धरानमा लागूऔषध कारोबारमा सङ्लग्न एक सय ९३ पक्राउ

0
3

धरान (सुनसरी),

धरानमा गत आर्थिक वर्षमा लागूऔषधको कारोबार गर्ने एक सय ९३ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानको तथ्याङ्कअनुसार गत आव २०८०/८१ एक सय ७६ पुरुष र १७ महिला गरी एक सय ९३ जना लागुऔषध कारोबारमा सङ्लग्न भएको आरोपमा पक्राउ परेका हुन् ।

प्रहरी निरीक्षक भीमराज राईले चालु आव २०८१/८२ को साउन महिनामा मात्रै १० वटा मुद्दामा १६ पुरुष र एक महिलालाई पक्राउ गरिएको जानकारी दिनुभयो । यसरी पक्राउ पर्नेमध्ये अधिकांश युवापुस्ता रहेका उहाँले बताउनुभयो । गत आवमा आफ्नो कार्यालयमा लागुऔषधका एक सय दुई मुद्दा दर्ता भएका राईले बताउनुभयो ।

आर्थिक वर्ष २०७८/८९ मा ५५ मुद्दा दर्ता भई ७९ पुरुष र चार महिला पक्राउ परेका थिए भने आव २०७७/७८ मा ५७ मुद्दा दर्ता भएकामा ७९ पुरुष र चार महिना पक्राउ परेका थिए । पछिल्लो चार वर्षको तथ्याङ्क तुलना गर्दा लागूऔषध कारोबार गर्ने सङ्ख्या निरन्तर बढिरहेको छ । यीमध्ये लागुऔषधको प्रयोग र कारोबारमा ज्याला मजदुरी गर्ने, बेरोजगार युवाको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

उमेर समूहका आधारमा १८ देखि ३५ वर्ष उमेरका युवाको सङ्ख्या बढी रहेको छ । अघिल्ला दुई आर्थिक वर्षमा यो समूहका ४६ जनालाई पक्राउ गरिएको थियो भने १७ वर्षभन्दा कम उमेरका ३२ जना पक्राउ परेका थिए ।

धरान उपमहानगरपालिकाले हरेक शुक्रबार लागुऔषध विरुद्ध सचेतना अभियान पनि सञ्चालन गरिरहेको छ । उपमहानगर प्रमुख हर्कराज राईले घर र विद्यालय तहबाटै सचेतना जगाउनु आवश्यक रहेको र हरेक अभिभावकले आफ्ना परिवारका सदस्यको निगरानी गर्न आवश्यक रहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here