पाथीभरा केबलकार निर्माणमा झडप हुँदा ६ जना घाइते

0
58

ताप्लेजुङ,

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण पक्षधर र विरोधीबीच झडप हुँदा ६ जना घाइते भएका छन् । आज भएको झडपमा केबलकार बनाउने पक्षका दुई, विपक्षका एक, अन्य स्थानीय एक र सुरक्षाकर्मी दुई गरी ६ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा केवलकार पक्षधर फुङ्लिङ नगरपालिका-४ का ४० वर्षीय दामोदर अधिकारी, मेरिङदेन गाउँपालिका–४ का २६ वर्षीय कुमार शेर्पा, विपक्षका फुङ्लिङ नगरपालिका–४ बस्ने ४५ वर्षीय चन्द्र मादेन घाइते भएका छन् ।

पाथीभरामा भरिएका रूपमा काम गर्दै आएका फक्ताङलुङ गाउँपालिका–५ का अर्जुन लिम्बू, सुरक्षकर्मीतर्फ सशत्र प्रहरी डिगेन्द्र ओली र प्रहरी जवान अभिनास माझी घाइते भएको कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए । घाइतेलाई जिल्ला अस्पताललगायत स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणका विषयमा दुईपक्षबीच केहीबेर ढुङ्गा हानाहान भएको थियो । केबलकार निर्माणको लागि शिलान्यास गर्न लगिएको एक्स्काभेटरलाई विपक्षमा रहेकाहरूले अवरोध गरेपछि झडपको स्थिति सिर्जना भएको प्रहरीले जनाएको छ ।

स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका इन्स्पेक्टर विवेक बस्नेत नेतृत्वको प्रहरी टोलीले एक्स्काभेटर अपरेटरबाट प्रमुख जिल्ला अधिकारीको निर्देशनमा चाबी नियन्त्रणमा लिएको थियो । त्यसपछि केबलकार निर्माण पक्ष र विपक्षबीच झडप भएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here