निःशुल्क आँखा शिविरमा ३३२ जनाले सेवा लिए

0
3

अर्जुनधारा ।

काठमाण्डौंस्थित दुबसु क्षेत्री नेशनल डेभलपमेन्ट फाउण्डेशनको आयोजना तथा अर्जुनधारा १ नं. वडा कार्यालय र एसिया प्यासिफिक लेडीज फ्रेण्डसीप सोसाईटीको संयुक्त समन्वयमा झापाको अर्जुनधारा–१स्थित सिस्नेमा सोमबार एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

स्थानीय एवम् हाल जापानका लागि नेपालका राजदुत समेत रहेका क्षेत्रीको विशेष पहलमा ग्रामिण भेगमा बसोबास गर्ने आँखा उपचार सम्बन्धी सेवाको पहुँचबाट टाढा रहेका वडावासीहरुलाई लक्षित गरि उक्त शिविरको आयोजना गरिएको वडाध्यक्ष उपेन्द्र बस्नेतले जानकारी दिए ।

वडाध्यक्ष बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रममा स्थानीय ज्येष्ठ नागरिक नेत्रप्रसाद पौडेलको आँखा परीक्षण गर्दै शिविरको उद्घाटन गरिएको थियो । बिर्तामोडस्थित दृष्टी आँखा अस्पतालको प्राविधिक सहयोग रहेको शिविरमा सहभागीहरुको आँखा परीक्षण, औषधी वितरण, मोतीविन्दुलगायतका बिरामीहरुको लागि निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिने अस्पतालका दृष्टी विशेषज्ञ कौशल किशोर शाहले जानकारी दिए ।

१४९ जना पुरुष र १८३ जना महिलासहित जम्मा ३३२ जना सहभागी भएको शिविरमा ७९ जना ज्येष्ठ नागरिकले पनि सेवा लिएको स्थानीय युवा तथा खेलकुद समितिका अध्यक्ष तीवेन्द्र काफ्लेले जानकारी दिए ।

त्यसैगरी सेवा लिएकामध्ये ६५ जना थप परीक्षणको लागि अस्पताल जानुपर्ने, आँखामा मोतीविन्दुको समस्या भएको २६ जना र मासु पलाएको ३ जनाको शल्यक्रिया गर्नुपर्ने बताइएको छ । “शल्यक्रियासहित, ल्याब सेवा, औषधी र अस्पतालसम्म पुग्ने यातायात सबै निःशुल्क उपलब्ध हुनेछ ।”–अस्पतालका दृष्टी विशेषज्ञ शाहले स्पष्ट पारे ।

कार्यक्रममा राष्ट्रिय दलित आयोगका पूर्व सदस्य राजकुमार बराइली, वडा सदस्यहरु दिनेशकुमार घिमिरे, मदनकुमार लिमेल मगर र मुना खत्री, नमूना बजार व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर निरौला, सामाजिक व्यक्तित्व मदन ढकाललगायतको उपस्थिती रहेको थियो । वडाध्यक्ष बस्नेतले कार्यक्रमको औचित्य बारे जानकारी गराएको उक्त कार्यक्रमको सञ्चालन युवा तथा खेलकुद समितिका वडाध्यक्ष काफ्लेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here