अजम्बरी मुक्तक सङ्ग्रह एक गहन कृति

0
2

नेपाली भाषा साहित्यको भण्डारमा अर्को एउटा सुन्दर कृति थपिएको छ । त्यो कृति हो विमल गिरीको सिर्जना अजम्बरी मुक्तक संग्रह । साल्पा सिलिचुङ्ग–४ सालेवा भोजपुरमा २०१४ मंसीर १२ गते जन्मेका स्व. लीला गिरी, स्व. छविलाल गिरीका सुपुत्र विमल गिरी बिर्तामोड नगरपालिका–२ झापा स्थायी बासिन्दा रहेका र हाल बेल्जियमको ब्रसेल्समा बस्दछन् । विदेशमा बसे पनि स्वदेशको औधी माया गर्ने स्रष्टा गिरीले नेपाली भाषा साहित्यको उन्नयनका क्षेत्रमा गरेका योगदान अनुकरणीय छ । गिरीको पछिल्लो मुक्तक कृति पनि यही स्तरमा पर्दछ ।

प्रस्तुत संग्रहका मुक्तकहरुका विशेषता र गहनता कस्ता रहेका छन् ? कृतिमा विभिन्न विद्वानहरुले विचार व्यक्त गरेका छन् । सर्वप्रथम त्रिभुवन विश्वविद्यालयका प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेलको विचारबाट जानौँ । सबैजसो रचना रुवाई ढाँचाका रहेकाले यस कृतिलाई फारसी रुवाई ढाँचाको मुक्तक संंग्रहका रुपमा लिनुपर्छ । भावगत दृष्टिले हेर्दा विमल गिरीको मुक्तकमा मुलतः मानवीय प्रेमप्रणय, मिलनका खुशी र बिछोडका पीडा, मातृभूमि छोडेर विदेशिनु पर्दाका पीडा, आप्रबासी चेतना, मातृभूमिका दुर्दशा, राजनीतिक नेतृत्वप्रति असन्तुष्टि, नेपाली राजनीतिक दुरावस्थाको अभिव्यक्ति, वर्तमान युगीन परिवेश तथा जनजीवनको प्रतिविम्व आदि पाइन्छन् ।

मुक्तककार गिरीको यस संग्रहमा सङ्कलित मुक्तकमा मातृभूमि छोडेर विदेशिनु पर्दाका पीडा र विदेशमा पनि जन्मभूमि, भाषा संस्कृति तथा आफ्नोपन भुल्न नहुने भावाभिव्यक्ति गरिएको छ । जस्तैः केही गरे पनि खशी नहुने रहेछ मन परदेशमा, कहाँ पाउनु उकाली ओराली रनवन परदेशमा, भौतिक सुविधाले सम्पन्न शहरको घर अगाडि, छैन रमाउने आँगन रम्य गाउँको पन परदेशमा ।

नेपाली जनताले भोगेका हरेक तन्त्रका पीडा तथा वर्तमान नेपाली राजनीति र फोस्रा आश्वासन बाँड्ने नेतृत्वप्रतिको असन्तुष्टि र आक्रोसको भावभिव्यञ्जना पाइन्छ । वर्तमान युगिन राजनीतिक, सामाजिक, आर्थिक आदि विभिन्न क्षेत्रमा देखापरेका विसङ्गति र विकृति माथि सरल र सुबोध ढङ्गले कतै सोझै र कतै व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गरिएको, गिरीको यस संग्रहका सबैजसो मुक्तक अर्थवत्तायुक्त छन् । विविध भावलाई सरल भाषिक विन्यासका माध्यमबाट मुक्तकीय ढाँचा प्रदान गरिएका यिनका मुक्तक सहज सर्वग्राज्य छन् । यिनले मुक्तकधर्मीताको निर्वाह राम्ररी गरेका छन् । भावगत र भाषाशैलीय विन्यासमा सरलता र सहजता यस संग्रहमा सङ्ग्रहित मुक्तकहरुको खास वैशिष्ट्य हो ।

विद्वान महेश पौड्यालको विचार, मुक्तकको विश्वव्यापी परम्परालाई हेर्दा यसमा विशेषः चार हरफ हुन्छन् र तिनमा अन्त्यानुप्रास वा समतुकान्तताको विशिष्ट अनिवार्यता हुन्छ । यद्यपि चारैवटा हरफमा एकै प्रकारले अनुप्रास प्रयोग गरिएको हुन्छ भन्ने चाहिँ होइन । अनिवार्यता के चाहिँ हो भने हरफहरुको लम्बाइ र लयमा समानता स्थापित गर्छ र मुक्तकको वाचनलाई प्रभावशाली बनादिन्छ । उदात्त रचना त्यो हो जसको सौन्दर्य वा भव्यताले भावकको निर्णयात्मक वा आलोचनात्मक मस्तिष्कलाई भावशून्य गराइदिन्छ र भावक उक्त सिर्जनाका अगाडि अवाक् बन्न पुग्छ ।

