उज्यालोको चाड हो– तिहार । उज्यालो दीप र रङ्गिन किरणको चाड हो तिहार । दीपैदीपैले घरआगन धपधप पारिने चाड हो तिहार । औंशीछेक परे पनि तिहारको मौसम किरणमय हुन्छ उज्यालो हुन्छ अनि सुन्दर हुन्छन् घरका आँगन, बगैँचाहरु । ताराहरु जगमगाउँछन् आकाशमा अनि धर्तीमा जताततै उज्यालै उज्यालोको साम्राज्य फैलन्छ तिहारतामा । माइतीको भविष्य उज्यालो दीप जस्तै होस् भनि चेलीहरुले कामना गर्ने चाड हो– तिहार । प्रकृति, मौसम र मानवबीच समधुर सम्बन्ध कायम राख्ने चाड हो तिहार ।
तिहारको सांस्कृतिक पक्ष पनि उज्यालो किरणमय छ । काग तिहारका दिनदेखि नै घरआगन उज्यालो पारी स्वागत गरिन्छ तिहारलाई । कुकुर तिहारका दिन पनि घरआगन, चोक आदि धपधप पारिन्छ उज्यालो बत्तीहरु बालेर । गोबद्र्धन पुजाका दिन पनि उसैगरी रंगीचंगी बत्ती बालेर उस्तै उज्यालो पारिन्छ । उज्यालो मात्र पारिन्न, उज्यालोको कला पस्किने गरिन्छ तिहारमा । विभिन्न कलात्मक दियो, पाला, पानस अनि बान्की–बान्कीका बिलुजी बत्तीहरु बालिन्छन् तिहारमा । उज्यालो बिना तिहारको कल्पना असम्भव छ ।
तिहारमा बिजुलीबत्ती, पाला तथा दियोका उज्यालो जताततै फैलिन्छन् । उज्यालोले वातावरण जगमग हुन्छन् । दीपहरुको अनुपम दृष्यहरुले सबैको मन खुशीले पुलंकित हुन्छन् । सबैजना आनन्दले हर्षविभोर भई तिहार मनाउँदछन् । घरआगन जताततै दियो, पाला र बिजुलीका रङ्गबिरङ्गका दीपको उज्यालो भएर सुन्दर देखिन्छन् । तिहारमा दीपैदीप तथा उज्यालै उज्यालोले महादेश खडा गरिदिन्छन् । प्रकृतिको लीला तथा मानव मात्रले सिर्जना गरेका सम्बृद्ध संस्कृति देखेर मानव जाति आफै तीन छक्क पर्दछन् ।
दीप यस्तो सिर्जना हो प्रकृतिको, जसले मानिसको मनमा उमँग, निर्मलता, खुशी, उत्साह र स्फूर्ति भरिदिन्छ । टाढा–टाढासम्मको बाटो देखाइदिन्छ । जीवन जिउने प्रेरणा भरिदिन्छ । मानिसको जीवनमा सदा उज्यालो भरिदिन्छ र सारा काम साकार पारिदिन्छ । वर्षदिनको पीरमर्का, व्यथा, अँध्यारोपक्ष र कष्टहरु दीपहरुले बिर्साइदिन्छन् । दीपहरुले गरीबको सानो झुपडी या छाप्रो पनि महल जस्तै बनाइदिन्छन् । दीप नहुँदो हो त तिहार चाड खल्लो र उराठलाग्दो हुन्छ । तिहारमा तराईका गाउँ, बजार र शहरहरुमा जगमग उज्यालो नै उज्यालो नै हुन्छन् । रात हो कि दिन एकै हुन्छन् । आकाश या ब्रह्माण्डबाट समेत ती रङ्गीन र सुन्दर दीपका उज्यालाहरु देखिन्छन् । जहाँबाट देवताहरु समेत धर्तीमा तिहारछेकका उज्यालो देखेर मन्त्रमुग्ध हुन्छन् र मानवजातिलाई आशिष दिन्छन् ।
के शहर, के बजार अनि के गाउँ देहात उज्यालो उज्यालोबीच नै तँछाड–मछाड होड नै चल्छ सबैभन्दा राम्ररी उज्यालो हुने भनेर । जगमगाउँदो दृष्य देखेर नेपाल घुम्न आएका पर्यटकहरु समेत मन्त्रमुग्ध हुन्छन् । नेपालीहरुको मौलिक चाड देखेर रमाउँछन् र उनीहरुले समेत उज्यालोको उर्जा लिएर जान्छन् । विश्वभर वर्णन गर्दछन् ।
लक्ष्मीपूजाका दिन र रातमा त उज्यालोको बान्की र सजावट बिछट्टै हुन्छन् । घरका गेट, ढोका, कोठामा उज्यालै उज्यालाका साजोसामान जडित हुन्छन् सजिन्छन् । बान्की–बान्कीका उज्यालोहरु आकाशमा तारा–जुन जस्तै चम्कन थाल्दछन् । सूर्य जस्तै उज्यालो दिन थाल्दछन् । रातमा बत्तीको उज्यालोमा फूलहरुको सौन्दर्यताको निखार पनि दृष्यवालोकन गरिसाध्य हुन्न । तिहारका अरु आभूषण र साधनको सौदर्यको रुप वर्णन गरिसाध्य हुन्न । लक्ष्मी पुज्ने कोठामा त झन् विभिन्न किसिमका उज्यालाका उपकरण र सामान सजाइन्छन् । मानौ लक्ष्मीमातालाई उज्यालो नभइ हुन्न । लक्ष्मीमाता बिराजमान स्थान तारा पुञ्ज जस्तै देखिन्छन् ।
