पर्यटकीय मौसमको पखाईमा सौरेलीहरु

0
5

चितवन,

यहाँको होटल भिष्टा सौराहाका सञ्चालक रमेश सिलवाल होटलको रङ्गरोगन र सरसफाइमा व्यस्त हुनुहुन्छ । अबको एकदुई दिनमा काम सकेर पर्यटकको पर्खाइमा लाग्ने उहाँको योजना छ ।

कोठाभित्रको रङ्गरोगनको काम आज सक्ने तयारीमा रहनुभएका सिलवालले भन्नुभयो, “आज साँझसम्ममा रङ्गरोगनको काम सकेर टायलमा पुटिन दल्ने काम सुरु गर्दैछौँ”, उहाँले थप्नुभयो, “एकदुई दिनपछि पर्यटक बोलाउनु प-यो नि ।” बर्सातको समयमा घुम्न आउने पर्यटकको सङ्ख्या निकै कम हुने गर्दछ । केही वर्षअघि सम्म सौराहाका होटल व्यवसायीले मजदुर कर्मचारीहरुलाई यो समयमा बिदा दिने गर्दथे ।

सिलवालको भनाइमा आजभोलि थोरै पर्यटक भए पनि मजदुर कर्मचारी होटलमा रहने गर्दछन् । जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरे पनि यतिबेला होटलको सरसफाइ, रङ्गरोगन, मर्मतसम्भारमा व्यस्त हुनुहुन्छ । उहाँले भन्नुभयो, “होटललाई राम्रो बनाउने काममा जुटिरहेको छु ।”

असोज लागेसँगै पर्यटकको आगमन बढ्ने उहाँको अनुमान छ । क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका घिमिरेको भनाइमा वर्षात घटेर बाटो राम्रो भएमा असोज पहिलो साताबाट पर्यटकको आगमन बढ्दै जाने छ । होटलका मर्मतसम्भारका सबै काम यो महिनाभित्र सक्ने तयारीका साथ गरिरहेको उहाँले बताउनुभयो । घिमिरेले भन्नुभयो, “अबको केही दिनमा हाम्रो बगैँचामा ढकमक्क फूल देख्न सक्नुहुन्छ ।” पर्यटकलाई कसरी आकर्षण गर्ने भन्ने तयारीका साथ व्यवसायी जुटेका छन् ।

होटेल सेभेन लिमिटेडमा दुई सातादेखि पर्यटकको आगमन बढ्न थालिसकेको छ । होटलका प्रबन्ध निर्देशक सन्तोष पाठकले भन्नुभयो, “हाम्रोमा पर्यटकको राम्रो आगमन हुन थालिसकेको छ ।” वर्षातको समयमा पर्यटक कम हुँदा रङ्गरोगन र मर्मतसम्भारको काम गरिएको पाठकले बताउनुभयो । होटलको व्यवस्थापन पाठकसहितको समूहले लिएपछि पाँचतारे बनाउनेगरी काम थालिएको छ । उहाँको भनाइमा ९८ वटा कोठा थप गरेर एक हजार क्षमताका दुई हलसहितका संरचना बनाउने तयारी छ ।

रेष्टुरेन्ट एन्ड बार एसोसिएसनका पूर्वअध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहाका ८० वटा रेष्टुरेन्ट मर्मतसम्भारका काम सकेर पर्यटकको पर्खाइमा छन् । ३० वटा हात्तीको व्यवस्थापन गर्दै आएको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्षसमेत रहनुभएका खतिवडाले सौराहाका सबै पर्यटन व्यवसायी नयाँ पर्यटकीय मौसममा पर्यटकको पर्खाइमा रहेको बताउनुभयो ।

क्षेत्रीय होटल सङ्घका महासचिव गुणराज थपलियाले वर्षातसँगै बिग्रिएको बाटोका कारण यो वर्षातमा पर्यटकको आगमनमा निकै कमी आएको बताउनुभयो । पर्यटनसँग सम्बन्धित व्यवसायीहरु अबको मौसममा पर्यटकको राम्रो आगमन हुने अपेक्षासहित तयारीमा जुटेको उहाँको भनाइ छ । सौराहामा एक सय ५० भन्दा बढी होटल छन् । ती होटलमा छ हजार पाँच सय अट्ने क्षमता रहेको छ । जङ्गल सफारीका लागि विश्वमा प्रख्यात चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा सौराहा रहेको छ । थपलियाले भन्नुभयो, “स्वदेशी र विदेशी पर्यटक अबको मौसममा पहिलेभन्दा बढ्ने हाम्रो अपेक्षा छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here