सेतीपानीमा प्रथम यू–१४ क्लबस्तरीय फुटबल प्रतियोगिता हुने

0
8

अर्जुनधारा ।

झापाको अर्जुनधारा–१० स्थित सेतीपानीमा यही भदौ २२ गतेदेखि प्रथम यू–१४ क्लबस्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

स्थानीय वडा खेलकुद विकास समितिको आयोजनामा हुने उक्त प्रतियोगिताको उद्देश्य खेलकुद क्षेत्रमा युवाहरुको सहभागीतामा अभिवृद्धिसँगै खेलाडी उत्पादन गर्नु रहेको बुधबार आयोजित पत्रकार भेटघाटमा बताइएको छ ।

स्थानीय सिंहवाहिनी आधारभूत विद्यालयको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा नगरपालिकाभित्र रहेका आठ वटा क्लबको सहभागीता रहने समितिका अध्यक्ष सुजन थापा मगरले जानकारी दिए । सहभागी क्लबहरुमा सहआयोजक सेतीपानी फुटबल क्लब, कप्तानबारी फुटबल क्लब, शनिश्चरे फुटबल क्लब, मनास्लु फुटबल क्लब, सालबारी फुटबल क्लब, पञ्चकन्या फुटबल क्लब, गोलधाप फुटबल क्लब र कालिका फुटबल क्लब रहेका छन् ।

भदौ २४ गते सम्पन्न हुने प्रतियोगिताको विजेता र उपविजेता हुने टिमले नगद पुरस्कार क्रमश १५ हजार र १० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । त्यसैगरी प्रत्येक खेलको उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने बताइएको छ ।

विजेता र उपविजेताको नगद पुरस्कार क्रमश अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ र युवा व्यवसायी सुमन नेम्वाङले प्रदान गर्ने बताइएको छ । त्यस्तै प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई प्रदान गरिने उत्कृष्ट खेलाडीको नगद पुरस्कार बापतको तीन हजार पाँच सय रुपैयाँ अर्जुनधारा नगर खेलकुद विकास समितिका सदस्य सुरेन राईले प्रदान गर्ने घोषणा गरेका छन् ।

वडा कार्यालय, सहयोगी दाता एवम् दातृ संस्थाहरुबाट आर्थिक सहयोग जुटाउने लक्ष्य राखिएको प्रतियोगिता सम्पन्न गर्न अनुमानित एक लाख रुपैयाँ बढी खर्च लाग्ने समितिका सचिव विक्की ढकालले जानकारी दिए ।

समितिका अध्यक्ष मगरको अध्यक्षतामा आयोजित भेटघाटमा प्रमुख अतिथि वडाध्यक्ष भूपेन्द्र न्यौपाने, नगर खेलकुद विकास समितिका सदस्य राई, राष्ट्रिय युवा संघ नेपाल अर्जुनधाराका अध्यक्ष धीरज मोक्तानलगायतले प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अध्यक्ष मगरले प्रतियोगिताको औचित्यसहित स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव ढकालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here