महारानीगञ्ज माविको सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक

0
6

अर्जुनधारा ।

झापाको अर्जुनधारा–११ सालबारीस्थित महारानीगञ्ज माध्यमिक विद्यालयले गत आर्थिक वर्ष ०८०÷०८१को सामाजिक परीक्षण प्रतिवेदन एक कार्यक्रमकोबिच सार्वजनिक गरेको छ ।

शिक्षक–अभिभावक संघका अध्यक्ष एवम् सामाजिक परीक्षण समितिका संयोजक सूर्यप्रसाद भट्टराईको अध्यक्षता र अर्जुनधारा नगरकार्यपालिका सदस्य एवम् सामाजिक विकास समितिका संयोजक कौशिलाल परियारको प्रमुख आतिथ्यमा उक्त प्रतिवेदन सार्वजनिक गरिएको हो ।

सो कार्यक्रममा सामाजिक परीक्षण प्रतिवेदन समितिका सदस्य चन्द्र सुवेदीले र प्राविधिक प्रतिवेदन शिक्षक एवम् सामाजिक परीक्षण प्राविधिक उपसमितिका संयोजक सूर्यप्रसाद सापकोटाले प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको विषयहरुमा बैठक र निर्णय कार्यान्वयन, विद्यालयको नाममा रहेको जग्गा एवम् स्रोतको उपयोगको अवस्था, पारदर्शीता सम्बन्धी क्रियाक्लाप, तथ्याङ्क विवरण एवम् विद्यालय प्रोफाइलको प्रयोग, विद्यालय सञ्चालन÷उपलब्धी, विद्यार्थीको सुविधा तथा सहयोग र कार्यसम्पादनको संस्कृति रहेका छन् ।

सोही विषयहरु कार्यान्वयनको अवस्था र लक्ष्य प्रगतिको मूल्याङ्कनका आधारमा विद्यालयले जम्मा पूर्णाङ्क एक सय मध्ये ८७ अंक प्राप्त गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसैगरी विद्यालयले गत आर्थिक वर्षमा एक करोड ४१ लाख ९२ हजार सात सय ३५ रुपैयाँ १६ पैसा बराबरको आर्थिक कारोबार गरेको छ । त्यस्तै कार्यक्रममा प्रस्तुत भएका दुवै प्रतिवेदनको सहजिकरण एवम् सहभागीहरुको जिज्ञासाको विद्यालयका प्रधानाध्यापक मनबहादुर लिम्बूले जवाफ दिएका थिए ।

कार्यक्रममा वडाध्यक्ष खगेन्द्र इङनाम, पूर्व जनप्रतिनिधि लक्ष्मी तामाङ राई, जुनकिरी आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगत राना मगर, महारानीगञ्ज टोल विकास समितिका संयोजक नरेन्द्र खड्का, विद्यालय व्यवस्थपान समितिका अध्यक्ष बोलप्रसाद कोइराला, पूर्व अध्यक्ष रोहितमान ढकाललगायतले मन्तव्य राखेका थिए ।

विद्यार्थी एवम् समितिकी सदस्य सुहानी राजवंशीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन शिक्षक एवम् समितिका सदस्य मणिलाल खड्काले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here