खुदुनाबारीमा अन्तर नगरपालिका नकआउट फुटबल प्रतियोगिता हुने

0
9

अर्जुनधारा ।

झापाको अर्जुनधारा–१, २ र ३ नं. वडा कार्यालय(साविक खुदुनाबारी गाविस)को संयुक्त आयोजनामा यही कात्तिक २६ गतेदेखि अन्तर नगरपालिका नकआउट फुटबल प्रतियोगिता–२०८१ हुने भएको छ ।

खेलकुदको माध्यमबाट सम्पूर्ण नगरपालिकाबीच भाइचाराको सम्बन्ध कायम गर्ने तथा स्थानीयस्तरमा रहेका युवालाई खेलकुदको क्षेत्रमा प्रोत्साहन गर्दै व्यावसायिक खेलाडी उत्पादन गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा बताइएको छ ।

प्रतियोगितामा आयोजकसहित अर्जुनधारा नगरपालिका ‘ए’, कनकाई नगरपालिका, गौरादह नगरपालिका, दमक नगरपालिका, बिर्तामोड नगरपालिका, भद्रपुर नगरपालिका, मेचीनगर नगरपालिका, शिवसताक्षी नगरपालिका र इलामको माई नगरपालिकाको सहभागिता रहेको अर्जुनधारा–३का वडाध्यक्ष एवम् प्रतियोगिता मूल आयोजक समारोह समितिका संयोजक सीताराम भट्टराईले जानकारी दिए ।

आगामी मंसीर ५ गते फाइनल रहेको प्रतियोगिताका विजेता र उपविजेताले नगद पुरस्कार क्रमश एक लाख ११ हजार दुई सय ११ रुपैयाँ र ५५ हजार छ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल तथा पुरस्कार प्राप्त गरेका छन् । विजेतानको नगद पुरस्कार बुबा डिल्लीविक्रम नेम्वाङको स्मृतिमा छोराहरु दानेन्द्रविक्रम नेम्वाङ र कर्वेन्द्रविक्रम नेम्वाङबाट र उपविजेताको नगद पुरस्कार हाल अमेरिकामा रहेका स्थानीय प्रेम दुलालले सौजन्य गर्ने बताइएको छ ।

त्यसैगरी प्रतियोगिता अन्र्तगत प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार जनही सात हजार र प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार पाँच हजार प्रदान गरिने बताइएको छ । अर्जुनधारा नगरपालिकासहित प्रतियोगितामा सहभागी हुने जिल्लाका आठ वटा नगरपालिका, आयोजक वडा कार्यालयहरु, सामुदायिक वन र दाताहरुबाट आर्थिक स्रोत जुटाउने लक्ष्य लिएको उक्त प्रतियोगिता सम्पन्न गर्ने अनुमानित १५ लाख रुपैयाँ लाग्ने प्रस्तुत आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतियोगिताबाट बचत भएको रकमलाई खेलहरु सञ्चालन हुने अर्जुनधारा–३ खुदुनाबारीस्थित कैदले प्राकृतिक रंगशालाको स्तरोन्नती एवम् फुटबल खेल प्रशिक्षणमा लगानी गरिने बताइएको छ ।
प्रतियोगिता सम्पन्न गर्न ढुण्डीराज गौतमको संयोजकत्वमा आर्थिक उपसमिति, धनबहादुर तामाङको संयोजकत्वमा खेल सञ्चालन उपसमिति, सागर घिमिरेको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, दीपक दुलालको संयोजकत्वमा खेल मैदान व्यवस्थापन उपसमिति, लीलाबल्लभ खतिवडाको संयोजकत्वमा स्वयंसेवक परिचालन उपसमिति, मुकुन्द भण्डारीको संयोजकत्वमा प्राथमिक उपचार व्यवस्थापन उपसमिति र हीमा मगरको संयोजकत्वमा अतिथि सत्कार उपसमिति गठन भएको वडासचिव खगेन्द्र लिङदेनले जानकारी दिए ।

कार्यक्रममा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले “मामा”ले प्रतियोगिताको नियमावली बारे जानकारी गरेका थिए । वडाध्यक्ष भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ, निवर्तमान उपप्रमुख कमला खतिवडा आचार्यलगायतले आफ्नो धारणा राखेका थिए । उक्त कार्यक्रमको सञ्चालन वडासचिव लिङदेनले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here