सिर्जनाको मूल्यांकन वा परखका लागि अवलम्वन गरिने कुनै पनि मापदण्ड जमिनमा उभिँदैन । सिर्जनाले ती सबै मापदण्डको घेरो तोडेर तिनीभन्दा माथि उठिदिन्छ । कवि विमल गिरीका कतिपय मुक्तकमा यस्तो उदात्तता अथवा उदात्तताका लक्षण भेटिन्छन् । कवि गिरीमा आफ्ना मुक्तकहरुलाई उचाइ वा उत्कर्ष दिने क्षमता छ । मुक्तकको कथ्यगत परिसीमा व्यापक छ । विषयगत विविधता हेर्ने हो भने मन र मस्तिष्क, तर्क र वितर्क, भावुकता र बौद्धिकता, आक्रोस र समर्पण–अनेक भावायतनलाई छुन सक्ने विषयहरुको फूलबारी बनेको छ यो पुस्तक ।

विद्वान विनयकुमार शर्मा नेपालको विचार, संस्कृत साहित्यमा मुक्तक शब्दको प्रयोग प्राचीनकालदेखि नै हुँदै आएको पाइन्छ । कथ्य वा कथानक मुक्त काव्यलाई संस्कृतका विद्वानहरुले मुक्तक काव्य भनेका छन् । अग्निपुराणमा मुक्तकः श्लोक एवैकश्चमत्कारक्षम सताम् भनिएको छ भने आचार्य विश्वनाथले छन्दोबद्ध पदम् पद्यम् तेन मुक्तेन मुक्तकम् भनेका छन् । संस्कृतका अन्य आचार्य भामह, वामन, दण्डी, आनन्दबद्र्धन, अभिनव गुप्त, राजशेखर आदिले पनि मुक्तकको आ–आफ्नै ढङ्गले परिभाषा गरेका छन् । यसले के बताउँछ भने मुक्तक पूर्वीय साहित्यमा संस्कृतकालदेखि नै प्रचलित थियो र पछि आएर अरबी र फारसी साहित्यबाट पनि यो विधा प्रभावित रह्यो ।

कतिपय विद्वानहरुले मुक्तकलाई रुवाइ शैली भनेको पाइन्छ तर उमर खयामको रुवाइयात (११११–११२२–१२१२–१६ वर्णमात्रा) बहर (छन्द)को शैलीमा रहेको पाइन्छ । रुवाइयातका प्रथम अङ्ग्रेजी अनुवादक फिटजिराल्डले यसलाई १६ अक्षरे वर्णमा अनुवाद गरिदिए भने कालान्तरमा हरिवंशराय बच्चनले हिन्दी तुकबन्दी (शायरी) शैलीमा र आदिभटला नारायणदासले भुजङ्गप्रयात संस्कृत भाषा र छन्दमा गरिदिए । विमलजीका मुक्तकहरु कतै उपदेशक बनेका छन् त कतै दर्शक झैँ साक्षी बनेका छन् । कतै आशा र निराशाका पराकाष्टा छुने खालका पनि मुक्तकहरु बनेका छन् । कतै राष्ट्रप्रतिको कर्तव्य उजागर गरिएका छन् भने कतै मानवीय आविष्कार उजागर गरिएका छन् । कतै कर्मवादलाई महत्व दिइएको छ भने कतै भाग्यवादमा अलमलिएका मुक्तकहरु पनि यहाँ भेटिनेछ ।

विद्वानहरुका विश्लेषणबाट नै थाहा हुन्छ कि साहित्यकार विमल गिरीको यस कृति निकै गहन र उच्चकोटीको छ । जसले मुक्तक विधालाई निकै उचाईमा पु¥याउँछ । मुक्तककार गिरी आफैको भनाइ यस्तो रहेको छ– “हरेक मानिसभित्र केही न केहीको अम्मली हुँदोरहेछ, जोबाट छुटेर यात्रा गर्न त्यति सजिलो नहुँदोरहेछ । म भित्र पनि साहित्यको एक अम्मली रहेछ, जसलाई छोड्न भनेर धेरै पटक कलम कापीलाई पर–पर सारेँ तर मनका उर्लिएका भावनाहरुलाई कहिल्यै पर सार्न सकिनँ । कलम बिसाउनु र मन बिसाउनु अर्कै–अर्कै अभ्यास रहेछ ।

यो पल्लो भूगोलको जति फराकिलो आकार भए पनि आफ्नो देश र आफ्नो माटोभन्दा साँगुरो नै लाग्दो रहेछ । तथापि यही भूगोललाई आफ्नो ठानेर बस्नु जिन्दगीको बाध्यता छ । हो, मैले यस संग्रहमा ती बाध्यताको ढिस्को पनि फुटाउने प्रयत्न गरेको छु, मन हलुङ्गोको लागि । मानिसका सबैभन्दा नजिकका आफ्ना दुःख–पीरहरु रहेछन् र तिनलाई फुल्याउने वाणयन्त्र शब्दहरु रहेछन् । अझ यसो भनूँ यो जिन्दगीलाई एउटा सुन्तला मान्ने हो भने त्यसको एक केस्रा हो यो पुस्तक संग्रह अजम्बरी । स्रष्टाको भनाइबाट थाहा हुन्छ कि स्रष्टा विमल गिरी यो सुन्दर कृतिको सिर्जना कसरी भयो ।”

