पथरी शनिश्चरे,

पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा पथरी शनिश्चरे नगरपालिकाको आवधिक योजना मस्यौदा प्रतिवेदन अन्तरक्रिया कार्यक्रम भएको छ ।
शनिबार नगरपालिकाको सभाहलमा नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षमा नगरपालिकाको आवधिक योजना मस्यौदा प्रतिवेदन अन्तरक्रिया कार्यक्रम भएको हो ।
सो आवधिक योजना मस्यौदा प्रतिवेदन अन्तर्क्रियामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशी राईले कार्यक्रमका बारेमा प्रष्ट्याउनुभएको थियो । कार्यक्रममा डा. गोकर्ण प्रसाद ज्ञवाली, डा. सुनिल आचार्य र हुमलाल भण्डारीले आ–आफ्नो प्रस्तुति राख्नुभएको थियो र सहजीकरण पनि गर्नुभएको थियो ।
कार्यक्रममा आवधिक योजनाको समग्र खाका, नगरपालिकाले उच्च प्राथमिकताका साथ तत्काल कार्यान्वयन गर्नुपर्ने र नगरको गौरवको योजनाहरु बारेमा विस्तृत छलफल गरिएको थियो । सो छलफलका लागि विभिन्न शाखागत समूह बनाएर छलफल गरिएको थियो र छलफल पश्चात् विषयगत सुझाव संकलन पनि गरिएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति रुपनारायण भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका हिक्मत श्रेष्ठ र वडा नं. ९ का अध्यक्ष विरबहादुर राईले मन्तव्य राख्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा नगरपालिकाका उप–प्रमुख देविमाया काफ्ले, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, सामुदायिक विद्यालयका प्रधानाध्यापक, नेपाल पत्रकार महासंघका प्रतिनिधि र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।































