्यालेस, संघ–संस्थामा एवम् राजनीति दलका नेताहरुले आर्थिक सहयोग गरेर भड्किलो रुपमा मनाइएको पाइन्छ । अचेल चेलीलाई माइत जानुभन्दा संघ–संस्थाको तीजमै धेरै मन लाग्ने र रमाइलो हुने गरेको पाइन्छ ।

समूहमा भेला भएर मनाउन थालिएको यो पर्वमा रमाइलो गर्नेभन्दा पनि गहना कपडा प्रदर्शनी गर्ने होड चलेको छ । जसका कारण विपन्न परिवारका महिलाहरु येस्ता कार्यक्रममा सामेल हुन चाहँदैनन् । यस्तै देखाउने र देखिने संस्कारको विकासका कारण धेरै घरमा यहीँ विषयलाई लिएर मतभेद समेत हुने गरेको पाइन्छ । हुने खानेहरुले देखाउने तडकभडकले गर्दा हुँदा खाने परिवारलाई धेरै गाह्रो हुन थालेको छ । यस्ता गतिविधिका कारणले धेरै मानिसलाई अचेल चाड पर्व हर्ष नभई बोझ बन्न पुगेको छ ।

आजभोलि तीज मनाउन भनी सरकारी तवरबाट नै पैसा छुट्याउने गरेको पाइन्छ । यसरी छुट्याएको पैसामा तीज मनाइरहँदा विपन्न परिवारका महिला जो दिनरात मजदुरी नगरी गुजारा चल्दैन यस्ता महिलाहरुलाई कसैले पनि नियालेको पाइँदैन । यसरी हेर्दा तीज सम्पन्न परिवारका महिलाहरुको मात्र चाड बन्न पुगेको छ । चारदिन मनाइने यो पर्व महिनादिन अगाडिदेखि नै शुरु हुने गरेको पाइन्छ । सडक सडकमा महिनादिन अगाडिदेखि नै अश्लिल गीत बजाएर मनाउन शुरु गरिएको यो विकृतिप्रति सम्बन्धित पक्षको ध्यान गएको पाइँदैन ।

यति भनिरहँदा यो पर्व गलत हो, यो मनाउनै हुँदैन भन्न खोजिएको भने होइन । हाम्रो हरेक चाडपर्वको आ–आफ्नै मौलिकता, आ–आफ्नै विशेषता रहेको छ । कुनै पनि चाड पर्व हाम्रो पहिचान हो । यस्ता चाडपर्वलाई जोगाई राख्नु हाम्रो कर्तव्य हो । त्यसैले कुनै पनि चाड–पर्व मनाइरहँदा सांस्कृतिक मूल्य–मान्यताभित्र रहेर मनाउनुपर्छ । यस लेखद्वारा संस्कृति, विकृतितर्फ नजाओस् भन्न मात्र खोजिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here