अर्जुनधारा ।

झापाको अर्जुनधारा–३ स्थित सुपर–११ खुदुनाबारीको आयोजनामा शनिबारदेखि दोस्रो खुदुनाबारी क्रिकेट प्रतियोगिता–२०८१ शुरु भएको छ ।
साझा चाड शुभ दीपावलीको अवसरमा कैदले पर्यापर्यटन क्षेत्रस्थित प्राकृतिक रंगशालामा आयोजक संस्थाका अध्यक्ष सन्दिपकुमार राईको अध्यक्षतामा आयोजित उक्त प्रतियोगिताको प्रमुख अतिथि वडाध्यक्ष सीताराम भट्टराईले उद्घाटन गरेका थिए ।
१५ वटा टिमको सहभागिता रहेको प्रतियोगिताका विजेता र उपविजेता हुने टिमले नगद पुरस्कार क्रमश २५ हजार र २० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने संस्थाका अध्यक्ष राईले जानकारी दिए । विजेताको नगद पुरस्कार स्थानीय जुकेखाडी सामुदायिक वन उपभोक्ता समूह र उपविजेताको नगद पुरस्कार ३ नं. वडा कार्यालयले प्रायोजन गरेको बताइएको छ ।
प्रतियोगितामा सहभागी टिमहरुमा आयोजक सुपर–११ खुदुनाबारीसहित थण्डर–११, आदर्थ युवा क्लब, रातेखाल क्रिकेट क्लब, सरस्वती एकेडेमी, देवी सेकेण्डरी स्कूल, दी पन्थापाडीयाज, खुदुनाबारी क्रिकेट क्लब, बरफल्याङ क्रिकेट क्लब, एब्सुलेट युनाइटेड, प्रगतिशिल युथ क्बल, थण्डर इगल, अर्जुनधारा–४, ड्रागन–११ र अर्जुनधारा–७ रहेका छन् ।
प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद पुरस्कार एक हजार प्राप्त गर्ने उक्त प्रतियोगिताको फाइनल खेल यही कात्तिक १७ गते रहेको छ ।यसैबीच सोही दिन सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा आदर्श युवा क्लब बुद्धशान्तिलाई ९३ रनले पराजित गर्दै थण्डर–११ दोस्रो चरणमा पुग्न सफल भएको छ ।
पहिलो ब्याटिङको निम्तो पाएको थण्डर–११ले निर्धारित १० ओभरको खेलमा पाँच विकेट गुमाएर १२७ रन जोडेका थिए । १२८ रनको लक्ष्य पछ्याएर ब्याटिङ गर्न आएको आदर्श ३४ रनमा समेटिएको थियो ।
आयोजक संस्थाका प्रदीप बस्नेतले स्वागत गरेको उद्घाटन कार्यक्रमको सञ्चालन सचिव सौगात राईले गरेका थिए । भोलि(आइतबार)को पहिलो खेल रातेखाल क्रिकेट क्लब र सरस्वती एकेडेमी तथा दोस्रो खेल देवी सेकेण्डरी स्कूल र दी पन्थापाडीयाज बीच हुने बताइएको छ ।


























