झापा जिल्लामा हुने अपराधका अधिकांश घटनाहरुमा लागूऔषध सेवन गर्नेहरुको संलग्नता हुने गरेको छ । स्थानीय प्रशासनको तथ्यांक अनुसार पछिल्लो तीन वर्षयता झापामा यसको कारोबार तथा प्रयोग गर्ने एक हजार एक सय पाँच जना पक्राउ परिसकेका छन् । गत आर्थिक वर्ष २०८१ मा मात्रै चार सय ६२ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला अदालतको तथ्यांक अनुसार पनि झापामा सबैभन्दा बढी सम्बन्धबिच्छेद र अंश चलनपछि लागूऔषधका मुद्दा फछ्र्र्यौंट भएको जनाएको छ । प्रहरी कार्यालय तथा लागूऔषध नियन्त्रण ब्युरो लगायत यस क्षेत्रमा काम गर्दै आएका संस्थाहरुको अध्ययन अनुसार पनि लागूऔषधको कारोबार तथा सेवनकर्ताहरुका कारण सामाजिक समस्याहरु बढ्दै गएका छन् ।
जिल्लास्थित लागूऔषध नियन्त्रण ब्यरोका अनुसार झापामा लागूपदार्थ दुव्र्यसनी तथा कारोबारीको केन्द्र बन्दै गएको छ । लागूऔषध खैरो हेरोइनको सेवन गर्नेहरुकै संख्या झापामा बीस हजारभन्दा बढी छ । ब्यूरोका काँकरभिट्टाका प्रहरी नायव निरीक्षक सोमेस लामिछानेले झापा काठमाडौंपछिको दोस्रो स्थान हो, जहाँ खैरो हेरोइन प्रयोगकर्ताहरु रहेका छन् । झापा लागूऔषधको उच्च जोखिममा रहनु र सुरक्षा संयन्त्रको लागि चुनौती बनिनुमा खुला सीमाना हुनु मुख्य कारण हो । भारतसँग सीमाना जोडिएको १४४.२ किलोमिटर क्षेत्र रहेको छ, जसले लागूऔषधको कारोबारको ग्राफ निरन्तर बढ्ने क्रममा छ ।

लागूऔषधको कारोबार र दुव्र्यसन यसकारण पनि हाम्रा लागि चुनौतीका रुपमा रहेको छ कि यसका कारण प्रतिदिन डेढ करोड रुपैयाँभन्दा बढी बाहिरिने गरेको छ । जिल्लामै रहेका लागूऔषध सेवनकर्ताले सीमावर्ती भारतीय बजारमा सहजै उपलब्ध हुने यसको खरिदमा गर्ने खर्चका कारण पनि हाम्रो अर्थतन्त्रमा प्रतिकूलता थपिरहेको छ । त्यो भन्दा पनि जटिल समस्याका रुपमा युवतीहरुको प्रयोगलाई लिन सकिन्छ । ब्युरोका प्रनानि लामिछानेका अनुसार भारतीय नागरिकले बिर्तामोड लगायतका सीमावर्ती बजारमा डेरा लिएर नेपाली युवतीहरुलाई प्रलोभनमा पारी लागूऔषधको लतमा फसाउँछन् । त्यही लतका कारण ती युवतीहरु देहव्यापारमा समेत संलग्न हुने गरेका प्रनानि लामिछानेको भनाइ छ ।
लागूऔषधको दुव्र्यसनले कारोबार बढाउने भएकाले यसले अनेक सामाजिक समस्याहरु उत्पन्न हुन थालेका छन् । दुव्र्यसनले आर्थिकसँगै मानसिक तथा शारीरिक समस्या निम्त्याउने छ भने पारिवारिक कलह, विखण्डन तथा सामाजिक अपराधहरु पनि बढाउँछ । यसलाई समयमै नियन्त्रण गर्न सकिएन भने हाम्रो पलायन हुनबाट बचेका युवा शक्तिको क्षमता नष्ट हुनेछ । यसले समग्रमा राष्ट्रको विकास र समृद्धिमा अवरोध ल्याउँछ । त्यसैले उनीहरुलाई उपचार, पुनस्थापना र चेतनाको माध्यमबाट परिवार र समाजमा जोड्न सम्बद्ध निकाय, नागरिक समाज र सरकारले पहल गर्नुपर्छ । त्यसका लागि लागूऔषधको कारोबार नियन्त्रण गर्दै सीमानाकामा कडाइ गर्नुका साथै राज्यका तर्फबाट नीतिगत सुधार गर्नुपर्छ । अन्यथा देशको भविष्य नै असुरक्षित हुनेछ ।


























