धमिनी सहकारीका सात हजार बचतकर्ताको करोडौँ रकम जोखिममा

0
2

सिरहा,

सिरहाको गोलबजार नगरपालिका–६ का ७५ वर्षीय असर्फी महतोले आफ्नो ‘पेन्सन’ वापतको रकम एक दशकदेखि धमिनी बचत तथा ऋण सहकारी संस्था गोलबजारमा जम्मा गर्दै आउनुभएको छ । हालसम्म करिब रु २५ लाख हाराहरी सहकारीमा जम्मा भइसकेको छ तर आफ्नो गर्जोटार्न उहाँले सो रकम प्रयोग गर्न पाउनुभएको छैन । पछिल्लो एक वर्षदेखि पटकपटक सहकारीमा धाउँदा पनि मौज्दात रकम नभएको भन्दै कर्मचारीहरूले चेक फिर्ता पठाउने गरेको महतोको गुनासो छ ।

यस्तै, रु ५० लाख बचत जम्मा गर्ने रामबाबु ठाकुरको पनि यस्तै पीडा छ । “बचत माग्न जाँदा खुट्टा दुखिसक्यो तर धमिनी सहकारीले बचत फिर्ता दिनसकेको छैन”, ठाकुरले भन्नुभयो, “हामीले पैसा धेरै भएर त्यहाँ जम्मा गरेका होइनौँ, गाँस कटाएर बचत गरेका हौँ । आफ्नै रकमका लागि पनि पाउनुसम्म दुःख पाइयो, अझै बचत फिर्ता हुन सकेको छैन ।”

सहकारीबाट रकम फिर्ता नपाउनेमा महतो र ठाकुर जस्तै यहाँ हजारौँ बचतकर्ता छन् । यहाँस्थित गोलबजारमा १८ वर्षअघि स्थापना भएको धमिनी बचत तथा ऋण सहकारी संस्था सङ्कटग्रस्त अवस्थामा पुगेपछि बचतकर्ता आक्रोसित छन् । दैनिक रु पाँच लाखसम्म निक्षेप सङ्कलन हुने सहकारी हाल बन्दजस्तै छ ।

सात हजार दुई सय बचतकर्ताहरुको रु १८ करोडभन्दा बढी बचत रकम जोखिममा परेको स्थानीयले जनाएका छन् । गोलबजारका ३१ जना प्रतिष्ठित व्यापारीले रु २५ हजार शेयर पुँजी राखेर सहकारी खोलिएको थियो । त्यसैले पनि स्थानीयले निकै विश्वास गरेर रकम जम्मा गरेका थिए । यही विश्वासले सहकारीले छोटो समयमै धेरै ग्राहक बनायो तर हाल त्यही विश्वासमाथि कुठाराघात भएको बचतकर्ताहरूको भनाइ छ ।

बचतकर्ता ठाकुरले भन्नुभयो,“यस क्षेत्रमा प्रतिष्ठित व्यापारी नै मिलेर बनाएकाले हामी सबैले विश्वास ग¥यौँ । पहिले यस्तो समस्या थिएन केही वर्षअघि मात्रै यस्तो भयो, हाम्रो विश्वासमाथि नै कुठाराघात भएको छ ।”

गोलबजार नगरपालिकाका उद्यमी, व्यापारी, किसान, मजदुर र पेसागत व्यक्तित्वले यस सहकारीमा खाता खोलेका थिए । सहकारीले शेयर धनीलाई एक पटक रु ९५ हजार र अर्को पटक रु दुई लाख बोनस पनि उपलब्ध गराएको थियो । रु २५ हजारको शेयर पुँजी वृद्धि भई १४ लाख पु¥याइएको थियो । सहकारीले रु ३७ करोडभन्दा बढी रकम ऋण लगानी पनि गरेएको छ ।

विकास बैंक बन्ने तयारीमा रहेको रहेको भनिएको उक्त सहकारीले लगानी उठाउन नसक्दा विसं २०८० को सुरुआतबाटै सङ्कट व्यहोर्न थालेको जनाइएको छ । सुरुमा आर्थिक मन्दीका कारण नगद अभाव छ भनेर निक्षेपकर्तालाई फकाउने गरिन्थ्यो तर सहकारी डुब्न लागेको हल्ला फैलाइएपछि एकैपटक धेरै बचतकर्ता रकम फिर्ता लिन आउँदा समस्या भएको धमिनी बचत तथा ऋण सहकारीका अध्यक्ष देवनाथ साह स्वीकार गर्नुहुन्छ । उहाँका अनुसार सहकारी घाटामा नभएको तर ऋणको सावाँ ब्याज समयमा नउठ्दा समस्यामा परेको हो । अध्यक्ष साहले सावाँ व्याज गरेर रु २७ करोड उठाउन बाँकी रहेको र बचत फिर्ता गर्नुपर्ने रकम करिब रु आठ करोड मात्र रहेकाले बचत निक्षेपकर्ताको रकम डुब्ने अवस्था नरहेको बताउनुभयो ।

सञ्चालक समितिबाट राजीनामा दिएका शेयर सदस्य राजेस्वर साह भने करिब रु १८ करोड बचत फिर्ता गर्न बाँकी रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अध्यक्ष साह, सहकारी प्रबन्धक रामबहादुर कार्की र शेयर सदस्य माथवर यादवले तिरेको केही सावाँ र ब्याजबाट तत्काललाई केही साना बचतकर्ताको रकम फिर्ता गरिएको छ । जसका कारण तनाव केही मत्थर भएको मात्र हो । तर ठूल्ठूला बचतकर्ताको समस्या ज्यूँका त्यु छ”, उहाँले भन्नुभयो ।

स्थापना कालदेखि एउटै नेतृत्व भएको र समयसमयमा सहकारीको साधारणसभासमेत नभएको गुनासो पीडितको छ । चार वर्षदेखि संस्थाको लेखापरीक्षण नै भएको र सञ्चालक समितिको बैठक पनि बस्न नसकेको जानकारहरू बताउँछन् । तत्कालीन समयमा सञ्चालक समितिमा रहेका राधेश्याम अग्रवाल, कमल जैन, मागिराम अग्रवाल, राजकुमार साह सुडी, गुरुदयाल साह र राजेन्द्र यादवको मृत्यु भइसकेको पूर्व शेयर सदस्य साहले बताउनुभयो।

आफ्नै निजी जग्गा बिक्री गरेर भए पनि दुई महिनाभित्र बचतकर्ताको बचत फिर्ता गर्ने सहकारी अध्यक्ष साहको प्रतिबद्धता छ । उहाँ भन्नुहुन्छ, “अहिले नै सहकारीलाई सङ्कटग्रस्त घोषणा गर्नुपर्ने अवस्था छैन । धेरै दायित्व बोझ कम गरिसकिएको छ । समयमा जग्गा बिक्री हुन नसकेर बचत फिर्ता गर्न ढिला भएको हो । अब साधारणसभा गरेर सहकारीलाई सही मार्गमा ल्याइने छ ।”

सहकारीका शेयर सदस्य रामबहादुर राय भने अध्यक्ष साहको भनाइमा विश्वास गर्न नसकिने बताउनुहुन्छ । “बचतकर्ताको विश्वास गुमिसक्यो । सहकारीको साख पहिलेको जस्तो छैन । निक्षेप सङ्कलनमा ९० प्रतिशत कमी आएको छ । हामीले शेयर वापतको रकम त परै जाओस् जम्मा गरेको बचत पनि पाइरहेका छैनौँ”, उहाँले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here