पोखरा।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न अदालतले थप १० दिन म्याद दिएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले रविमाथि थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । जिल्ला सरकारी वकिल कार्यालयले २५ दिन म्याद थप गर्न अनुमति मागेको थियो ।
कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो । पुनः दोस्रोपटक ७ दिन म्याद थप गरेको थियो । म्याद कात्तिक १४ गते सकिए पनि तिहार बिदा भएकाले आज म्याद थपका लागि अदालत उपस्थित गराइएको हो ।
रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ । यसैबीच पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरुले आज विरोध प्रर्दशन गरेका छन् । सो क्रममा निषेधित क्षेत्र तोड्न खोज्दा केहीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।