सुरुङ्गामा माँ मनसादेवीको पुजा

0
18

सुरुङ्गा ।

बङ्गाली समाज कनकाईले भव्य रूपमा माँ मनसादेवीको पूजा आराधना विविध सांस्कृतिक कार्यक्रमसहित सम्पन्न गरेको छ ।

भदौ २२ गते, २३ गते र २४ गते तीन दिनसम्म चलेको पुजा आराधनामा कनकाई नगरभित्रका ५० घरपरिवारका ३ सय ५० बढी बङगाली समुदायको सहभागिता रहेको थियो ।

२२ गते शनिवार सबैले स्नान गरी न्वाँगी खाई ब्रत बसी सुरु भएको थियो भने भदौ २३ गते पुजा आराधनासँगै बङ्गाली समाजले कनकाई नागरपालिका ३ सुरुङ्गाको कालिस्थान चौकमा नगरभित्रका सामाजिक व्यक्तित्व, राजनीतिक दल, युवा क्लब, विद्यालय, सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा औपचारिक कार्यक्रम समेतको आयोजना गरेको थियो ।

सो कार्यक्रममा प्रणामी समुदाय बाइजुराज डडिया नृत्य, बङ्गाली नृत्य, ग्लोबल एकाडेमीबाट तामाङ सेलो, श्रीहरिकुलबाट थारु नृत्य, सुरुङ्गा डान्स सेन्टर बाट आधुनिक नृत्य, झापा मेरीगोल्डका मेरिगोल्ड स्टार सुवास पाठक र गायक भक्त विश्वासबाट गीत प्रस्तुत गरिएका थिए ।

त्यसैगरी, बङ्गाली समाजले आफ्नो ठाँउलाई खेलको माध्यमबाट देश विदेशमा चिनाउन सफल राष्ट्रिय फुटबल टिममा रहेर उत्कृष्ट खेल प्रदर्शन गर्दै आएका स्थानीय रोहन कार्कीलाई सम्मानपत्रबाट सम्मान समेत गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि कनकाई नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, उद्योग वाणिज्य सङ्घ कोशी प्रदेशका उपाध्यक्ष कुमारमणि पोखरेल, कनकाईधाम धार्मिक विकास संस्थाका अध्यक्ष शेरबहादुर थापा लगायतले शुभकामना मन्तव्य रराखेका थिए ।

कार्यक्रममा कनकाई वार्ड नं. ३ की कार्यवाहक अध्यक्ष कृष्णमाया भुजेल, वार्ड सदस्य अनिल गोयल, कनकाई नगर खेलकुद विकास समिति अध्यक्ष जबिन तिम्सिना, राप्रपा नगर अध्यक्ष टीका बराल, नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाका सभापति बालकृष्ण प्रसाई, सुरुङ्गा बजार व्यवस्थापन समिति अध्यक्ष मनोहरि बिमली, बंगाली समाज सेवा समिति मोरङ सुन्दर हरैचा गछियाका उपाध्यक्ष खकनकुमार दास, कनकाई मुस्लिम समाजका अध्यक्ष निशान खान, ग्लोबल एडुकेयर एकाडेमीका प्रिन्सिपल विमान लामा लगायतको आतिथ्य रहेको थियो ।

समाजका अध्यक्ष पंकज मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमको औचित्यमाथि राजु मण्डलले प्रकाश पारेका थिए । समाजका उपाध्यक्ष दिगम मण्डलले स्वागत गरेको कार्यक्रमको सञ्चालन समाजका सचिव रविन मण्डल र मिनु दासद्वयले गरेका थिए ।

औपचारिक कार्यक्रम समापनपछि समाजले परम्परागत भेषभुषामा सजिएर बाजागाजासहित पुजास्थल कालिस्थान चौकबाट पैदल कलश यात्रा गरी कनकाई नदीबाट जल ल्याई मनसादेवीको मूर्तिमा जलार्पण र पुष्पार्पण गरिएको थियो । साँझको कार्यक्रममा लोकप्रिय भजन गायक राजु अधिकारीबाट भजन र माधव भेट्वालबाट ताण्डव नृत्य प्रस्तुत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here