फेसबुक ह्याक गरेर पैसा माग्ने गिरोहबाट पीडितको संख्या बढ्दै

0
9

झापा । फेसबुक ह्याक गरेर पैसा माग्ने गिरोहबाट पीडित हुनेको संख्या बढ्दै गएको पाइएको छ ।
फेसबुक ह्याक गरेर ठगिने पीडितहरुले प्रहरीको केन्द्रीय साइबर ब्युरा दिएको निवेदन अनुसार ठगिनेको संख्या बढ्दै गएको हो । ‘विभिन्न उपाय लगाएर कुनै व्यक्तिको फेसबुक ह्याक गर्ने र ह्याक गरिसकेपछि ती अकाउन्टबाट नजिकका साथीहरुसँग पैसा माग्ने क्रम पछिल्लो समय बढ्दै गएको छ’ ब्यूरोका प्रवक्ता दीपक भारतीले भने ।
ब्यूरोका अनुसार गत साउन १ यतामात्र सामाजिक सन्जाल ह्याक भएको भन्दै ६४ वटा निवेदन परेका छन् । ब्यूरो प्रवक्ता भारतीले ह्याक भएलगत्तै उजुरी परे अकाउन्ट रिकभर गर्न सजिलो हुने बताए ।
‘ अकाउन्ट ह्याक भएलगत्तै मोबाइलसहित निवेदन लिएर आएर हामीले ४÷५ दिनसम्म अघिको रिकभर गरिरहेका छौँ । नत्र त अकाउन्ट डिलिट नै गर्नुपर्ने हुन्छ’, उनले भने ।
केही समय अघि एक जना शिक्षक प्रहरीको केन्द्रीय साइबर ब्युरोमा आफ्नो फेसबुक ह्याक भएको भन्दै आएका थिए उनले भने – प्रहरीले उनलाई तपाईंले म्यासेन्जरमा आएको कुनै लिंक थिच्नु भएको थियो भनेर सोध्यो । ती शिक्षकले आफूले कुनै लिंक नथिचेको जवाफ दिए । प्रहरीले केहीबेर सम्झिनुस् भन्यो ।
कसैले साथी बनेर कुनै लिंक पठाएको थियो कि भन्नासाथ शिक्षकले खोलिहाले, ‘अँ एक जना मेरो पुरानो विद्यार्थीले फ्रेन्ड रिक्वेस्ट पठाएको थियो । त्यसको केही दिनपछि उसले मलाई आफू कुनै एउटा प्रतियोगितामा भाग लिन लागेको भनेर भोटिङ गर्नका लागि फोटोसहितको लिंक पठाएको थियो । मैले लिंक थिचेपछि ती विद्यार्थीले एउटा कोड आएको होला त्यो पनि दिनुस् त भन्यो । केही नसोची कोड दिएँ । कोड दिएको केहीबेरमा फेसबुक ह्याक भएको थियो ।’
ब्यूरोका प्रवक्ता भारतीका अनुसार कोड पाएपछि ती विद्यार्थीले फेसबुकको ब्याक अप मोबाइल नम्बर र इमेल पनि फेरेका थिए । ‘तर विद्यार्थीले शिक्षकको अकाउन्ट ह्याक गरेका होइनन् । विद्यार्थीको अकाउन्ट पनि कसैले ह्याक गरेर अरुलाई भिक्टिम बनाइरहेको थियो’, एसपी भारतीले भने ।
केही समयअघि सुरक्षा बिटमा रिपोर्टिङ गर्ने एक पत्रकारको फेसबुक ह्याक भएको भन्दै कसैले पैसा मागे सतर्क हुने आशयका म्यासेजहरु सामाजिक सन्जालमा राखिएका थिए ।
फेसबुक ह्याक भएको केहीबेरमै फ्रेन्ड लिस्टमा रहेका नजिकका साथीहरुलाई ‘मोबाइल बैंकिङ छ ? इसेवा छ ? पैसा छ ?’ भन्दै ह्याकरले म्यासेज पठाएका थिए । अप्ठेरो नै परेको होला भनेर केहीले त पैसा पनि पठाई दिइहाले । जसले पैसा माग्ने ती पत्रकारसँग फोन गरेर बुझे, उनीहरुले कसैले ह्याक गरेको चाल पाइहाले ।
ब्यूरोका अधिकारीहरु ह्याकरहरुले विभिन्न किसिमका लिंकहरु पठाएर फेसबुक ह्याक गर्ने गरेको बताउँछन् । प्रवक्ता भारतीका अनुसार ह्याक गर्न त्यस्ता व्यक्तिहरुलाई प्रभाव पार्ने खालका र लिंक खोली हाल्ने खालका सामग्रीहरु उनीहरुले पठाउने गर्छन् ।
‘कतिपय लिंकहरु खोलिहाल्दा पनि अकाउन्ट ह्याकरको नियन्त्रणमा जानेसम्मका हुन्छन् । त्यस्ता लिंकहरु कसरी तयार गरिएका हुन्छन् भन्ने कुराले पनि ह्याक गर्न उनीहरुलाई के के चाहिन्छ भन्ने थाहा हुन्छ । कतिपय अवस्थामा लिंक खोलेर मात्र पुग्दैन, कोड पनि चाहिन्छ’, उनले भने । केही समय अघि ललितपुर प्रहरीले ह्वाट्सएपमा लिंक पठाएर मोबाइलसम्ममा पहुँच बनाउने र मोबाइलमा खुला रहेका वालेट तथा मोबाइल बैंकिङबाट पैसा निकाल्ने गिरोहलाई पक्राउ गरेको थियो ।