अब आयो भाइटीकाका दिनको चर्चा । यो दिनमा र रातमा पनि उज्यालोको स्वरुप अरु दिनभन्दा फरक अझ झिलिमिलीखालको हुन्छ । उज्यालो या दीप बिना भाइटीका सम्भव नै हुन्न । माइतीहरुका अगाडि दियो नबाली टीकाको बिधिबिधान अपूरो हुन्छन् । चेलीहरुले दियो र कलशले माइतीहरुलाई शुभ साइत गरी, दोषहरु भगाई पूजा गर्दछन् । चेली–माइतीको सम्बन्ध, स्नेह उज्यालोहरुले सुरक्षित राखिदिन्छन् ।
तिहारमा आ–आफ्नो घर–आगन, टोल–बस्ती उज्यालो पार्ने होड नै चल्दछ । उज्यालो घरमा सह ल्याउने साधन पनि हो । जहाँ उज्यालो त्यहाँ सह, जहाँ उज्यालो त्यहाँ लक्ष्मी र धन हुन्छन् । लक्ष्मीको प्यारो कुरा नै उज्यालो हो । देउसे–भैलेहरु उज्यालो लिएर देउसी–भैली खेल्न निस्कन्छन् । देउसे–भैलेहरुले मादल र खैँजडीमा मखमली या सयपत्री फूलका थुँगा सिउरेर उज्याला पारेका हुन्छन् । उज्यालो नै उनीहरुको मार्गदर्शक हुन्छन् । तिहारको उज्यालो अन्तरीक्षबाट पनि देख्न सकिन्छ । धर्ती धपक्क बलेको र चमचमाएको देखेर अन्तरीक्ष यात्रीहरु पनि तिहारको महत्वको महिमा नगरी रहन सक्दैनन् । उनीहरु पनि अन्तरीक्ष केन्द्रमै भएपनि तिहार मनाउँदछन् ।
ओ उज्यालो तिमी सधैँभरी यसरी नै सुन्दर भएर जगमग भएर बलिरहनु दीप या किरण छरिरहनु । मानिसहरुको घर–आगन र चाडबाडहरु सजाइरहनु । मानिसमा उर्जा र उत्साह भरिरहनुु । तिमीबिना मानिसको जीवन अधुरो हुन्छ । पर्वहरु खल्लो हुन्छन् ।
भनिन्छ– काग, कुकुर, गाई, गोरु तथा दाजुभाइलाई पूजा गरी सबै प्राणीहरूलाई सम्मान जनाउन सिकाउने चाड हो तिहार । यसको महत्वपूर्ण अर्थ यो हो कि, मानिसहरु मात्र होइ सबै प्राणीहरुको जीवनलाई उज्यालोतिर लैजाने प्रकाशको पर्व या उत्सव हो तिहार । जो चाड नेपालीहरुले धुमधामसँग मान्दछन् र विश्व मानव समुदायलाई यो सन्देश दिन्छन् कि, प्राणीहरु अँध्यारोबाट उज्यालो तर्फ जानु पर्दछ र जीवन सार्थक बनाउनु पर्दछ ।
कात्तिक कृष्णपक्ष त्रयोदशीदेखि कात्तिक शुक्लपक्ष द्वितीयाको दिनसम्मलाई यमपञ्चक भनिन्छ । यी पाँच दिन यमराजसँग सम्बन्धित भएकाले यी दिनहरुलाई यमपञ्चक भनिएको हो । यमराज भन्ने बित्तिकै हामी नकारात्मक भावना राख्दछौँ । तर, यमराज सूर्यपुत्र हुन् भनेर शास्त्रहरुमा उल्लेख गरिएका छन् । सूर्य उसै पनि सबैभन्दा उज्यालो कुरा हो ।
अनि भन्न मन लाग्छ, ओ उज्यालो तिमी यतिबिधि किन महत्वपूर्ण ? वास्तवमा उज्यालो मानिसहरुका लागि मार्गदर्शक र जीवनदर्शन हो । उज्यालो बिना मानिसहरुले केही पनि देख्न सक्दैनन् । उज्यालो प्रकृति या सृष्टीको अनुपम सिर्जना हो । यदि उज्यालो चाहे त्यो घाम, जुन या ताराको रुपमा किन नहोस् या बत्ती, दियो या आधुनिक जमानाका बिजुलीका साधन नै । उज्यालो नहुँदो हो त वातावरण कस्तो उजाड र उराठलाग्दो हुन्थ्यो होला । अहो कल्पना गर्दा मात्र पनि अवसादमा पुग्छ मन ।
धर्तीका सम्पूर्ण नरनारी, पशुपंक्षी, चराचर, वनजंगल, पहाड पर्वत, मृत्यु देवता आदिलाई समेत वनस्पति जगतका उत्पादन फूलमाला आदिबाट पूजा आराधना गरेर देउसीभैलो खेली शुभकामना व्यक्त गरिन्छ । रमाइलोका साथै शारीरिक स्वास्थ्यका लागि रोटेपिङ र लिङ्गेपिङ खेलिन्छ । सेलरोटी लगायत फलफूल, मिठाई र अन्य मिठा–मिठा खानेकुरा खाएर स्वस्थ भइन्छ । उर्जा र शक्ति हासिल गरिन्छ । तिहारैभरी अँध्यारोलाई चिर्न झिलीमिली बालिन्छ । नेपालीहरूको मौलिक सामाजिक, उज्यालोको चाड हो– तिहार । त्यसैले तिहार उज्यालोको चाड हो । सबैका घर–आगन उज्लायो होस् ।