झापा ।
भारतबाट मोटरसाइकलको ह्यान्डलभित्र लागूऔषध ब्राउन सुगर लुकाएर ल्याउने दुई युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा झापा गाउँपालिका–५ बस्ने २४ वर्षीय देवेन्द्र चौधरी र बिर्तामोड –५ बस्ने ३६ वर्षीय सुरेश चौधरी रहेका छन् ।
पुरानो मेची पुलमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको कुकुरसहितको टोली र नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे ९ प ९०३७ नम्बरको मोटरसाइकल चालक देवेन्द्र र पछाडि सवार सुरेशलाई शङ्का लागेर चेकजाँच गर्दा मोटरसाइकलको ह्यान्डलमुनिको तारभित्र लुकाई छिपाई ल्याएको १ ग्राम ब्राउन सुगर फेला परेको थियो ।
दुवैलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाएको जनाइएको छ ।
त्यस्तै पुरानो मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्री पाँचथर फालेलुङ –६ बस्ने २४ वर्षीय वसन्त राई लागू औषधसहित पक्राउ परेका छन् । शङ्का लागेर चेकजाँच गर्दा उनले मलद्वारमा लुकाई ल्याएको ८ ग्राम ब्राउन सुगर फेला परेको थियो ।
उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा बुझाएको जनाइएको छ ।