बिर्तामोड ।
झापाको बिर्तामोडमा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तरगत बिर्तामोड नगरपालिका– २ रामचौकमा चारपानेबाट मुक्तिचौकतर्फ जाँदै गरेको ना ३ ख ४३६४ नम्बरको ट्रकले सोही दिशातर्फ आउँदै गरेको मे १० प ६०१७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परी स्कुटर चालक शिवसताक्षी नगरपालिका ७ की २२ वर्षीया रोजी कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै हातखुट्टा, अनुहारमा चोट लागेर घाइते भई बिर्ता सिटी अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
स्कुटरको पछाडि सवार सोही ठाउँका २८ वर्षीया सरिता राउत सामान्य घाइते भएकी छन् । दुर्घटनापछि स्कुटर, ट्रक र ट्रक चालक अर्जुनधारा नगरपालिका( ९ का ५२ वर्षीय राजकुमार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।