तीर्थराज खरेल,
सुरुङ्गा ।
पाँच सय बढी प्रतिनिधिको सहभागिता रहने नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ (नेल्टा) को चौथो कोशी प्रान्तीय सम्मेलन तथा गोष्ठी झापाको दमकमा हुने तय भएको छ ।
नेल्टा झापाको आयोजना तथा नेल्टा मोरङ र नेल्टा सुनसरीको सहआयोजनामा हुने द्विदिवसीय कार्यक्रम आगामी कात्तिक २४ र २५ गते (नोभेम्बर ९–१०) दमकस्थित सिद्धार्थ अङ्ग्रेजी माविमा हुनेछ । कार्यक्रममा कोशी प्रदेशभरिका अङ्ग्रेजी भाषाका प्राध्यापक, शिक्षक, पाठ्यपुस्तक लेखक, पाठ्यक्रम निर्माता, भाषा प्रयोगकर्ताका प्रतिनिधिको सहभागिता रहनेछ भने प्रदेशभरिका अङ्ग्रेजी भाषा तथा साहित्यमा रुचि राख्ने इच्छुक विद्यार्थी पनि सहभागी हुन सक्ने आयोजकले जनाएको छ ।
सम्मेलन तथा गोष्ठीको विषय ‘पारिस्थितिकी, समानुभूति र सशक्तीकरण ः अङ्ग्रेजी भाषा शिक्षणमा सुनिश्चितता, समावेशिता र नवीनता’ रहेको छ । अङ्ग्रेजी भाषामा दिलचस्पी राख्नेका लागि प्रेरणादायक सत्रहरू रहने उक्त कार्यक्रममा प्रतिष्ठित व्यक्तित्वको उपस्थिति र प्रस्तुति सम्मेलनको प्रमुख आकर्षण रहनेछ । अमेरिकी राज्य विभागका दक्षिण क्षेत्रीय अङ्ग्रेजी भाषा अधिकारी रोजर कोहेन, क्याम्ब्रिज विश्वविद्यालय शिक्षा संकायमा कार्यरत डा.फिनिक्स केनी र काठमाण्डौं विश्वविद्यालय स्कुल अफ एजुकेशनका डिन प्रा.डा. बालचन्द्र लुइँटेल किनोट स्पिकर रहेको प्रेरणादायी सत्र रहनेछ ।
यो सम्मेलन यस क्षेत्रको एक ऐतिहासिक र भव्य कार्यक्रम (मेगा इभेन्ट) को रूपमा रहनेछ । कार्यक्रममा नेल्टाका वर्तमान केन्द्रीय अध्यक्ष प्रा. डा. लक्ष्मण ज्ञवाली, निवर्तमान अध्यक्ष सहप्राध्यापक मोतीकला सुब्बा देवान र पूर्व अध्यक्ष हेमन्त दाहाल प्लेनरी वक्ताको रूपमा रहनेछन् । सम्मेलनमा अङ्ग्रेजी भाषाका विद्वानहरूको ठूलो जमघट हुने र अङ्ग्रेजी भाषा शिक्षणका चुनौती सम्बन्धमा सार्थक संवाद र बहस हुने नेल्टा कोशी प्रदेश अध्यक्ष गुणराज नेपालले जानकारी दिए ।
कार्यक्रमले अङ्ग्रेजी भाषा प्रशिक्षक, शिक्षाविद्, अनुसन्धानकर्ता र उत्साहीहरू वीचको एकता र सामूहिकता वृद्धिमा सकारात्मक योगदान गर्ने र भाषिक ज्ञानलाई अगाडि बढाउने सुनौलो अवसर हुने नेल्टा झापा सचिव केशव उप्रेतीको भनाइ छ ।
नेपाल आफ्नो शैक्षिक सङ्क्रमणकालको महत्वपूर्ण मोडमा उभिरहेको बेला निपुण शिक्षकको बढ्दो अभाव, बारम्बारको पेसामा आउने तथा छोड्ने र शिक्षण पेशाप्रति घट्दो आकर्षणका चुनौतीहरू झन्झन् बढ्दै गएको अवस्थामा उक्त सम्मेलनले यस सन्दर्भमा अङ्ग्रेजी भाषा शिक्षकहरूको शिक्षण कला र सिकाइ वातावरणमा यसको दूरगामी प्रभावहरू गहिरो रूपमा बुझ्न सहयोग पुग्ने आयोजक नेल्टा झापाका अध्यक्ष प्रकाश पराजुलीले बताए ।
यो सम्मेलनमार्फत शारीरिक र मानसिक कल्याण, संज्ञानात्मक कल्याण, व्यक्तिपरक कल्याण र सामाजिक कल्याणसम्बन्धी अन्वेषण गरिने बताइएको छ । सम्मेलनमा हुने छलफलले शिक्षकको व्यक्तिगत, विद्यालय र नीतिनिर्माण स्तरहरूमा प्रभाव पार्ने र अपेक्षित परिणाम प्राप्त हुने आशा गरिएको छ । सम्मेलनले शिक्षण पेशाप्रति प्रतिबद्धतामा बढोत्तरी गरी शिक्षणको गुणस्तरमा वृद्धिमा सहयोग पु¥याउने छ ।
