दशगजामा भारतको बल मिच्याईं

0
1

झापा।

झापाको कचनकवल गाउँपालिका–१ घेराबारी स्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतीय नागरिकले बाटो खन्न थालेपछि स्थानीयबासीले अवरोध गरेका छन् ।

शनिवार रातिदेखि भारतीय नागरिकले बाटो खनेपछि अवरोध गरिएको कचनकवल–१ का वडाध्यक्ष महावीर लिम्बू (रञ्जीत) जानकारी दिए ।

दशगजामा भारतीय नागरिकले बाटो खनेको थाहा पाएपछि हामीले रोकेका हौैँ वडाध्यक्ष लिम्बूले भने – मान्छे नभएको बेला राति–राति बाटो खन्ने गरिएको रहेछ । यसअघि पनि पटक–पटक बाटो खन्न खोज्दा अवरोध गरिएको उनको भनाइ छ ।

हाल उक्त स्थानमा करिब १५० मिटर बाटो खनिसकेको र सो बाटो पुरिएको उनले जानकारी दिए । कचनकवल–१ को वडा कार्यालयदेखि करिब चार सय मिटरको दूरीमा रहेको दशगजामा बाटा खनिएको उनको भनाइ छ ।

यसैबीच झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले दशगजा नजिकै सडक बाटो बनाउने कार्य भइरहेकाले विवाद भएको बताएका छन् । उनले हाल काम बन्द भएको र छलफल भइरहेको जानकारी दिए ।

यसअघि पनि सो क्षेत्रमा बाटो बनाउँदा विवाद भएको र विवादपछि बाटो निर्माण कार्य बन्द गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेक्वा झापाले जनाएको छ । सोही बाटो भारतीय पक्षले मर्मत गर्न खोजेपछि नेपाली पक्षबाट अवरोध भएको सशस्त्र प्रहरीले जनाएको छ । विवाद समाधानका लागि पहल भइरहेको जनाइएको छ ।

समाचार स्रोतका अनुसार सो क्षेत्रमा एसएसवीले क्याम्प खडा गर्न लागेको बताइएको छ । जसका लागि पहिला बाटो खनिएको हो । स्थानीयलाई खिचडी खुवाएर बाटो खन्न लगाएको स्रोतले जनाएको छ । दशगजा क्षेत्रमा भारतीय पक्षले यसअघि पनि यस्ता गतिविधि गर्दै आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here