देशका राष्ट्रपति हुन्, प्रधानमन्त्री वा उच्च पद धारण गरेका व्यक्तिहरु हुन् कसैलाई सडकमा सुरक्षित छु भन्ने लाग्दैन । त्यहीकारण जहिले उनीहरुले सडकमा निस्कनुपर्छ तहिले सडक खाली गर्नुपर्छ । यसक्रममा आवश्यक काम परेर हिँडेको होस् कि स्कूलबाट फर्कदै गरेका बालबालिका अथवा वृद्धवृद्धा वा अत्यावश्यक कामले हिँडेका सर्वसाधारण सबैले मूर्तिवत् बसिदिनुपर्ने । घण्टौं सडक बन्द गराएर हुने सवारीका अघि–पछि दौडिने अगुवा–पिछुवाका गाडीहरुको लर्कोले किचेर मार्ला भनेर सतर्क बसिदिनुपर्ने यस्तो बाध्यता भीआइपीकै कारण आएको हो प्रश्न सधैँ अनुत्तरित छ ।
भीआईपीको सवारी भर्नुपर्ने यो पीडादायी अवस्था नेपालीले विगतदेखि नै भोग्दै आएका हुन् । त्यही नाममा कहिले सडक त कहिले विमानस्थल नै बन्द गर्ने परिपाटीले ‘भीआइपी’ बनाइएका नेताहरु जनतामाझ कति लोकप्रिय छन् भन्ने संकेत गरेको छ । नेताहरुको ‘सवारी’को व्यवस्थापन गर्ने मूल दायित्व प्रहरीकै हो । हामीकहाँ भइरहने ‘भीआइपी’ आतंकलाई सम्बद्ध निकायका प्रतिनिधिहरु विश्वव्यापी र सामान्य ठान्छन् । उनीहरुका दृष्टिमा यो केवल सुरक्षा संवेदनशीलताको विषय हो । सर्वसाधारणको आवागमन नै बन्द गरेर चल्ने यस्ता ‘सवारी’बाट सर्वसाधारणले भोग्नुपरेको सास्तीबाट बिद्रोह जन्मिन सक्नेतर्फ सरकार लगायत भीआइपी पद धारण गर्नेहरु सचेत भएनन् भने नोक्सानी हुनसक्छ ।
सुरक्षा खतरालाई दृष्टिगत गरी राष्ट्रपति, प्रधानमन्त्री र उच्च पदस्थ व्यक्तिहरुको आवागमनमा यातायात अवरुद्ध गर्नु परेको सुरक्षा निकायको भनाइ छ । तर, वर्तमान ‘भीआइपी’ सर्वहारा र गरीब जनताको मुक्तिका लागि लामो र कठिन संघर्ष गरेर आएका व्यक्तिहरु नै छन् । जनतालाई अधिकार सम्पन्न बनाउने भन्दै गरेको संघर्षको परिणाममा परम्परागत राजतन्त्र अन्त्य गरिएको छ । तर, राजतन्त्रकालभन्दा डरलाग्दो मानसिकताले ग्रस्त भीआइपीहरु आफूलाई आमजनताभन्दा उच्च अति विशिष्ट ठान्छ । त्यहीकारण शायद उनीहरुलाई नियम, कानून र मानवीयको हेक्का नै रहँदैन । सर्वसाधारणका लागि बनाइएका सडक, सडकपेटी, विमानस्थल र सेवा सबै ‘बाबुको दाइजो’ ठान्ने भीआइपीका यस्ता व्यवहारले दिक्क भएका सर्वसाधारणले ट्राफिक प्रहरीको ‘सडकबन्द’को अवज्ञा गरेका उदाहरण पनि छन् ।
जनताबाटै निर्वाचित उच्च पदस्थ व्यक्तिहरुले जनतासँगै डराउनुपर्ने अवस्था जायज छैन । तर, किन उनीहरु जनताबाटै असुरक्षित ठान्छन् कारण आफैंले खोज्नुपर्छ । गणतन्त्र समानताका लडेका भन्नेहरुले जमिन र आकाश बन्द गरेर मात्र हिँड्नुपर्ने अवस्था परिवर्तित सन्दर्भमा सामान्य होइन । यस्तो बन्दले गणतन्त्रको उपेक्षा हुन्छ र जनतामा चरम निराशा उत्पन्न हुन्छ । निराशा आक्रोशमा परिणत हुन्छ, जहाँ मर्यादा, शिष्टता र कानूनी सीमा पनि उल्लंघन हुनसक्छ । त्यसैले आफूलाई जनताभन्दा माथिको ठान्ने भ्रमबाट स्वयम्ले मुक्त हुनुपर्दछ । निर्वाचनका समय जनताका घर–घर पुग्न सक्नेले उनै जनताको मतबाट प्राप्त पदको रक्षा पनि गर्न सक्नुपर्छ । होइन भने शासन पद्धतिका बिरुद्धको आक्रोशले दुर्गति निम्त्याउन सक्छ ।