पुरस्कारले सेवाको प्रतिविम्वन गर्नुपर्छ

0
13

देशभित्र जनताको हित र कल्याणको कार्य गर्ने संस्थागत सेवा प्रवाह गर्ने संगठीत संस्था निजामती सेवा हो । निजामती सेवाका सेवकहरुले जनताका विभिन्न किसिमका सेवा प्रवाह गर्दै जनता र सरकारलाई जोड्ने काम गर्छन् । सरकारद्वारा घोषित नीति तथा कार्यक्रमहरुलाई कार्यान्वयन गर्ने भएकाले निजामती सेवालाई स्थायी सरकार पनि भन्ने गरिएको छ । सरकार राजनीतिबाट गठित, सञ्चालित र निर्देशित हुने हुँदा ऊ पटक–पटक फेरबदल भइरहन्छ, अल्पमत र बहुमतको जोड–घटाउले विघटन पनि हुन्छ । तर, निजामती सेवा अविच्छिन्न र स्थायी रहन्छ, त्यसैले यसलाई स्थायी सरकार भनिएको पनि हो । सरकारद्वारा घोषित नीति तथा कार्यक्रमको कार्यान्वनय गर्ने यो सेवामा संलग्न राष्ट्र सेवकहरुलाई उत्प्रेरणा र ऊर्जा प्रदान गर्दै अझै बढी सेवा गर्न प्रोत्साहित गर्ने उद्देश्यले निजामती सेवा दिवस मनाउन थालिएको छ ।

यो दिनको अवसरमा सरकारले निजामती सेवामा रहेर राम्रो सेवा गर्ने कर्मचारीहरुलाई पुरस्कृत गर्दै आएको छ । निजामती सेवा नियमावलीमा सरकारले सर्वोत्कृष्ट, उत्कृष्ट र निजामती सेवा पुरस्कार वितरण गर्ने प्रावधान छ । त्यसै अनुसार वितरण गर्न शुरु गरेको पुरस्कारमध्ये सर्वोत्कृष्ट निजामती कर्मचारी पुरस्कार विगत आठ वर्षदेखि प्रदान गरेको छैन । त्यसका लागि सरकारले सर्वोत्कृष्ट कार्य गर्ने कर्मचारी फेला पार्न नसकेको आंकलन गरिएको छ । हुनसक्छ पुरस्कारका लागि सरकारले तोकेको मापदण्ड पालना गरेका कर्मचारी नै भेटिएनन् । निजामती सेवा नियमावली २०५० को नियम ११६ (क) मा व्यवस्था भए अनुसार निजामती सेवाका सर्वोत्कृष्ट एकजना कर्मचारीलाई दुई लाख रुपैयाँ राशिको यो पुरस्कार प्रदान गर्ने व्यवस्था छ । २०६१ सालदेखि मनाउन शुरु गरिएको यो दिवसका लागि देशभरका ६८ हजार कर्मचारीमा एकजना नभेटिनु चिन्ताको विषय पनि हो ।

कुनै पनि पुरस्कार वा सम्मान प्राप्त गर्न व्यक्ति स्वयम्ले आवेदन गर्नुपर्ने परिपाटी आफैंमा स्वस्थ होइन । यहाँसम्म कि कुनै पनि उच्च तहको नियुक्तिका लागि स्वयम्ले निवेदन दिनुपर्ने प्रणालीलाई परम्परा बनाउन थालिएको छ । कुनै व्यक्तिले म आफैं योग्य, सक्षम र अब्बल छु भन्नु उचित हुँदैन । कसैको विज्ञता वा क्षमता उसको कार्यशैली, विगतका कार्यको समाजले गर्ने मूल्यांकनले तय गर्नेछ र त्यही नै क्षमताको मापदण्ड हुुनुपर्छ । आफैं ‘मपाइँ’ बन्न खोज्नु समाजका लागि मान्य हुँदैन पनि । सायद त्यही भएर विगतमा सर्वोत्कृष्ट पुरस्कार पाउने तत्कालीन सचिव नै श्रीमतीको लोकसेवा परीक्षाको कापी आफैंले जाँच गरेको भन्दै विवादमा परेका थिए । सायद त्यहीकारण सरकारले देशभरबाट सर्वोत्कृष्ट राष्ट्रसेवकको पहिचान गर्न सकेन । सरकारले प्रदान गर्ने पुरस्कार विवादरहीत हुनुपर्छ । केबल सिंहदरवारमा सेवा गर्ने मात्र पुरस्कारको दायरामा पर्ने मानसिकताबाट सरकार मुक्त हुनुपर्छ । देशका दुर्गम तथा टाडाका गाउँहरुमा बसेर काम गर्ने राष्ट्रसेवकहरुले गरेको इमान्दारीतापूर्ण र जनसेवाको पनि उचित मूल्यांकन हुनुपर्छ । विपद्, दैवीप्रकोप, महामारी जस्ता संकटका घडीमा जीउज्यान लगाएर खटिने साना तहका कर्मचारीले समेत अपनत्वव ग्रहण गर्ने गरी पुरस्कार वितरण गरिनु पर्दछ । यसो भएमात्र कर्मचारीको मनोबल उच्च हुन्छ र कार्य सम्पादनमा अझ उत्कृष्टता आउन सक्छ । यसले उनीहरुबाट प्राप्त हुने सेवा सरल, सहज हुन्छ र राज्यले पनि सकारात्मक प्रतिफल प्राप्त गर्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here