बुवा र बासुरी

0
2

सबै असल बुवा जस्तै
बुवा तिमी
कहिले आँखा
कहिले हात
कहिले काँध त
कहिले कदम बन्यौ

तिमीले नभनी–नभनी धेरै देखायौ
नसुनाई–नसुनाई धेरै बुझायौं
नकराई–नकराई धेरै सम्झायौं
अनि, नगनी–नगनीकन
नतौली–नतौलीकन मनग्ये दियौ
माया र आशीर्वादहरु

थाहा छ मलाई मान्छे बनाउँदा
च्यातिएको तिम्रो जीवन,
सकेसम्म मैले सिउनुपर्छ
मलाई रंगिन खुशी बाँड्दा
फिका र रुखो भएको तिम्रो मन
फेरि हराभरा पार्नुपर्छ बुवा
म हेरिरहेछु
निरन्तर केलाइरह्यौ–निफनीरह्यौं
सार्थक र निरर्थक जीन्दगीका कर्महरू
ज्ञानको नाङ्गलोले
समयको बिंड समाएर

कहिल्यै टुट्न दिएनौं भाषा र संस्कृति
बिर्सेनौ कहिले राष्ट्र प्रेम
वंशजलाई व्यवस्थित गर्न
तन मन रधन अर्पण गरी
कुलभुषण र कुलदिपले सम्मानित हुँदा
गद्गद् भयौं वुवा
तर, आजभोलि छट्पटिरहन्छौं बुवा
तिमीले देखेको सुन्दर, शान्त देश
हराएको छ कता –कता
बर्बराउँछौ विपना मै
यि कन्सुत्लेहरुबाट
देश कसले बचाउँछ भन्दै

पिर पनि किन नलागोस् र बुवा
मेरो शरीर मन, भावना र चेतनासँग
रूपान्तरित तिम्रो अस्तित्व जोगाउन
तिम्रा वैज्ञानिक सोच र
व्यवहारिक आचरण संरक्षण गर्न
तिम्रै गुन र स्वभावलाई
परिष्कार र परिमार्जित गर्दै
अर्को असल बुवा र आमाको
निर्माण गर्नुछ मैले बुवा

यसरी तिमी त खुब
समयसँगै तप्यौ,
रुझ्यौं फेरि अग्लियौ पनि
बाँस भएर
तर, कहिल्यै झुक्न भुलेनौं अस्तित्वसँग
बाँस जस्तै खोक्रो भयौ र त
जीवनमा संगीत महशुस ग¥यौ
बाँसुरी रुपी तिम्रो जीवन
हामीलाई त्रासपूर्ण होइन
रसपूर्ण जीवन बाँच्न उत्पेरक बनिरह्यो
श्वास–श्वासमा शब्द ब्रह्मको संगीत
यसरी नै
तिम्रो बाँसुरी मनले सुनाइरहोस्
अनि, संसारले पनि सुनिरहोस्
कर्म, ज्ञान र भक्तिका सरगमहरु ।

अर्जुनधारा– ८, झापा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here