बजेट अभावमा माङ्हिम मन्दिरको निर्माण रोकियो

0
8

युद्धबहादुर बोहोरा,
पाँचथर।

बजेट अभावमा फाल्गुनन्द–४ नम्बर वडास्थित हेलाङको शिरमा निर्माणाधीन माङ्हिम मन्दिरको काम रोकिएको छ ।
महागुरू फाल्गुनन्दको नामबाट नामाकरण भएको यस पालिकाभित्र शालिक राख्ने र माङ्हिम मन्दिर बनाउने उद्देश्यले २०७५ सालमा किराँतेश्वर सिद्धदेव स्थल नामक संस्था स्थापना गरिएको छ । किराँत युमा तिगेनजोङ्ना नाम्सामी केसामी हाङ्साम माङ्हिम साथै १६औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द शालिक निर्माण पुधामलुङ संस्था स्थापना भई निर्माण कार्य शुरु गरिएको संस्थाका अध्यक्ष धनबहादुर नेम्बाङले जानकारी दिए ।

स्थानीय जग्गादाताले उपलब्ध गराएको पाँच रोपनी जमिनमा तीन वर्षअघि संघीय सरकार, प्रदेश सरकार र स्थानीयतहबाट प्राप्त करिब ३६ लाख बजेटबाट माङ्हिम निर्माणका लागि शिलान्यास गरिएको थियो भने भक्तजनबाट समेत जुटेको लगानीसहित जम्मा ८५ लाख हाराहारीमा यस ठाउँमा अस्थायी भवन, ट्वाइलेट, कार्यालय र माङ्हिम निर्माण साथै ठाढो सिंढीको निर्माण कार्य शुरु भएको उनले बताए ।

पुधामलुङ सिद्धदेव मन्दिरमा पुग्ने अधुरो सिंढी, घेराबारा, सडक, खानेपानी, विद्युत्, पक्की शौचालय, भवन, मन्दिर, प्रतिक्षालय र थप निर्माण सम्पन्न गर्न करिब एक करोड पचास लाख बराबरको बजेट लाग्ने जनाइएको छ । यस क्षेत्रलाई पर्यटकीय धार्मिक स्थलको समेत परिकल्पना गरिएकोले नजिकै डाँडामा भ्यू–टावर निर्माणको पनि अवधाराण राखिएको उनको भनाइ छ ।

मन्दिरसँगै राष्ट्रिय विभुति फाल्गुनन्द लिङ्देनको शालिक समेत राखिएको सह–संरक्षण समितिका अध्यक्ष नेम्वाङले जानकारी दिए । झिनो बजेटले काम थाल्न मात्रै सम्भव भएकोले धेरै काम गर्न बाँकी रहेको सचिव विष्णुप्रसाद नेम्वाङले बताए । यसअघि पालिकाबाट दराज, टेबुल–कुर्सी र केही आवश्यक सामाग्री उपलब्ध गराएको थियो । हाल बन्दै गरेको शिवालय मन्दिर बजेट अभावमा निर्माण अलपत्र भएसँगै बजेट प्राप्त हुने निकायहरुमा बजेट माग गर्न थप प्रकृया थालिएको उपाध्यक्ष हर्कबल नेम्वाङ जनाए । गत असोजमा परेको अविरल वर्षाले यस स्थानमा भएको अस्थायी संरचनाहरु क्षति गरेको छ । उक्त क्षतिमा करिब २२ लाख बराबरको धनमाल क्षति भएको जनाइएको छ ।

राँके–रवि–भेडेटार सडक खण्डको राँकेदेखि करिब सात किलो मिटर नजिकै घुर्विसे पञ्चमी र पुरानो पञ्चमीको बीचमा पर्दछ– पुधामलुङ मन्दिर । यसकै नजिकमा नयाँ माङ्हिम निर्माण थालिएको हो । निर्माणाधीन मन्दिर परिसरको शिरमा रहेको ढुंगाको टोड्काको पानी चराचुरुङ्गीहरुले धाउँदै पिउने गरेकाले पुधामलुङ नामाकरण गरिएको किम्वदन्ती छ । यस मन्दिरमा रहेको शिलालाई हरेक जातजातिका मानिसले परापूर्वकालदेखिनै पूजा आरधाना गर्दै आएको तर प्रचारप्रसारको अभावमा पुधामलुङ सिद्धदेव मन्दिर भने ओझेलमा परेको स्थानीयवासीको गुनासो छ ।

आवातजावत गर्ने यात्रीहरु साथै इलामको देउमाई नगरपालिका र फाकफोकथुमका भक्तजनलेपनि सेवा गर्ने गर्छन् । यो मन्दिरसँगै यस क्षेत्रमा फाल्गुनन्द भित्र पर्ने साप्सु, शिलौटी, नाम्भुङ्यक, सेहोनाम्लाङ, नाम्सामी केसामी, शिवतेम्वे युमा माङ्हिम, साङ्बोङ्गेन यलिङ्हाङ्मा युमामाङ्हिम लगायत थुप्रै धार्मिक स्थलहरु छन् । यसै ठाउँबाट ताप्लेजुङको प्रशिद्ध धार्मिक स्थल पाथीभरा (मुकुम्लुङ) प्रष्ट देखिनुका साथै हिमाल र तराईका भू–भाग अवलोकन गर्न सकिन्छ ।
यहाँबाट पूर्वी पहाडका अधिकांश क्षेत्र देखिने भएकै कारण फोटो खिच्ने र दृष्य अवलोकन गर्नेहरुको रोजाइमा परेको छ ।

यो ठाउँका अन्य धार्मिकस्थलमध्ये हाल अधुरो रहेको पुधामलुङस्थित माङ्हिम मन्दिर भने निर्माण रोकिएसँगै लथालिङ्ग बनेको छ । हाल निर्माणाधीन राँके–रवि–भेडेटार सडकमा काम हुँदा उक्त मन्दिरमा निर्माण भइरहेको ठाडो सिंढीमा ढुंगा खसेर केही क्षति पुगेको र सडकको माटो बगरे मन्दिरको माथिल्को भागमा पहिरो गएको छ । सडक र माङ्हिम निर्माण सम्पन्न भएपछि यो क्षेत्र धार्मिक पर्यटकीयस्थल बन्ने सम्भावना भएको हुँदा आन्तरिक तथा बाह्य पर्यटक समेत आउने अनुमान गरिएको छ ।

पर्यटन प्रवद्र्धनमार्फत पालिकाको आन्तरिक आयश्रोतमा टेवा मिल्ने स्थानीयको बुझाई छ । यस माङ्हिम मन्दिर निर्माण क्षेत्रमा कोरोनाकालको समयमा कोराना शान्ति सप्ताहव्यापी सेवा साथै २०७७ सालदेखि निरन्तर वर्षेनी विश्व शान्ति सेवा र चेसोक सेवाको अवसरसँगै (येत् नाम्धुङ लाधुङ् आपलुङ ताङ्सेप) शुभारम्भ हुँदै आइरहेको अध्यक्ष नेम्बाङले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here