अर्जुनधारा ।

झापाको हल्दीबारी–४ स्थित जलथल साना किसान कृषि सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
स्थानीय पाथीभरा सिंहकाली धार्मिक तथा पर्यटकीय क्षेत्रको सभाहलमा संस्था सञ्चालक समितिकी अध्यक्ष कृष्णमाया गिरीको अध्यक्षतामा आयोजित उक्त सभाको प्रमुख अतिथि हल्दीबारी गाँउपालिकाका अध्यक्ष रविन्द्र लिङदेनले उद्घाटन गरेका थिए ।
सभामा समितिकी अध्यक्ष गिरीले संस्थाको गत आर्थिक वर्ष ०८०÷०८१को वार्षिक प्रगति प्रतिवेदन र आन्तरिक लेखा सुपरीवेक्षण समितिकी संयोजक सीतादेवी ढुंगेलले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदनमा संस्थाको जम्मा शेयर पूँजी दुई करोड ६५ लाख २० हजार सात सय रुपैयाँ, साधारण जगेडा कोषमा एक करोड १३ लाख ६३ हजार तीन सय ५६ रुपैयाँ, अन्य कोषहरुमा ९९ लाख ९२ हजार ४० रुपैयाँ, कुल निक्षेप आठ करोड ४२ लाख ४६ हजार २२ रुपैयाँ, कुल ऋण लगानी १२ करोड ६८ लाख एक हजार ४२ रुपैयाँ उल्लेख गरिएको छ । त्यसैगरी संस्थाको गत आर्थिक वर्षको कुल आम्दानी पाँच करोड ६६ लाख ६५ हजार ४१ रुपैयाँ, जम्मा खर्च चार करोड ९७ लाख १६ हजार आठ सय २६ रुपैयाँ र नाफा ६९ लाख ४८ हजार दुई सय १५ रुपैयाँ रहेको छ ।

सोही सभामा विभिन्न व्यक्तित्व एवम् अन्तर समूहलाई पुरस्कृत एवम् सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा उत्कृष्ट अन्तरसमूहतर्फ अन्तर समूह नं.२ बाघडाँडा केन्द्र, तरकारी खेतीतर्फका उत्कृष्ट कृषकहरु गीता कार्की, रेनुका हस्दा र सीतादेवी दंगाल तथा निरन्तर दूध उत्पादनतर्फ दुर्गादेवी वन, विष्णु मैनाली र सरीता निरौला रहेका छन् ।
त्यस्तै शेयर सदस्यका सन्तानहरुमध्ये साविका जलथल गाविस अन्र्तगत रहेका सामुदायिक विद्यालयतर्फ गत शैक्षिक वर्ष २०८०मा सम्पन्न भएको एसईई परीक्षामा महेन्द्र माध्यमिक विद्यालयका उत्कृष्ट छात्र सत्यम नेपाल र छात्रा शिशम मैनाली तथा लक्ष्मी माध्यमिक विद्यालयका उत्कृष्ट छात्र रमेश महत र छात्रा तनुजा पौडेल पुरस्कृत भएका छन् ।
यता संस्थाको वित्तिय प्रशासनतर्फ उत्कृष्ट कर्मचारीबाट पूर्वी तामाङ र दुग्ध व्यवस्थापनतर्फ उत्कृष्ट कर्मचारीबाट चैतन्यप्रसाद आचार्य पुरस्कृत भएका छन् । सभामा हल्दीबारी–४का वडाध्यक्ष सन्तकुमार थापा, गाँउ सभा सदस्यद्धय प्रकाशकुमार कार्की र विष्णुमाया तिम्सिना ढुंगेल, झापा जिल्ला कृषि सहकारी संघका अध्यक्ष केशव सापकोटा, पृथ्वीनगर साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक देवीप्रसाद कोइराला, हल्दीबारी साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष मोहनचन्द्र रेग्मीलगायतले शुभकामना मन्तव्य राखेका थिए । समितिकी उपाध्यक्ष तारादेवी पौडेलले स्वागत गरेको उक्त सभाको सञ्चालन संस्थाकी व्यवस्थापक तारा भट्टराईले गरेकी थिइन् ।
सोही सभाले आगामी चार वर्षे कार्यकालको लागि संस्था सञ्चालक समितिको अध्यक्षमा खेसकुमारी गिरी वनलाई सर्वसम्मत चयन गरेको छ । त्यसैगरी नवगठित समितिको उपाध्यक्षमा शर्मिला लामिछाने, सदस्यहरुमा उर्मिला कुलुङ राई, कोपीला सिरुवाल, कृष्णमाया गिरी, गीता मेचे, चन्दा दाहाल, चन्द्रमाया पौडेल, मीना फागो र रञ्जु मेचे चयन भएका छन् ।
त्यस्तै सभाले कोपीला अधिकारीको संयोजकत्वमा गीता आचार्य ओली र देवीमाया आचार्य सदस्य रहेको आन्तरिक लेखा सुपरीवेक्षण समिति गठन भएको सहायक प्रबन्धक युवराज भण्डारीले जानकारी दिए ।































