सुदूरपूर्वी जिल्ला झापाको बिर्तामोडबाट प्रकाशन भइरहेको पूर्वाञ्चल दैनिकले आजबाट तेस्रो दशकको यात्रा आरम्भ गरेको छ। मोफसलमा पहिलो अफसेट प्रविधि भित्र्याएको श्रीअन्तु प्रकाशन प्रालिद्वारा प्रकाशित पूर्वाञ्चल दैनिक आजपर्यन्त ‘क’ वर्गमा वर्गीकृत रहेको सुखद स्मरण गराउन पाउँदा हामीलाई हर्षको अनुभूति भइरहेको छ।
विस २०५२ सालमा लेटर प्रेसमार्फत प्रकाशन प्रारम्भ गरेको हाम्रो अभियानले अझै अपेक्षित सफलता प्राप्त गरेको छैन। हामीले कवोल गरेका स्वरूप रूपान्तरणको प्रतिवद्धतालाई प्राकृतिक प्रकोपका कारण अवरोध भयो । विश्वलाई प्रभावित गरेको कोभिडको आतंकबाट हामी अछुतो रहन सकेनौं । यद्यपि हाम्रो बाचा, निष्ठा र धर्म अनुसार निरन्तरता, निष्पक्षता, स्वतन्त्रता र निर्भयताको निर्वाह गरिरहेका छौं । संविधानको मूल्य–मान्यता, मर्म र भावना अनुसार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अनुशरणमा दृढतापूर्वक उभिएका छौंै।
नागरिकको सूचना प्राप्त गर्ने अधिकार सुरक्षित राख्ने अठोटबाट हामी अबिचलित छौं । संगैसँगै सखा श्रद्धेय पाठकहरुका रुचिका विषयहरू ज्ञान, मनोरञ्जन, खेलकुद, साहित्य, शिक्षा लगायतका सामाजिक गतिविधिहरु प्रकाशन मार्फत सम्प्रेषण गर्ने दायित्वबाट किञ्चित पछि हटेका छैनौं । यद्यपि यात बेला देश कै आर्थिक गतिविधि सुस्त छ, आर्थिक मन्दीले उद्योग, व्यापार लगायतका क्षेत्र प्रभावित छन् । त्यसको असर हाम्रो प्रकाशन संस्थाले पनि भोगेको छ र हामीलाई अपेक्षित लक्ष्य हासिल गर्न कठिनाई भएको छ । अनि पनि हाम्रा आदरणीय विज्ञापनदाता, शुभचिन्तक पाठक तथा सञ्चारकर्मी मित्रहरूको सद्भावका कारण कछुवा गतिमै भए पनि यात्रा अविच्छिन्न छ भन्न पाउँदा खुशी नै लागेको छ।
संविधानको मूल मर्म र भावना एवम् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रही नागरिकको सूचना प्राप्त गर्ने अधिकार सुरक्षित राख्ने अठोट अनुसार हामी यात्रारत् छौं । योसँगै आमनागरिकलाई सुसूचित गर्दै सही सूचना, ज्ञान, मनोरञ्जन तथा समाजभित्रका सकारात्मक विषयवस्तु सम्प्रेषण गर्ने धर्ममा तपार्इंहरुको साथ र समर्थनबाट हामीले ऊर्जा प्राप्त गरेका छौं । पत्रकारिताको आदर्श, निष्ठा, आधारभूत सिद्धान्त एवम् पत्रकार आचारसंहिताको मूल मर्म र भावना अनुसार वस्तुनिष्ठ, सत्य–तथ्य, सन्तुलित, खोजमूलक समाचार सामग्री सम्प्रेषण गरी राष्ट्र र समाजलाई सचेत र गतिशील बनाउँदै लैजाने कार्यमा प्रतिबद्ध छौं । हाम्रो यात्रा पत्रकारिताको संस्थागत विकास र स्थानीय पत्रकारिताको प्रबद्र्धनमा समेत लक्षित छ । पूर्वाञ्चलको यात्रालाई अझ प्रभावकारी र समय सापेक्ष बनाउन आधुनिक प्रविधिको अधिकतम् प्रयोग गरी नयाँ सोच, योजना र लक्ष्य अनुसार प्रकाशन र प्रशारणको काम सँगसँगै नयाँ ढंगले अघि बढाउने प्रतिबद्धता पुनः व्यक्त गर्दछौं ।
अन्त्यमा, ३० औं वर्ष प्रवेशको सुखद क्षणमा हाम्रा समस्त पाठक, विज्ञापनदाता, सञ्चारकर्मी, कर्मचारी मित्रहरु, शुभिचन्तक लगायत सबैमा हार्दिक आभार प्रकट गर्दछौं ।