बिर्तामोड।

मानिस कतिसम्म क्रुर र आपराधिक गतिविधिमा संलग्न बन्दै गएका छन् भन्ने पछिल्लो उदाहरण बाह्रदशी गाउँपालिकाको एक घटनाले देखाएको छ ।
गत जेठ १५ गतेदेखि हराएका बाह्रदशी गाउँपालिका–५ फूलवारी निवासी २२ वर्षीय राजेश हजामको निर्मतापूर्वक हत्या गरी शवलाई भान्सा घरमा गाडेर घर ढलाइ गरेको घटनाले पुष्टि गरेको छ ।
आपराधिक क्रियाकलापमा संलग्न रहेकाहरुले प्रमाण नष्ट गर्न अनेक हत्कण्डा अपनाएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताएका छन् । उनका अनुसार हजामको हत्यापछि शवलाई भान्सा घरमा गडेर ढलान गरियो । तर, पछि पुनः शवलाई सो स्थानबाट उत्खनन् गरेर अन्यत्रै लगेर गाडिएको सूचना प्राप्त भएको छ । यो समाचार तयार पार्दासम्म हजामको हत्याको कारण भने खुल्न सकेको छैन ।
प्राप्त सूचनाका आधारमा प्रहरीले सो स्थानको पहिचान गरी उत्खनन् गर्ने पक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरक्षक मिलन केसीले बताए । उनका अनुसार घटनामा संलग्न भएको आशंकामा बाह्रदशी–७ निवासी ३१ वर्षीय समिर राजवंशी, २१ वर्षीय आशिष थापा, २० वर्षीया मुना मेचे (राजवंशी) र १६ वर्षीय नरेश राजवंशी पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले घटनाका विषयमा थप अनुसन्धान गरिरहेको बताइएको छ ।
पक्राउ पर्नेमध्ये २० वर्षीया मुना र १६ वर्षीय नरेश राजवंशी भाउजू देवर हुन् भने ३१ वर्षीय समिर राजवंशी जेठाजु हुन् ।
प्रहरीलाई प्राप्त विवरणका आधारमा हजामको शव पुरिएको भनिएको घर उत्खनन् गरिएको छ । उत्खनन्का क्रममा नुनका बोरा, कपडा र हत्यामा प्रयोग गरिएको बाम्फोक बरामद भएको छ ।
इलाका प्रहरी कार्यालय अनारमनी, इप्रका घैलाडुब्बा र जिल्ला प्रहरी कार्यालय झापाको टोलीले घटनाका विषयमा अनुसन्धान अघि बढाएको हो । सो क्रममा हजामको हत्यामा प्रयोग गरिएको सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।
हजामको हत्या भएको जस्तो देखिन्छ– प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले भने– तर, हत्या के कारणले भयो, त्यो भने खुल्न सकेको छैन । हामी अनुसन्धानको क्रममा छौं ।
गत जेठ १५ गते बाह्रदशी–५ निवासी भीम हजामको छोरा हराएको भन्दै जेठ १७ गते प्रहरीमा खोजीकार्यका लागि भन्दै खोजपत्र परेको थियो । सो आधारमा प्रहरीले उनको खोजी कार्य अघि बढाएको थियो । यसैक्रममा विशेष सूचनाका आधारमा घटनाको नजिक पुगिएको प्रहरी उपरीक्षक केशीको भनाइ छ ।
हजामको हत्या गरेर शुरुमा भान्सा घरमा शव गाडेको खुलेको छ । पछि सो शव अन्यत्रै सारिएको अनुसन्धानले देखाएको प्रहरी उपरीक्षक केशीको भनाइ छ । शुरुमा घर हेरियो, पछि अन्यत्रै शव गाडेको सूचना पाएपछि प्रहरीले शुक्रवारबाट सो स्थानमा समेत अनुसन्धान अघि बढाएको छ । घटनाका विषयमा नरेशकी आमा मुना र काकाले राजेशलाई हत्या गरेर गाडेको प्रहरीलाई बताएसँगै प्रहरीले अनुसन्धान अघि बढाएको थियो । पक्राउ परेका उनीहरुले राजेशको हत्या गरेको स्वीकार गरेको बताइएको छ ।
यता घटनामा संलग्न भएको भनिएका गणेश दुबईमा छन् । घटना गराएर उनी विदेश गएको आशंका गरिएको छ । मुनाका श्रीमान अभय राजवंशी भने पहिलादेखि नै साउदी अरबमा छन् ।
शुक्रवार अपरान्हदेखि थालिएको उत्खनन् राति १० बजेदेखि रोकिएको थियो । प्रहरीले राजवंशीको घर आँगन सिल गरेको थियो । जथाभावी उत्खनन् गर्नुभन्दा अनुसन्धान गरेर उत्खनन् गरिने इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी उपरीक्षक प्रकाश विष्टले बताए । घटना के हो ? भनेर क्लीयर भइसकेको छैन’– उनले भने– ‘घटनाको कडी पत्ता लगाउने प्रयास गरिरहेका छौ ।’
शुक्रवार साँझ उत्खनन् गर्दा केही युट्युबरहरुले घटनास्थलमै लुकेर लाइभ गरेकोमा प्रहरीले आपत्ति जनाएको छ । घटनास्थललाई सिल गरेर घटनाको प्रमाण जुटाइरहेको अवस्थामा त्यसरी सञ्चारमाध्यममार्फत सबै कुरा सार्वजनिक नगरी दिन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले अनुरोध गरेका छन् । घटनाका विषयमा प्रमुख जिल्ला अधिकारी बाँस्तोला, प्रहरी उपरीक्षक केसी, बाह्रदशी गाउँपालिकाका प्रमुख देविन्द्रप्रसाद चम्लागाँई लगायतले घटनाको सूक्ष्म तवरले अनुसन्धान भइरहेको बताएका छन् ।





























