कहिले लाग्ला नालीमा ढक्कन !

0
6

विनोद पाण्डे,
चारपाने ।

बिर्तामोड शहरमा किनमेल तथा आवतजावत गर्ने पैदलयात्रीहरू नगरपालिकाको कामप्रति रुष्ट भएका छन् ।

अव्यवस्थित सवारी पार्किङको कारण अवरोधमय बनेको सडकपेटीमा नगरपालिकाले अझ नालाको ढक्कनहरु यत्रतत्र पल्टाएर छोडिदिएको कारण आवतजावत गर्न झन् असहज भएको भन्दै सर्वसाधारण पैदलयात्रीहरु नगरपालिका प्रति रुष्ट भएका हुन् । धेरै ठाउँ पहिले नाला निर्माण गर्दा नै ढक्कन बनाइएको थिएन । दशकौं वर्षसम्म घपनी बिनाको नालाका कारण दुर्घटनाको जोखिम र दुर्गन्ध फैलिँदै आएको छ ।

गत असारमा आएको अविरल वर्षाका कारण बिर्तामोड–५ का मुख्य सडक काँकरभिट्टा रोडको नाला थुनिएको कारण डुबाउ भएको थियो । डुबानका कारण व्यापारीहरूको सामानमा क्षति पुगेको थियो । शहर जलमग्न भएपछि नगरपालिकाले नालामाथि राखिएको ढक्कनहरु खोलेर नाला सफा गरेर पानीको निकास दिएको थियो ।

तत्कालिन अवस्थामा नगरपालिकाले गरेको कामको स्थानीय व्यवसायीहरूले प्रशंसा गरेका थिए । तर, यतिबेला दुई महिनासम्म नालाको ढक्कन नगरपालिकाले व्यवस्थापन नगरेको प्रति हिजो प्रशंसा गर्ने व्यवसायीहरू पनि अहिले नगरपालिकाको आलोचना गर्न थालेको प्रसाई मार्केटका एक व्यापारीले बताए ।

बिर्तामोड मुक्तिचोक पूर्व उत्तरतर्फ करिब तीन सय मिटर नालाको ढक्कन निकालेर नाला सफा गरिएकोमा अझै पुरानो हिकोला, मेघा कम्प्लेक्स्, पुरानो इलाम स्टेण्ड क्षेत्रमा नालाका ढक्कनहरु यत्र तत्र पल्टिएको अवस्था रहेको छ ।

त्यसै पनि साँधुरो सडक पेटीमा पार्किङ, फुटपाथ पसल, कतिपय ठाउँमा निर्माण सामग्री राखिएको छ त्यसमा नालाको ढक्कन पनि पैदल हिँड्ने ठाउँमा हुँदा पैदलयात्रीहरूमा हिँड्न पाउने अधिकार हनन् भएको इलामबाट बिर्तामोडमा किनमेल गर्न आएका हरि गुरुङले नगरपालिकाको लथालिङ्गे काम भन्दै आलोचना गरे ।

चाडवाड नजिकिएको छ । हर्ष र उल्लासको यस अवधिमा कम्तिमा बजार क्षेत्र सफा, व्यवस्थित उपभोक्तामैत्री बनाइनुपर्ने हो, यसतर्फ नगरपालिका, बिर्तामोड उद्योग वाणिज्य सङ्घ, सामाजिक सङ्घ–संस्था, उपभोक्ता मञ्च, स्थानीयबासी र व्यवसायीहरू यस विषयप्रति सचेत हुनुपर्ने हो । तर, त्यस्तो सचेत नबनेको देखियो नारायणगढ चितवनका अर्का पैदलयात्री राजिव श्रेष्ठको भनाइ छ ।

सभा–सम्मेलनहरुमा पूर्वकै व्यापारिक, भव्य र सभ्य शहर बिर्तामोड भनेर वाणी वाचन गर्नेहरु पनि यो विषयप्रति मौन छन् । यस्तो अवस्थाको कारण अन्यत्र गएर आफूलाई बिर्तामोडबासी भन्न लाज लाग्न थालेको एक स्थानीयको भनाइ छ ।

बिर्तामोड नगरपालिका–५ का वडाध्यक्ष रोहित प्रसाईलाई ढक्कन निकालेर किन नलगाएको भनेर प्रश्न गर्दा ‘सडक विभागको क्षेत्र अधिकार पर्छ, तत्कालीन विपद्को बेला नगरपालिकाको खर्चले पानीको निकास दिएका थियौं । सो पश्चात ढक्कन लगाउन कामदारलाई जिम्मा दिएको छ, धेरै ठाउँमा पुनः ढक्कन नालामा लगाई सेकेको छ, कामदारको ठिलासुस्तीका कारण मुख्य ठाउँहरुमा अझै ढक्कन लागेको छैन ।’

उनले थपे– ‘वास्तवमा सडक पेटी व्यवस्थापनको काम सडक विभागले गर्नुपर्ने हो सडक विभाग कर्मचारीलार्ई नाला र सडक व्यवस्थित गर्न धेरै पटक अनुरोध गरियो, जवाफमा अब एसियन परियोजना अन्तर्गत काम हुने जवाफ आउँछ एसिएन सडक निर्माण कम्पिनीलाई भन्दा अब छिट्टै भत्काउने भन्छन् ।

व्यसायीहरुहरुले पनि आफ्नो पसल अगाडिको ढक्कन व्यवस्थापन गर्न श्रम सहयोग गर्ने भन्नु भएको छ । अब दुई दिन पछि व्यवसायी साथीहरुको सहयोगमा निकालिएको बाँकी ढक्कन लगाउने काम सम्पन्न हुनेछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here