विराटनगर।
कोशी प्रदेशका विभिन्न जिल्लाबाट प्रहरीले लागूऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधीसहित ११ जनालाई पक्राउ गरेको छ ।
मोरङ र सुनसरीबाट खटिएको प्रहरी टोलीले ब्राउनसुगर सहित पाँच जनालाई पक्राउ गरेको हो । अस्थाई प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१७ मटेर्वाबाट विराटनगर ११ पिचरा बस्ने ३७ बर्षीय राजेन्द्र पोखरेल र विराटनगर १० तिनटोलिया बस्ने बर्ष ४२ का कुशल थापालाई ब्राउन सुगर ५९० मिलिग्राम सहित पक्राउ गरिएको छ ।
त्यसैगरी लागूऔषध व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर १६ हुलास चौकबाट ब्राउन सुगर ३ ग्राम ६४ मिलिग्राम सहित सुन्दरहरैचा नगरपालिका ६ का ३२ बर्षीय युवराज खड्कालाई पक्राउ गरिएको थियो ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उपमहानगरपालिका ३ बाट धरान १५ बस्ने २४ बर्षीय राम श्रेष्ठ र धरान १६ बस्ने २२ बर्षीया मेलिना राईलाई ब्राउन सगुर ५२० मिलिग्राम सहित पक्राउ गरिएको छ । ब्राउन सुगर सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भईरहेको छ ।
यसैबीच सुनसरीको धरान उपमहानगरपालिका–८ र ९ बाट नियन्त्रित औषधीसहित ६ जनालाई पक्राउ गरिएको छ । अस्थाई प्रहरी पोष्ट तिनकुने धरानबाट खटिएको प्रहरी टोलीले सेउती पुल नजिकबाट स्कुटरमा सवार सुनसरी धरान १५ बस्ने २४ बर्षीय मौषम लिम्बू, २३ बर्षीया सृजना राई र २५ बर्षीया निशा श्रेष्ठलाई नियन्त्रित औषधी ट्रामानिल २ सय क्याप्सुल र स्पास्पेन २ सय ट्याब्लेट सहित पक्राउ गरिएको थियो ।
पक्राउ परेका उनीहरुको थप अनुसन्धान गर्ने क्रममा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सिरहा चन्द्रअयोध्यापुर घर भइ धरान ९ दौलत थुलुङको घरमा डेरा गरी बस्ने २३ बर्षीय अंकितकुमार सिंह, धरान ८ का २० बर्षीय साइमन राई र २३ बर्षीय सागर श्रेष्ठलाई नियन्त्रित औषधी ट्रामानिल ९ हजार ३ सय क्यापसुल र स्पास्पेन ६ हजार ६ सय २७ ट्याब्लेट सहित पक्राउ गरिएको थियो ।
पक्राउ परेका ६ जनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएकाो छ ।