सम्मेलनमा किनोट, प्लेनरी र समानान्तर सत्रको साथमा शाखा गोष्ठी र विद्यार्थीहरूको स्पार्क सत्रहरू पनि प्रस्तुत गर्दछ । सन १९९२ मा जन्मिएको नेपाल इङ्ग्लिस ल्याङ्वेज् टिचर्स एसोसिएसन (नेल्टा) ७ वटै प्रदेश र ५९ वटा जिल्लामा विस्तार भैसकेको छ । देशैभरिका सबै शिक्षण संस्थाहरूमा अङ््ग्रेजी शिक्षण गर्ने सबै शिक्षकहरूको पेशागत दक्षता वृद्धि गर्ने प्रमुख उद्देश्य बोकेर स्थापना भएको सबै अङ्ग्रेजी शिक्षकहरूको साझा पेशागत संगठन नेल्टाले सन २०२४ मा ३२ वर्षको उमेर पार गर्दा उक्त संस्थाले आफ्नो उद्देश्य धेरै हदसम्म पुरा गर्दै आएको छ ।
यसले प्रभावकारी अङ्ग्रेजी भाषा शिक्षणका सवालमा विभिन्न सम्मेलनहरूमार्फत प्रदान गरिने अत्यन्तै पौष्टिक खुराकले शिक्षकको पेसागत र प्राज्ञिक जीवनमा सकारात्मक प्रभाव पारेको छ । नेल्टाले नै हरेक वर्ष प्रकाशन गर्दै आएको नेल्टा जर्नल र अन्य प्रकाशनले ती खुराकको सार संक्षेप र अन्य जल्दाबल्दा विषय तथा सवाल पाठकवर्गसामु पस्कदै आएको कुरा सबैलाई जगजाहेर नै छ ।
३२ वर्षे नेल्टाका ७ वटा प्रदेश स्तरीय शाखा मध्ये पनि कोशी प्रदेशको चौथो प्रादेशिक सम्मेलनका सम्बन्धमा हाल सम्पूर्ण तयारी पुरा भएको नेल्टा कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष धर्मेन्द्र भट्टराईले जानकारी दिए । नेल्टा आफ्नो जन्मकालदेखि नै आफ्ना उद्देश्य पूरा गर्न दृढतापुर्वक लागिरहेको छ । नेल्टा कोशी प्रदेशका अध्यक्ष गुणराज नेपालको सबल र सक्षम नेतृत्वका कारण सो सम्मेलन सफल हुनेमा विश्वास गर्न सकिन्छ । विगतमा नेल्टाले अधिकांश अन्तर्राष्ट्रिय सम्मेलन काठमाण्डौ र ललितपुरमा आयोजना ग¥यो भने केही सम्मेलन पोखरा र हेटौंडा लगायतका स्थानमा समेत आयोजना ग¥यो । ती सबैजसो अन्तर्राष्ट्रिय सम्मेलनको झल्को यो प्रादेशिक सम्मेलनले समेत प्रदान गर्ने आशा गरिएको छ ।
पेशागत दक्षता हासिल गर्न हरेक शिक्षक नेल्टाजस्तो स्वयंसेवी भावनाले ओतप्रोत सङ्गठनसँग जोडिन सक्नुपर्ने नेल्टाको एउटा प्रमुख विशेषता नै हो । सम्मेलनलाई सभ्य र भव्य ढङ्गले सफल पार्न विशेष गरेर झापा जिल्लाका सबै पालिका लगायत कोशी प्रदेश र देशैभरिका सम्पुर्ण सरोकारवालाको दायित्व भएको आयोजकको भनाइ छ । विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मका शिक्षकहरूलाई एकै ठाउँमा भेला गरेर प्रभावकारी अङ्ग्रेजी शिक्षणका सम्बन्धमा विभिन्न विचार विमर्श गर्ने उत्कृष्ट विशेषता बोकेको नेल्टाको यो विशिष्टतालाई यो प्रादेशिक सम्मेलनले दरोसँग पक्रनेछ । गुणस्तरीय शिक्षाको बलियो जग विद्यालय शिक्षाले तयार गर्छ भने त्यही जगमा बलियोसँग अडिएर सुन्दर कोठा थप्ने र छानो लगाउने काम विश्वविद्यालय तहको शिक्षाले गर्छ ।
दुवै तहका शिक्षकहरूलाई एकै ठाउँमा भेला गरेर तिनका ज्ञान, सीप र अनुभव घोलघाल गरी त्यो बलियो जग, सुन्दर कोठा र छानालाई चम्काएर टिलिक्क टल्काउने जस्तो निकै चुनौतीपूर्ण काम विगत ३२ वर्षदेखि नेल्टाले गर्दै आएको छ । नेल्टाको त्यो गौरवपुर्ण इतिहासको साख उक्त प्रादेशिक सम्मेलनले थप उकास्नेछ । आफ्नो शिक्षण पेशालाई तिखार्न र निखार्न आतुर पेशाप्रति प्रतिबद्ध कोशी प्रदेशका अङ्ग्रेजी शिक्षकहरूका लागि यो सम्मेलन एउटा सुनौलो अवसर बनेर आएको छ । उक्त अवसरको भरपुर उपयोग गर्न पेशाप्रति प्रतिबद्ध सबै शिक्षक सम्मेलनमा सकृयतापुर्वक सहभागी हुनेछन् । आआफ्ना पेशागत अनुभव र अनुभुति खुलेर आदानप्रदान गर्नेछन् । सम्मेलनका क्रममा हुने हरेक छलफल, वहस, अन्तरक्रिया र प्रस्तुतिमा बिना कुनै हिच्किचाहट सकृयतापुर्वक भाग लिनेछन् ।