ताप्लेजुङका विद्यालयमा रेडपाण्डा र हिउँचितुवा संरक्षण शिक्षा

0
1

फुङ्लिङ (ताप्लेजुङ),

जिल्लाका विद्यालयमा हिमाली संरक्षण मञ्चले रेडपाण्डा नेटवर्कको सहयोगमा वातावरण र हिउँचितुवा संरक्षण शिक्षासम्बन्धी स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको छ । दुलर्भ वन्यजन्तु हिउँचितुवा र रेडपाण्डाको महत्त्व तथा संरक्षण गर्ने उद्देश्यले विद्यालयमा शिक्षण सुरु गरिएको हो ।

संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार जिल्लाका १३ विद्यालयमा कार्यक्रम लागू गरिएको छ, जसबाट छ सय ५० विद्यार्थी लाभान्वित हुँदै आएका छन् । पाठ्यक्रमको मुख्य उद्देश्य भविष्यका पुस्तालाई वातावरणीय संरक्षणमा सचेत बनाउँदै दुर्लभ वन्यजन्तु रेडपाण्डा र हिउँचितुवाको संरक्षणको महत्त्वबारे जानकारी दिनु रहेको उहाँले बताउनुभयो ।

ताप्लेजुङका विद्यालयमा वातावरणीय शिक्षासम्बन्धी पाठ्यक्रम आवश्यक छ । यस्ता कार्यक्रमले विद्यार्थीलाई वातावरण संरक्षणको महत्त्वबारे जागरूक बनाउनुका साथै उनीहरूलाई सक्रिय सहभागीका रूपमा तयार पार्छ । वातावरणीय संरक्षण केवल सरकार र गैरसरकारी संस्थाको जिम्मेवारीमात्र नभएर, स्थानीय समुदाय, विशेषगरी विद्यार्थीलाई पनि यसमा समावेश गर्नु अनिवार्य रहेको संयोजक राईले बताउनुभयो ।

वन्यजन्तु र वनस्पतिको संरक्षणको महत्त्व विश्वव्यापी छ, तर स्थानीयस्तरमा यसबारे जनचेतना कम रहेको विषयको पाठ्यक्रम तयार गरी पठनपाठन गरिएको मञ्चका सचिव विवश केदेमले बताउनुभयो ।

कार्यक्रम संयोजक राईका अनुसार, वातावरणीय शिक्षासम्बन्धी पाठ्यक्रम कक्षा ६ र ७ मा लागू गरिएको छ । यस पाठ्यक्रममा दुर्लभ वन्यजन्तु रेडपाण्डाको बासस्थान, संरक्षणका उपाय र स्थानीय समुदायको भूमिकालाई केन्द्रित गरेर तयार गरिएको छ । फुङ्लिङ नगरपालिकास्थित मयाम मावि फुरुम्बु, पाथीभरा याङवरक गाउँपालिकास्थित सिद्धिकुमारी आधारभूत विद्यालय सिरिङ्गे र फक्ताङ्लुङ गाउँपालिकास्थित सिँवा मावि तथा महेन्द्र आधारभूत विद्यालय लिङखिममा पाठ्यक्रम लागू गरिएको छ ।

यसैगरी, सिरिजङ्गा गाउँपालिकास्थित लक्ष्मी मावि मामाङ्खे, कञ्चनजङ्घा मावि याम्फुदिन र फक्ताङलुङस्थित सरस्वती च्यारिवुक मावि लेलेपमा पनि पाठ्यक्रम लागू गरिएको छ । तीन सय १० जना विद्यार्थी उक्त पाठ्यक्रमबाट लाभान्वित भएका छन् । हिउँचितुवा संरक्षण शिक्षासम्बन्धी पाठ्यक्रम कक्षा ६, ७, र ८ का तीन सय ४१ विद्यार्थीलाई लक्षित गर्दै छवटा विद्यालयमा लागू गरिएको छ । फक्ताङलुङको सावादिन, तापेथोक र घुन्साका विद्यालयमा पाठ्यक्रम प्रयोगमा रहेको छ । पाठ्यक्रमको उद्देश्य हिउँचितुवा संरक्षण र महत्त्वबारे विद्यार्थीलाई जानकारी दिनु रहेको संयोजक राईले बताउनुभयो ।

रेडपाण्डा र हिउँचितुवा दुवै दुर्लभ वन्यजन्तु हुन्, जसको संरक्षण गर्न विश्वभरका वैज्ञानिक, संरक्षणकर्मी र स्थानीय समुदाय निरन्तर प्रयासरत छन् । जैविक विविधताले भरिपूर्ण क्षेत्रमा यस्ता वन्यजन्तुको संरक्षण अत्यन्त महत्त्वपूर्ण छ । रेडपाण्डा र हिउँचितुवाका बासस्थान विनाश र वातावरणीय असन्तुलनले यी प्रजातिलाई सङ्कटमा पारेको छ । यसलाई मध्यनजर गर्दै विद्यालयस्तरमा नै विद्यार्थीलाई यी वन्यजन्तु संरक्षणको महत्त्व बुझाउनु जरुरी भएको हिमाली संरक्षण मञ्चका कार्यवाहक अध्यक्ष भिङमारे हेल्लोकले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here