कसरी ह्याक गर्ने भनेर युट्युबमा खोज्नेमा नेपाली अगाडि

साइबर ब्यूरो प्रमुख नविन्द अर्यालले नेपालीहरु कसरी फेसबुकलगायत सामाजिक सन्जाल ह्याक गर्ने भनेर युट्युबमा खोज्नेमा अगाडि रहेको बताउँछन् ।
‘नेपालीहरु कसरी फेसबुक ह्याक गर्ने भनेर गुगल र युट्युबमा खोज्नेमा दक्षिण एसियामै सबैभन्दा अगाडि आउँछन्’, ब्यूरो प्रमुख अर्यालले भने । पछिल्लो समय नेपाली युवा युवतीहरु सामाजिक सन्जाल ह्याकिङमा संलग्न हुनेक्रम बढिरहेको उनले बताए ।
उनका अनुसार ह्याक गरिएका अकाउन्टमा रहेका गोप्य सामग्रीहरुमा पहुँच बनाउन पनि यस किसिमको हर्कत हुने गरेको छ । ‘ह्याक गरेर ठगी गर्ने गिरोह पनि हुन्छ । त्यसबाहेक ह्याक गर्ने अन्य कारणहरु पनि हुन्छन्’, उनी भन्छन् ।

कसरी सुरक्षित हुने ?

सूचना प्रविधिको बढ्दो प्रयोग र विकाशक्रमसँगै यससँग जोडिएर फरक फरक प्रकृतिका अपराधहरु पनि आइरहेका छन् ।
ब्युरो प्रमुख अर्याल अनावश्यक लोभ र भ्रममा पर्दा मानिसहरु पिडित हुने गरेको अनुभव सुनाउँछन् । एउटा व्यक्तीको लापरबाहीका कारण उनीसँग जोडिने थुप्रै व्यक्तिहरु पीडित बन्न सक्ने उनले बताए । यसमा सामाजिक सन्जाल प्रयोगकर्ता नै सजग हुनुपर्ने अर्यालको सुझाव छ ।

सामाजिक सन्जालमा आएका कुनैपनि शंकास्पद लिंकहरु खोलि हाल्न नहुने उनी बताउँछन् । ‘नचिनेका मानिसबाट आएका लिंक त खोल्नै भएन। कहिले काहीँ चिनेकै मान्छेबाट पनि त्यस्तो लिंक आएको हुन सक्छ । त्यसका लागि पहिला ती व्यक्तिहरुसँग अन्य माध्यमबाट कुरा गरेर उनीहरुले पठाएको हो कि होइन भनेर यकिन गर्नुपर्छ’, उनले भने । त्यस्तै, चिनेकै मान्छेले पनि सामाजिक सन्जालमा पैसा मागेको अवस्थामा पहिला उनीहरुसँग कुराकानी गरेर यकिन गर्नुपर्ने उनले सुझाव दिए ।
‘कतिपय मानिसहरुलाई हामी नाई भन्न सक्दैनौँ तरपनि यसरी म्यासेज आउँदा उनीहरुको सामाजिक सन्जाल ह्याक भएको पनि हुन सक्छ भनेर एकपटक भेरिफाई गर्नुपर्छ’, अर्यालले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here