सकरात्मक कदम

0
7

सजिलै उपलब्ध हुने, बनाउन दुःख पनि गर्नु नपर्ने, तत्काल खान सकिने, काम नलाग्ने वस्तुको प्रयोग हुने र जिब्रो खुशी हुने विभिन्न रसायनहरुको मिश्रणबाट तयार गरिने खाद्य तथा पेयपदार्थलाई जंक फूड भन्ने गरिएको छ । खाद्य तथा पोषणविद्हरुले राखेको यो नामलाई नेपालीकरण गरेर पत्रु खाना भनिन्छ । पत्रु अर्थात् नष्ट भएको, फ्याल्नु पर्ने वस्तु । यस्ता वस्तुले क्षणिक स्वाद दिन्छन्, सन्तुष्टि पनि प्रदान गर्छन्, जसलाई आकर्षक बनाउनका लागि विभिन्न रंग, स्वाद बढाउने वस्तु र रसायन मिसाइएको हुन्छ । एक पटक प्रयोग गरेपछि पटक–पटक खाइरहन मन लाग्ने यस्ता वस्तुको प्रयोग बालबालिकाले बढी गर्ने गरेका छन् । यसको निरन्तरको प्रयोगले बालबालिकाको मस्तिष्कमा र समग्र स्नायू प्रणालीमा असर पर्छ ।

जंक फूड अर्थात् ‘पत्रु खाना’ले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पार्ने भन्दै विप्लव माओवादीले झापाका शिक्षण संस्थालाई आफ्नो हाताभित्र प्रवेशमा रोक लगाउन उर्दी गरेको छ । विद्यालयको मूल द्वारमै सीसी क्यामेरा जडान गरी विद्यार्थीलाई पत्रु खाना खान रोक लगाउन एक महिनाको समयसीमा दिएको छ । बिर्तामोडमा सोमबार पत्रकार सम्मेलन गर्दै पार्टी तथा विद्यार्थी संगठनका नेतृत्वले यसले मुटु, मृगौला, क्यान्सर, मस्तिष्कघात, कोलेस्ट्रोल लगायतका समस्या निम्तिने भन्दै त्यसबिरुद्ध लड्न शिक्षण संस्थाहरुलाई अनुरोधसहितको चेतावनी दिएको हो । यद्यपि झापाका कतिपय निजी तथा सामुदायिक विद्यालयहरुले पत्रु खानाको प्रयोग तथा प्रवेशमा पहिल्यै रोक लगाइसकेका छन् । तर, अझै धेरै विद्यालयमा यस्ता वस्तुको निर्वाध प्रयोग भइरहेको छ । अझ कति सामुदायिक विद्यालयमा त राज्यबाट प्रदान गरिने खाजा सुविधामै यस्ता वस्तु प्रयोग भइरहेका समाचार आउने गरेका छन् ।

बालबालिकाको शारीरिक तथा मानसिक विकास आवश्यक खाद्यतत्व र पौष्टिकता नहुने भएकाले सकेसम्म यसको प्रयोग गर्न दिनुहुन्न । किनकि यसमा क्याल्सियम, भिटामिन, खनिज जस्ता तत्व हुँदैनन् । त्यसैले यसको निरन्तरको प्रयोगले बालबालिका कुपोषित भई उनीहरुको शारीरिक, मानसिक तथा संवेगात्मक विकासमा अवरोध हुन्छ । तर, यो प्रक्रिया बिस्तारै हुने भएकाले आजभोलि प्रायः आमाहरुले नै यस्ता पत्रु खाना आफ्ना बालबालिकालाई दिने गर्छन् । बजारमा जतासुकै पाइने चाउचाउ, बिस्कुट, कुरकुरे, कुरमुरे, चिप्स, चिजबल लगायत विभिन्न नामका खाद्यवस्तु तथा पेयपदार्थ मन्द विष हुन् । जसको प्रयोगबाट आजभोलि कुपोषणको समस्या बढ्दै गएको चिकित्सकहरुको विश्लेषण छ । अहिले शहर, बजार मात्र होइन ग्रामीण क्षेत्रमा पनि यस्ता पत्रु खानाले प्रवेश पाइसकेको छ । यसले उत्पन्न गर्ने जटिलताका बारेमा प्रशस्त सूचना प्रवाह भइरहँदा पनि यसको प्रयोग बढ्दो छ । त्यसकै उदाहरण हो आकर्षक विज्ञापन गरिने पिज्जा, बर्गर, विभिन्न ब्राण्डका पेयप्रदार्थहरुको व्यापक प्रयोग । आपतकालीन अवस्थामा मात्रै प्रयोग गर्ने गरी उत्पादन गरिएका यस्ता वस्तुले विभिन्न समस्या निम्त्याउने हुँदा यसप्रति अभिभावक नै बढी सचेत हुनुपर्छ । यस्तो बेला विप्लव माओवादीले गरेको निर्णयलाई सम्बन्धित सबै पक्षले गम्भीर तथा सकारात्मक रुपले लिएर यस्ता पत्रु खानालाई निरुत्साहित गर्नु बुद्धिमानी हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here