कृतिभित्रका शुरुका सयभन्दा बढी मुक्तकहरु प्रेमसँग सम्बन्धित छन् । अहो यति धेरै मुक्तकहरु केवल प्रेम प्रसंगका भनेर लाग्न सक्छ, तर पढ्न शुरु गरेपछि पढी नसकि पुस्तक थन्क्याउन मन लाग्दैन । निकै नै मन छुने मुक्तकहरु छन् । मुक्तकहरुमा बहेका प्रेमका भावहरु मनन गर्दा यी मुक्तकहरु नपढ्नेहरु फोस्रा प्रेम गर्छन् जस्तो लाग्दछ । अर्थात् यी मुक्तकहरुले मिठो गरी प्रेम व्यक्त गर्न सिकाउँछन् । मुक्तक १०४ पढेर मुक्तककार गिरीको सिर्जनाको आनन्द लिऔँ । तिमीसँग मनको ढुकढुकी साट्न पाए हुन्थ्यो, रहर लाग्दा बैँशालु रात काट्न पाए हुन्थ्यो, नशालु नयनमा डुबेर सपनीमा भेट्नुभन्दा त, विपनीमै मन मुटुको डोरी बाट्न पाए हुन्थ्यो ।

त्यतैगरी राजनीति, देश र देश हाँक्नेहरु प्रति भाव व्यक्त गरिएका एक मुक्तक पढौँ । मुक्तक १३८, पजेरोलाई के थाहा र ? खाली खुट्टा कति भार हुन्छ, तिमीलाई हाम्रा आँशुका निरीह टाटा पनि झार हुन्छ, जो सुकै आए पनि अहंकार र अत्याचार गह्नाउँदा, यो देशमा कुशासन गर्ने कतै यस्तो पनि सरकार हुन्छ ?

यस्तै–यस्तै मुक्तकहरुले सजिएको छ यस अजम्बरी कृति । संग्रहमा २६५ वटा मुक्तकहरु समेटिएका छन् जुन पढौँ–पढौँ लाग्ने, रोचक, चोटिलो, सन्देश मूलक, मार्गदर्शक र समय सान्दर्भिक रहेका छन् । मुक्तक साहित्यको एक विशिष्ठ विधा हो । छोटो लेखाइमा बृहत क्षेत्र समेटन् सक्ने । स्रष्टा गिरीले पनि मुक्तकका माध्यमबाट आफ्ना मनमा लागेका भावहरु खुलेर बृहतरुपमा पोखेका छन् । मुक्तकहरु मन छुने, घत लाग्दा र गहन छन् । साहित्य समाजको ऐना हो । स्रष्टा गिरीका मुक्तकहरुमा हाम्रो समाज, देशको स्थिति र शासकहरुको व्यवहार प्रष्ट देखिन्छन् । यस अजम्बरी मुक्तक कृति एक गहन र उच्चकोटीको साहित्य गहना भएर पाठक सक्षम आएको छ । जसले गहिरोरुपमा नबिर्सने गरी सन्देश मात्र होइन मार्गदर्शन प्रवाह गर्दछ ।

बेल्जियमलाई कर्मथलो बनाएर विदेशमा कर्म गरिरहेपनि स्रष्टा गिरीमा स्वदेशको अगाध माया रहेको देखिन्छ, फलस्वरुप उनबाट गहन, उत्कृष्ट र सुन्दर साहित्यहरु कृतिहरु सिर्जना भएका छन् । अजम्बरी (मुक्तक संग्रह) प्रकाशन अघि स्रष्टा गिरीका आधा दर्जन कृतिहरु प्रकाशित भइसकेका छन् । जसमा गिती सिडी, गिती संग्रह, मुक्तक संग्रह दुईवटा र दुईवटा हाइकु संग्रह प्रकाशित गरी नेपाली भाषा साहित्यको भण्डारमा बहुमूल्य कृति थपेका छन् । जसले नेपाली भाषा साहित्यको उन्नयनमा टेवा पुग्दछ ।

विगत चार दशकदेखि साधनारत स्रष्टा विमल गिरी विभिन्न संघ–संस्थामा आबद्ध रही समाज सेवामा पनि समर्पित रहेका छन् । विभिन्न क्षेत्रमा गरेका योगदानको कदरस्वरुप विभिन्न सम्मान तथा पुरस्कारबाट सम्मानित र पुरस्कृत भएका छन् । जस्तै सम्मानः भोजपुर प्रतिभा प्रतिष्ठान बेलायत (पुरस्कृत) २०७०, नेपाल सरकारबाट भानुभक्त स्वर्ण पदक २०७२ र नइ कीर्ति रत्न अलङ्कार २०८० । शब्दार्थ प्रकाशन काठमाडौले २०८० बैशाखमा प्रकाशन गरेको चिटिक्क बान्कीको अजम्बरी कृतिभित्रका मुक्तकहरु अवश्य पढौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here